२० जेठ २०७७, काठमाडौं
आज देशमा लकडाउन भएको ठ्याक्कै सत्तरी दिन भयो । देशमा कोरोना भाइरस संक्रमितहरूको संख्या रफ्तारमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटा भन्छन्, आजसम्म संक्रमित हुनेहरूको संख्या १,७९८ पुगेको छ (पुरूष : १६६७ र महिला : १३१) ।
देशभरिका संक्रमित जिल्लाहरूको संख्या भने ५९ पुगेको छ । संक्रमित हुनेहरूको ग्राफ झन्–झन् ठाडो हुँदै गएको देखिन्छ । यद्धपी स्वास्थ्य बिज्ञहरु भनिरहेका छन् कि संक्रमण अझै समुदायस्तरमा ब्यापक बनिसकेको छैन । यसलाई आउट ब्रेक हुन नदिने कुनै उपायहरू छ कि ? नत्र अब हामीले एपेक्स कुरेर बस्नु सिवाय केहि हुन्न । संसार भरिको रोकथामको उपाय हेर्दा एउटै मोडेल प्रयोग गरेको देखिन्छ: त्यो भनेको परीक्षण, आईशोलेशन र कन्ट्याक्ट ट्रेसिङ्ग । स्वास्थ्य मन्त्रालयका प्रवक्ता त भनिरहेकै छन् तर बिचरा परीक्षण गर्ने किट्स नै हामीसँग छैन । भर्खरै सेनाले बिदेशबाट मगाएको सामाग्रीहरुमा पनि पीसीआर परीक्षण गर्ने किट्स जम्मा २८,००० को हाराहारीमा मात्र छ रे ! कतै देशमानै यी किट्सहरू बनाउँन सकिन्थ्यो कि ? कस्ले सोच्ने ? कस्ले गर्ने ?
अर्को, क्वारेन्टाइनमा बस्नेहरूको संख्या डरलाग्दो रूपमा बढिरहेको देखिन्छ । आजको तथ्यांक अनुसार यो संख्या १,३३,९७५ पुगेको छ । भन्ने गरिएको छ कि क्वारेन्टाइनमा राम्रो व्यवस्था नहुँदा यस्ता क्वारेन्टाइन नै संक्रमणको घर बन्न पुगेका छन् । अब कतिपय बिकसित देशहरूले गरेजस्तै कन्ट्याक्ट ट्रेसर आर्मीहरू तथा स्वयंसेवकहरु ब्यापक परिचालन गरेर होम क्वारेन्टाइनमा बस्न आम मानिसहरूलाई अभ्यस्त गराउनु भन्दा बाहेक अरू बिकल्प हामीसँग छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पनि भनिसकेका छन् “संख्याहरू तीब्र बढिरहेको हुनाले अब होम क्वारेन्टाइनमा बस्नुपर्ने हुनसक्छ । साथै अब हामीले संक्रमितहरूलाई पनि सामान्य, बिरामी र जटिल बिरामी भनेर छुट्याउनु पर्ने हुन्छ र बिरामीहरूलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । सामान्य संक्रमितहरू घरमै बस्नुपर्ने हुन्छ ।”
भूकम्प पछाडी देशमा पुन: निर्माण गरिएका घर तथा संरचनाहरू आधुनिक खालका छन् । अलि बढि कोठाहरू भएका तथा सिमेन्ट, डन्डी प्रयोग गरेर बनाईएका घरहरू प्रशस्त छन् । अब छिमेकीहरू एक–आपसमा मिलेर यस्ता घरहरूमा सतर्कतापूर्वक एकले अर्कोलाई क्वारेन्टाइनमा तथा आईशोलेसनमा बस्न सघाउनु पर्दछ ।
सरकारले बिपन्नहरूलाई प्रति परिवार कम्तिमा अबको एक महिनाको लागि रू पन्ध्र हजारको दरले पैसा उपलब्ध गराउनु पर्दथ्यो तर अर्थमन्त्री काम नलाग्ने परेछन् । बरू त्यो पैसा खर्च गर्ने मापदण्ड बनाउँने, स्थानीय जनप्रतिनिधिलाई सुपरिवेक्षण गर्न लगाउने, खर्चका शिर्षकहरु बनाईदिने आदि गर्न सकिन्थ्यो । रेल र पानी जहाजमा छुट्याएको पैसाले यो गर्न छेलोखेलो पुग्दथ्यो तर गरिएन । अझै गरे त हुन्थ्यो नि । समय छ ।
हामीलाई देशको राज्य व्यवस्था प्रणाली र त्यसको संचालन, सरकारको कार्य क्षमता तथा नेताहरूको व्यवहार र मनोविज्ञानको बारेमा थोर बहुत जानकारी छ । देशमा भएका साधन–स्रोत तथा तिनीहरूको उपयोगको बारेमा पनि केही जानकारी छ । यहाँ न्यूनतम आशा गर्ने ठाउँहरूसम्म पनि क्षीण छन् ।
सीएनएन टेलिभिजनले कोरोना भाइरस संक्रमणको सन्दर्भलाई जोडेर अहिले एउटा नारा बनाएको छ, “हामीले सत्य तथा तथ्यांकलाई आत्मसाथ गरौं कुनै राजनीति र आवेगलाई हैन ।”
हो निश्चयनै हामीले अहिले सत्य तथा तथ्यांकलाई आधार बनाउँदै सारा राजनीति र आवेगलाई बिर्सेर यो भाइरसलाई देशबाट पराजित गर्नुछ । यसको लागि हामी सबै एक जुट हौं र एकअर्कालाई सहयोग गरौं । घरमै सुरक्षित रहने कोशिष गरौं ।
चन्द्रदीप लामिछाने
उप–प्राध्यापक
त्रिभुवन विश्वविद्यालय