नक्सा सार्वजनिक र मिडिया युद्ध !



नक्सा सार्वजनिक र मिडिया युद्ध !

गत कार्तिकमा नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा नेपालकै केही भूभाग समेटेर भारतले नक्सा सार्वजनिक गरेको छ महिनापछि उक्त एरियामा सडक निर्माण गरी भारतका रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत् सडक उद्घाटन गरेपछि शुरु भएको नेपाल भारत विवादले चरम रुप लिएको छ । पहिलो हप्ता भारतीय हेपाहा प्रवृत्ति विरुद्ध आक्रोशित जनताले लकडाउनको समेत बेवास्ता गर्दै सडकमा आएर नेपाल सरकारलाई बारम्बार दबाब दिइरहेपछि नेपाल सरकारले पनि आफनो प्रशासकीय पूर्ण नक्सा सार्वजनिक गर्याे । सरकारको उक्त निर्णयलाई नेपाली जनताले अत्यन्त सकारात्मक रुपमा लिएका छन् । यस कार्यले नेपाली जनता र सडक त शान्त भए तर भारतीय जनता र मिडिया आवश्यकता भन्दा बढी तातिरहेका छन् । उनीहरु यति तल्लो स्तरमा झरेर सामाचार बनाई रहेका छन् कि– नेपालका प्रधानमन्त्रीलाई चाइनाको तलबी कर्मचारीसमेत भन्न भ्याए ।

नक्सा प्रकरणले उत्पन्न विवादको सन्दर्भमा नेपाल नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलाले भारतीय जनता पार्टीका एक प्रभावशाली नेता डा. विजय जोलीलाई बहसको लागि निम्त्याए । उक्त बहसमा उनको अभिव्यक्ति सुन्ने जोसुकैलाई के लाग्न सक्छ भने, नेपालले भारतीय सहयोग लिएकै कारण लिपुलेक, लिम्पियाधुराको कुरा उठाउन हुँदैनथ्यो । अर्थात् सहयोग दिएकै कारण भारतले उक्त ठाउँलाई कब्जा गरिरहेको छ ।

उनको संक्षिप्त भनाइ ‘मोदी जीको नेपाल र नेपालीप्रति अगाध प्यार छ । ७२ सालमा भूकम्प जाँदा अरु आउनुभन्दा अगाडि हामी आएर उद्धार गर्याैँ । र, सबैभन्दा ठूलो सहयोग पनि गर्याैँ । कोभिड १९ को महामारीमा पनि अस्ति भर्खर टनकाटन औषधि दियौँ…। तर नेपालले यसको विरुद्धमा नक्सा सार्वजनिक गर्याे यो खेदजनक छ ।’

यो कार्य नेपाल आफैँले गरेको होइन भन्दै चाइनाको उक्साहटमा नेपालले गरेको भन्ने आरोपसमेत लगाए । डा. जोलीको भारतीय सहयोगको लामो भूमिका र चाइनाप्रतिको आरोपले नेपाललाई आर्थिक रुपमा मात्र होइन राजनीतिक रुपमा पनि निकै नै दयनीय रहेको देखाउन प्रयास गरिरह्यो । हो हामीले भारतीय सहयोग स्वीकार गरेको हो तर हात पसार्न पक्कै गएको होइन । सहयोग बदलामा दिने कुरा होइना, स्वेच्छाले दिइन्छ । सहयोग गर्नेले हामीले तिमीलाई यो गर्याैँ, त्यो गर्याैँ भन्छ भने ऊ अझै सहयोग गर्न योग्य भएको छैन भन्ने बुझ्नु पर्छ । मानसिक हैसियत कमजोर छ भन्ने बुझ्नु पर्छ । जबकि भारतको भन्दा ठूलो सहयोग गरेको चाइना, जापान र अमेरिका जोसँग अहिले पनि असल दौत्य सम्बन्ध छ । उनले आफ्नो अभिव्यक्तिमा देखाएको जुन असभ्य र अमर्यादितपन छ यो उनको राजनीतिक उचाइ भन्दा निकै तल्लो स्तरको देखिन्छ । शायद भारत लामो समय ब्रिटिश उपनिवेश बन्नु परेको कुण्ठाका कारणले होला भारतीय प्रधानमन्त्री नेहरुदेखि मोदीसम्म नेपालमाथि पीडा सिर्जना गरी आफूले आनन्द मान्ने प्रवृत्ति बारम्बार दोहर्याएको पाइन्छ । र, हाम्रो सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डताको विरुद्ध मरिमेटी लागेको देखिन्छ ।

मेरो प्रश्न, नेपाली जनताले भूकम्पको पीडा खेपिरहेको बेला भूपरिवेष्टित देशलाई नाकाबन्दी गर्नु कस्तो किसिमको प्यार हो मोदीजी ? कोरोना महामारीले जनता आहत भएको बेला नेपाली भूमिमा सडक निर्माण गरी नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानमाथि धावा बोल्नु कुन किसिमको प्यार हो मोदी जी ? जहाँ लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । हजारौँले ज्यान गुमाइरहेका छन् । यो भयानक स्थितिमा के त्यस्तो आइपर्याे कि भारतले भिडियो कन्फ्रेन्समार्फत् त्यो निर्जन भूमिमा सडक उद्घाटन गर्नै पर्ने मोदी जी ?

सर्वसत्तावादी र अहङ्कारी शासकहरुले सधैँ यस्तै मानवीय विपत्तिको फाइदा उठाइरहेका हुन्छन् ।

अब कुरा गरौँ, भारतीय मिडियाको । भारतका धेरैजसो मिडियाहरु प्रत्रकारिताको न्यूनतम मान्यतालाई समेत ख्याल नगरी नेपालप्रति खनिएका छन् । हुनत यो उनीहरुको नौलो कार्य होइन । कहिले पाकिस्तान त कहिले चाइनासँग यसै गरी जाइलाग्ने उनीहरु अहिले भने नेपालतिर फर्केका छन् । उनीहरु यतिसम्म भनिहेका छन् कि– भारतसँग १४.५ लाख सैनिक छ नेपालमा ९५ हजार । कहाँको भारत कहाँको नेपाल ! भारतले पाकिस्तानलाई गरेजस्तो तत्काल हमला गर्नुपर्छ । जुन देशलाई हामीले इन्धन दिएनौं भने त्यहाँ गाडी बन्द हुन्छन् । हामीले ट्रान्समिटर अफ गरिदियौँ भने देश अन्धकार हुन्छ …त्यसले भारतसँग निहु खोज्ने ? जबकि जनसङ्ख्या र क्षेत्रफलको अनुपातमा भारतीय सेनाभन्दा नेपाली सेना बढी छ ।

नेपालमा करिब १८११४७ बर्ग किलोमिटर क्षेत्रफल र करिब ३ करोड जनसङ्ख्यामा ९५ हजार सेना छ भने भारतको ३२८७००० बर्ग किमि क्षेत्रफल र करिब १ अर्ब ३७ करोड जनसङ्ख्यामा १४.५ लाख सेना जनसङ्ख्या र क्षेत्रफल दुबैको अनुपातमा नेपालको बढी हो । हरेक देशले आफ्नो जनता र राष्ट्रको सुरक्षा जोखिमलाई मध्यनजर गरी सैन्य शक्ति निर्माण गर्छ । हो, भारतीयहरुले संसारकै तेस्रो ठूलो सैन्यशक्ति निर्माण गरेका छन् । त्यो उनीहरुको आवश्यकता र महत्वकांक्षा दुबै होला । त्यही आधारमा नेपाललाई धम्क्याउन खोज्नु कति न्यायसङ्गत हुन्छ ? उनीहरुको वार्षिक जन्मदर नै कूल नेपालको जनसङ्ख्याभन्दा बढी छ । के हामीले अनावश्यक कुरामा उनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने ?

अलिकति इतिहास हेरौँ । हामीले हाम्रो जमिनको नक्सा सार्वजनिक गर्दा उनिहरुलाई कुन बौलाहा कुकुरले टोक्यो ? अहिले जसरी हामीलाई धम्क्याइरहेका छन् उनीहरु कुनै बेला हामीसँग नतमस्तक भएको इतिहास छ । जङ्गबहादुर बेलायतबाट फर्कदा कल्कत्तामा तीन लाख भारतीहरु उनलाई हेर्न जम्मा भएका थिए । जङ्गबहादुर हेर्न उनीहरु त्यहाँ जम्मा भएका होइनन्, स्वतन्त्र नेपालको प्रधानमन्त्रीलाई हेर्न जम्मा भएका हुन । जुनबेला भारत ब्रिटिशको उपनिवेश थियो ।

स्वतन्त्रताको उच्चतम पाठ नेपालबाट नै सिकेका हुन् भारतीयले । किनकि भारतका भन्दा सयौँ वर्ष अगाडिदेखि नेपालको स्वतन्त्र अस्तित्व थियो र छ । नेपालको स्वतन्त्र अस्तित्वले उनीहरुलाई स्वतन्त्र हुने प्रेरणा मिलेको हो । अनि हाम्रो सार्वभौमता र स्वाभिमानको खिल्ली उडाउँदै हामीलाई सार्वभौम सत्ताको पाठ सिकाउने ? जसले सार्वभौम सत्ता प्राप्त गरेको भर्खर ७० वर्ष भएको छ । यो कार्यमा पनि वि पि कोइराला लगायत थुप्रै नेपालीहरुले साथ दिएका थिए । यो कुराको हेक्का भारतीय मिडियाले राख्नु पर्दैन ?

जहाँसम्म विकासको कुरा छ, भारत अत्यन्त गरिव थियो । त्यसकै फाइदा उठाएर ब्रिटिश छिरेको हो । सम्पन्न र शक्तिशाली भए किन छर्न दिन्थे र भारतीयले । दिल्लीमा लाल्टिन बाल्दा काठमाडौंमा बिजुली बल्थ्यो । बिजुली हेर्न काठमाडौं आउनुपर्थ्यो उनीहरुलाई । भारतले कोइलाबाट चल्ने रेलबाट कालो धुवा निकाल्दै यात्रु वसारपसार गरिरहँदा नेपालले वातानुकूलित बिजुलीबाट चल्ने ट्रलीबस कुदाउँथ्यो । कसैले पनि आफ्नो इतिहास बिर्सेर अगाडि बढ्नु राम्रो होइन । यस्तो अभिमानी लोकतान्त्रिक विश्व व्यवस्थामा सुहाउँदैन । भारले नेपालसँग दुष्मनी साँध्नु पर्ने कारण नै छैन । यदि भारतले यो अभिमान देखाउने नै हो भने बेलायतसँग देखाउनुपर्छ, नेपालसँग होइन । प्रतिस्पर्धा बेलायतसँग गर्नुपर्छ नेपालसँग होइन, जसले सयौँ वर्ष भारतीयलाई दास बनाए ।

अब हामी तिमीलाई दास बनाउछौँ, आज हामी बलिया भैसक्यौँ भनी बेलायतलाई धावा बोलुन् । सक्छ त्यसो गर्न ? के भारतको विकासले बेलायतलाई लोभ्याउन सक्छ ? भारतको सैनिक शक्तिले बेलायतलाई त्रसाउन सक्छ ? लिनुपर्ने केही नभाको उल्टै हजारौँ हेक्टर जमिन फिर्ता दिनु पर्ने मुलुकले नेपालसँग किन सिँगौरी खेल्ने ? सुगौली सन्धि भारतसँग होइन इष्ट इण्डिया कम्पनीसँग गरिएको हो । जसका दुई पक्ष नेपाल र इष्ट इण्डिया कम्पनीमध्ये एक पक्ष नै अहिले अस्तित्वमा छैन । यस्तो अवस्थामा उक्त सन्धि नै स्वतः खारेज हुने अवस्था हुन सक्छ । हामीले पनि त्यहीअनुरुप सोच्यौँ भने काँगडादेखि पूर्व टिस्टासम्मको भाग हाम्रो हो भन्ने दिन पनि आउन सक्छ । ब्रिटिशको विरासतमा टेकी ब्रिटिशलाई टेक्नसम्म नदिएको स्वाभिमानी र स्वतन्त्र मुलुकसँग टेक लिने उसको नैतिक हैसियत होइन ।

आजको खुला विश्व अर्थव्यवस्था र टेक्नोलजीले साँघुरो भएको विश्वबजारमा कुनै पनि मुलुक पूर्ण आत्मनिर्भर हुन सकेका छैनन् । त्यसैले आत्मनिर्भर होइन अन्तर निर्भरको आवश्यकता बढ्दै गएको छ । जुन देश आफ्ना सीमित स्रोत साधनमा आत्मनिर्भर बन्ने गर्छ, उसले विश्वबजारको विविधतामय सुन्दरतालको महसुस पनि गर्न पाउँदैन । जीवनको विविधतामय स्वाद गुमाउँछ । आज संसारका सबै मुलुक अन्तर निर्भर नै छन् । त्यसैले त चाइनाको सामग्री अमेरिका, अमेरिकाको चाइना पुग्छ । स्याउ हुनेले अङ्गुरको स्वाद थाहा पाउनु पर्छ । स्याउ र अङ्गुर एउटै भूगोलमा फल्दैनन् ।

भारत र नेपालको वाणिज्य सम्बन्ध पनि यस्तै हो न कि एकहोरो सहयोग । हामीसँग जडिबुटी छ उनीहरु औषधि बनाउँछन् । हामीसँग योग्य कामदार छन् उनीहरुसँग खपत गर्ने उद्दोग–कारखाना छन् । हामी पैसा दिन्छौँ उनीहरु सामान दिन्छन्, वश कुरो यही हो ।

उनीहरुले भारतले फ्युल नदिँदा नेपलमा गाडी चल्दैनन् भनेझैँ नेपालका नदीलाई नेपालमै सही प्रयोग गर्न सक्ने हो भने उनीहरुलाई पिउने पानीको हाहाकार हुन सक्छ । यो सत्य हो । प्रत्येक वर्ष उनीहरुको पानीको माग २५ प्रतिशतले बढिरहेको छ । नेपालमा नदीजन्य असमान सन्धि र सम्झौता त्यस्कै परिणाम हुन् ।

अन्त्यमा, स्वाधीनता, स्वतन्त्रता र प्रभुसत्ताको स्वाद भारतले नेपालकै प्रेरणाले पाए पनि हामी अझै यसै गरी लाछी बनिरह्यौँ भने, हाम्रो नेतृत्वपंत्ति सधैँ देश र जनताप्रति उनुत्तरदायी र अनुदार भैरह्यो भने विगतमा जस्तो सत्ता शक्तिको लागि जे पनि गर्न तयार भइरहे भने हामी राष्ट्रवादी भएर सडकमा उफ्रिनुको कुनै अर्थ रहदैन । हाम्रो इतिहासले मात्र हाम्रो विरासतलाई कहिलेसम्म डग्न नदेला ? अतः शासकहरु बेलैमा सचेत बनी बदलिँदो परिवेशअनुरुप आफूलाई क्रियाशील बनाई अझै भरपर्दाे कूटनीतिक संवादको माध्यमबाट नक्सा मात्र होइन भोगचलनमा आउने गरी उक्त भूभागाई आफ्नो बनाउन सक्न पर्छ । मिडियामा जे आए पनि भारत सरकारले कूटनैतिक पहल गरौँ भनेर आह्वान गरेको यो अवस्थामा हामीले उचित पहलकदमी लिन सकेनौ भने फेरि अर्काे संयोग जुराउन कति कुर्नु पर्छ अनुमान गर्न सकिँदैन ।

जिएस स्मिथ

१६ जेष्ठ २०७७, काठमाडौं

प्रतिक्रिया दिनुहोस्