जातीय विभेदको रोईलो छोडौं !



जातीय विभेदको रोईलो छोडौं !
वास्तविकता बुझौं !! स्थायी समाधान खोजौं !!!

हाम्रो देशको फेशनमा रहेको राजनीतिक चिन्तन जतिसुकै गतिशील वा प्रज्वलनशील नै भए पनि नेपाली समाजमा त्यसले समानता कायम गर्ने सार्थ्य राख्दैन ।

किनकी ?
राजनीति र समाज फरक कुरो होइन भन्ने धेरैलाई लाग्न सक्छ । तर वास्तवमा यो फरक कुरो नै रहेछ । समाजले राजनीतिक दर्शन र त्यसको दिशा परिवर्तन गरिदिन सक्छ । तर राजनीतिले समाज परिवर्तन गर्न नसकेको वास्तविक उदाहारण हामीसामु छर्लङ्गै छ । त्यसैले राजनीतिमा लागेका कथित दलित भनिएका जमातको प्रतिनिधित्व गर्ने राजनीतिक नेतृत्वले जातको कष्टकर सामाजिक उत्पीडनबाट दलित भनिएकाहरुलाई मलमपट्टि त लगाउन सक्छन्, तर मुक्ति दिलाउन भने सक्तैनन् । अझ, कथित गैरदलित भनिएका राजनीतिक नेताहरुले त कथित दलितहरुको मुक्ति कहिल्यै चाहाँदै चाहाँदैनन् । उनीहरुबाट कथित दलितहरुले मुक्तको आश गर्नु व्यर्थ छ । त्यसकारण जातीयता र भ्रष्टचारमा लत्पत् हाम्रो राष्ट्रिय राजनीतिबाट जातको आतंकले प्रताडित समुदायको मुक्ति सम्भव नै छैन् ।

किन ?
पहिलो कुरो त जाततन्त्रको पासो कति मजबूत छ भन्ने कुरा गम्भीरताका साथ बुझौं । यही बुझ्न नसक्दा हामीले आजसम्म जात समस्याको स्थायी समाधान न खोज्न सक्यौ न सोच्न, जातको स्थायी समाधान तर्फको बाटो र पाटोहरु फरक प्रकृतिका छन् ।

नेपाली समाजको बनोट कास्ट् आईडोलोजी (Caste Ideology), गभर्निङ्ग मेकानिजम् एण्ड ल अफ कास्ट् (Governing Mechanism and Law of Caste), र फ्रेमवर्क अफ फङ्गशनिङ्ग स्ट्रकचर अफ कास्ट् (Framework of Functioning Structure of Caste) को अर्गानिक यूनीटी (Organic Unity), भएकाले असमानता, विभेद, मानमर्दन र दमन यस समाजको चरित्र तथा गुण हुनुका साथै यो समाजलाई गतिशीलता प्रदान गर्ने नियम पनि हुन् ।

सामाजिक हैसियतको तहगत श्रेणीमा क्रमशः ब्राम्हण, क्षेत्री र वैश्यले शुद्रलाई अपमान, दुर्व्यवहार, मानमर्दन र दमन नगरेसम्म जातीय संरचनागत ढाँचाको उद्देश्य बोकेको नेपाली समाज जातीय शासन चलाउन सफल हुन सक्दैन ।

जातको फ्रेमवर्कमा अडिएको समाज त्यसको नियम अनुसार नचल्ने हो भने असफल ठहरिन्छ । हाल नेपाली समाज सफलताको शिखर मै छ । त्यो यसकारणकी ब्राम्हण, क्षेत्री र वैश्यहरु जातको नियम अनुसार शुद्रलाई अपमान, दुर्व्यवहार, मानमर्दन र दमन गर्न निक्कै उर्जावान् तथा सक्रिय छन् । कथित गैर दलितहरुमा दमनको सामर्थ्य र कथित दलितहरुमा प्रताडना सहनको नियती नै नेपाली समाजको सद्भाव हो ।

दमनको सार्थ्य र सहनको नियतीबीच सन्तुलन नगुमेसम्म नेपाली समाजको सद्भाव जहिल्यै टिकिरहने छ । दमनको सामर्थ्य वा सहनको नियती कुनै एक पक्षमात्र कमजोर पर्न गए नेपाली समाजको सन्तुलन बिग्रन गई सद्भावनामा आँच पुग्नुका साथै समाजको ढाँचा भत्किने खतरा तथा डर–त्रासको धार्मिक र संस्कृतिको लेप लगाएर हुर्काएको जातीय समाज भताभुङ्ग हुने स्थितिमा पुग्दछ । तर सद्भाव कायम रहिरहेसम्म नेपाली समाज भताभुङ्ग हुने कुनै खतरा छैन् । यो सद्भाव नै जातको यस्तो पासो हो जस्मा कथित दलितहरुको गर्दन फसेको छ ।

जातको पासो कति मजबूत छ भन्दा– कथित दलित भनिएकाहरुको सामाजिक उत्पीडनबाट छुट्कारा न मूलधार राजनीतिबाट सम्भव छ न जातीय संरचनाको जग्मा हुर्किएको मूलधार नेपाली समाजबाट ।

समाजमा जातीय सद्भाव रहेसम्म, कथित दलितहरु प्रताडित भैरहन्छन् । कथित दलितहरु प्रताडित भैरहेसम्म नेपाली समाज अर्गानिक जातीय समाजको तरोताजा जीवन बाँचिरहन्छ । जात र समाजको तगडा गठबन्धन नै कथित दलितहरुका लागि उत्पीडनको पासो हो । वर्तमान समयको सतप्रतिशत सत्य यही नै हो । तर यसको मतलब जात र जातको आतंकबाट छुट्कारा पाउन असम्भव छ भन्ने चाहिँ होइन ।

त्यस्तो किन त भन्दा ?
१, स्वीमिङ्गपूलभित्र बसेर पानीले मलाई नभिजाओस् भन्ने अपेक्षा राख्नु कति वैज्ञानिक हो ? आफैँ सोच्नुहोस् ।
२, तातो तावामा बसेर मलाई नपोल है तावा भन्दैमा वा सोच्दैमा तातो तावाले नपोल्ने हो र ? आफैँ सोच्नुहोस् ।
३, यदि स्वीमिङ्गपूलमा नभिज्ने हो र तातो तावाले नपोल्लिने हो भने तपाईँ के गर्नुहुन्छ ? ल भन्नुस् ! केही त पक्कै गर्नु हुन्छ, हैन ? त्यसैले यस्तो गर्नुस् जसले स्थायी समाधान दिन्छ ।

भनाईको तात्पर्य, आफूलाई दलित भनेर स्वीकारिरहने, जात व्यवस्थाभित्रै बसिरहने, धर्मकर्म र संस्कारले तोकेको जातको नियम पालना गरिनैरहने, तालपरे कथित दलितहरुभित्रै जातको शक्ति अभ्यास गर्न नचुक्ने, अनि कथित गैर दलितबाट विभेद भयो भने, जातीय उत्पीडनबाट मुक्ति चाहियो भनेर उफ्रिने । के साँच्चै उफ्रिएर मुक्ति पाइएला त ? आफैँ सोच्नुहोस् ।

बुझ्नुपर्ने गहिरो कुरा के छ भने जातको संरचना नै यसरी बनेको छ की समाजको गतिशीलता नै कथित गैर दलितले दलितलाई विभेद गर्नुमा नै छ । र, कथित गैर दलितले कथित दलितलाई यो जातको समीकरणमा रहेसम्म विभेद गरिनै रहन्छ ।

किनकी यो उसको जातीय धर्म र संस्कारले अनुमती दिएको कुरा हो । यसरी नै जातका आधारमा विभेद गर्नुपर्ने र विभेद खेप्नुपर्ने जातहरुबीचको द्धन्दात्मक सामाजिक सम्बन्ध नै नेपाली समाजको गतिशीलताको नियम तथा आईडियोलोजी अफ कास्ट् हो ।

त्यसो भए कथित दलितहरुको लागि जातको पासोबाट मुक्तिको उपाय र बाटो के हो त ?
यदि कथित दलितहरु साँच्चै उनीहरुका लागि बस्न असुरक्षित नेपाली समाजमा जातको आतंकबाट स्थायी समाधान र मुक्ति चाहन्छन् भने, चलनचल्तीमा देखिएको वक्तव्यवाजी, हारगुहार, नानाभाँती मिडियाबाजी र निरीह प्राणीको जस्तो रोईलो त्याग्नुपर्छ । जात आतंकबाट स्थायी समाधानको बाटो र पाटो पहिल्याई ठोस परिणाम हात पार्ने गरी दृढ संकल्पकासाथ कठोर कदम चाल्नुपर्छ ।

स्थायी समाधानको पाटो र बाटोतिर चाल्नुपर्ने कदमहरुः
१, कथित दलितहरुका लागि जातआतंकको जाल फिजिएको असुरक्षित मूलधार नेपाली समाजको हिस्सा बन्ने की नबन्ने भन्ने मुद्दामा स्पष्ट हुन आवश्यक छ । त्यसैले कथित दलितहरुबीच जनमतसंग्र गर्ने ।
२, जनमतसंग्रबाट यदि मूलधार नेपाली समाज भित्रनै बस्न चाहानेहरुको संख्या उल्लेख्य देखियो भने, जातको समस्याबाट स्थायी समाधानको पक्षमा मत दिने पक्षले स्थायी समाधान प्रतिको अठोटलाई काँध हाल्ने र जिम्मेवारीका साथ अघि बढ्ने ।
३, मूलधार जातीय नेपाली समाजको हिस्सा बन्न नचाहाने जनमतका पक्षधरहरुले पहिलो कार्य जातीय समाजको बास र जातमा आधारित आफ्नो पहिचान त्याग गरेको घोषणा गर्ने ।
४, जातीय समाजको बास र जातमा आधारित आफ्नो पहिचान त्याग गरेको घोषणा गरेर आउने कथित गैर दलितहरुलाई पनि यस अभियानमा स्वागत गर्नुका साथै नयाँ समाजको सदस्यता प्रदान गर्ने ।
५, आफूहरुले मूलधार नेपाली समाजको पहिचानको आधार जात र जात व्यवस्था भित्रको संस्कार र संस्कृतिलाई त्यागेको, आफूहरु अब उप्रान्त त्यस समाजको सदस्य नरहेको, आफ्नो कुनै जातमा आधारित पहिचान नभएको र आफू त्यस्तो जातमा आधारित पहिचानलाई नमान्ने सर्तका साथ आफूहरु एक नयाँ मानव समुदाय र बन्ने प्रक्रियामा रहेको समुन्नत मानव समाजको सदस्य भएको तत्काल खुला मञ्चबाट घोषणा गर्ने ।
६. घोषणाको हस्ताक्षरित जनाधारसहितको दस्तावेज निर्माण गर्ने ।
७, आफ्नो नयाँ समाज स्थापित तथा विकास गर्नका लागि, आफ्नो जनसंख्यालाई प्रयाप्त पूग्ने जमीन वा भूभाग भएको विद्यमान भौगोलिक संरचना भित्रै संरक्षित स्वायत्त क्षेत्र जस्तै वडा, गाउँ वा नगरपालिका सरकारसँग माग गर्ने ।
८, सरकारसँग निरन्तर आफ्नो स्वायत्त वसोवासको माग जारी राख्ने । उक्त संरक्षित स्वायत्त भू–भाग नपाए सम्म आफूलाई नागरिताधारी आन्तरिक शरणार्थीको अस्थायी पहिचान दिने र आफ्नो संरक्षित स्वायत्त भू–क्षेत्र मागको अभियान जारी राख्ने ।
९, आफूहरुले जातमा आधारित सामाजिक पहिचान र समाजको जातीय मान्यतालाई परित्याग गरिसकेको र नेपाली समाजको मियो–जात र त्यसका मान्यता– आफ्नो नयाँ समाज र समुदायको लागि अमान्य भएकाले मूलधार जातीय नेपाली समाज आफूहरुका लागि असुरक्षित भएको जानकारी अन्तर्राष्ट्रिय समुदाय र न्यायीक निकायहरुलाई जानकारी गराउने ।
१०, आफूहरुलाई आन्तरिक शरणार्थीको अवस्थाबाट सुरक्षित स्थानान्तरणको लागि नेपाल सरकारलाई दबाव बनाउनुको साथै तत्काल जीउधनको सुरक्षा र संरक्षणको माग गर्दै संयुक्त राज्य संघमा जानकारी हुने गरी यूएनएचसीआर (ग्ल्ज्ऋच्) मा निवेदन तथा अपिल दर्ता गराउने ।
११, अन्तर्राष्ट्रिय समुदायलाई यदि कुनै राष्ट्रलाई इच्छुक भएको खण्डमा आफ्नो नयाँ समुदाय आफूहरुको समान मानव हैसियत र मानव मर्यादासँग कुनै सम्झौता नहुने गरी कुनै पनि न्याय र स्वतन्त्रता प्रेमी, जातीय विभेदरहित समाजमा अवतरण हुन तयार रहेको अफर खुला राख्ने ।

स्थायी समाधानको उक्तबाटो हूमनिष्ठ अभियानकर्ताहरुले अघि बढाउने तयारीमा रहेकोले यस प्रकारको स्थायी रुपमा जातबाट मुक्तिको आकांक्षा राख्ने सम्मानीत मानवता प्रेमीहरुलाई यस अभियानमा जुट्न आग्रह गर्दछु । ईच्छुकहरुले हूमनिष्ठ क्लब नेपालका साथीहरुलाई सम्पर्क गर्न सकिनेछ ।

अन्त्यमा, जातीय आतंकबाट मुक्तिका लागि मेरो सन्देश, जातीय विभेदको रोईलो छोडौं ! वास्तविकता बुझौं !! र, स्थायी समाधान खोजौं !!!

लेखकको परिचय
नामः श्याम नेपाल
शिक्षाः मानवशास्त्र, एम.ए. टियू
सम्पर्कः वालकोट, भक्तपुर
फोनः ९८४१९६७३८६
ईमेलः [email protected]
लेखक, बेलायती फेलोशिप (२००५) का [Chevening Scholar] हुनुहुन्छ । उहाँ ह्यूमनिष्ठ एनथ्रोपोलोजी विषयका पक्षधर विद्यार्थी एवं सो विषयले रुची राख्ने मानव र प्रकृतिबीच सम्बन्धलगायत सामाजिक संरचनागत असमानता र गरिबी जस्ता मानव जीवनका विविध आयमको अध्ययन तथा अनुसन्धानमा संलग्न व्यक्ति हुनुहुन्छ ।

प्रकाशित मिती : १८ जेष्ठ २०७७, काठमाडौं

प्रतिक्रिया दिनुहोस्