हङकङ मामिलामा चीनलाई नेपालको साथ



२२ जेठ २०७७, काठमाडौं

चीनले हङकङ लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर विश्वभर आवाज उठिरहेको बेला नेपालले चीनको पक्षमा मुख खोलेको छ ।

नेपालले ‘एक चीन नीति’ दोहोर्या‍उँदै हङकङ मामिलामा चीनले गरेको प्रयासको पूर्ण समर्थनसमेत गरेको छ । चीनको आन्तरिक मामिलामा नेपालले बोलेको विषय अहिले विवादित बनेको छ ।

कुनै बेला बेलायत र केही समय जापानको उपनिवेश रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको महत्वपूर्ण अंग हो । यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणालीको अभ्यास भइरहेको छ । तर, त्यो बेइजिङलाई सैह्य छैन । विदेश र रक्षा नीतिबाहेकमा चीनले हङकङलाई स्वायत्तता प्रदान गरेको छ । त्यही सम्झौताको आधारमा २२ वर्ष अघि बेलायतबाट हङकङ चीनको यो प्रणालीमा रहेको हो ।

तर, पछिल्लो समय हङकङको सबै प्रावधान कटौती गर्दै लैजाने नीतिअनुरुप चीन अघि बढेकाले त्यहाँ भइरहेका संघर्षप्रति शक्ति राष्ट्रहरुले चासो देखाइरहेका छन् । राजनीतिक दबाबको कारण उक्त वक्तव्य बाहिर आएको पनि परराष्ट्र अधिकारीले प्रतिक्रिया दिएका छन् । एसियाको आर्थिक केन्द्र मानिने टापु सहर हङकङमा यही विषयलाई लिएर लामो आन्दोलन भएको थियो । त्यहाँको जनता सडकमा उत्रिएका र चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो निर्णयलाई फिर्ता लिएका थिए ।

गत साउनमा २० लाखभन्दा बढी जनताले गरेको सर्वाधिक ठूलो प्रदर्शनले चीनलाई नै हल्लाइदिएपछि बेइजिङ समर्थक हङकङकी कार्यकारी प्रमुख क्यारी ल्याम पछि हटेकी थिइन् । तर, अहिले त्यसमा प्रभाव पार्ने सुरक्षा कानुन बेइजिङले ल्याएको हो । उक्त समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्