न्युजिल्याण्डसंग सिक्ने कि कोरोना जित्ने सफलताको रहस्य ?



२६ जेठ २०७७, काठमाडौ

महामारीका रुपमा फैलिएको कोरोना संक्रमणसंग विश्व समुदाय बिना औषधि लड्नु परिरहेको छ । परीक्षणको गति बढाउँदै प्रयोगात्मक पद्धतिमा आधारित उपचार प्रकृयाको भर परेर जीवन बचाउनु पर्ने अवस्था छ ।

उपचार मात्रै हैन, रोग लाग्नै नदिनु पनि अर्को महत्वपूर्ण उपाय हो भन्ने ध्रुवसत्य कथनलाई न्युजिल्याण्डले चरितार्थ पारेको छ । जसअनुसार कोरोना भाईरस संक्रमणको प्रकोपबाट कम क्षति भएका मुलुकहरुमा न्युजिल्याण्डको नाम पनि दर्ज भएको छ ।

वल्र्डमिटरको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या १५०४ पुगेको छ भने जम्मा २२ जनाले मात्रै ज्यान गुमाएका छन । त्यस्तै १४८२ जना उपचारपछि निको भएका छन ।

अप्रिल महिनाको अन्त्यदेखि यता कोरोना संक्रमणका कुनै पनि नयाँ केस दर्ता भएका छैनन् । मार्च महिनाबाट कोरोना संक्रमण सुरु भएको न्युजिल्याण्डमा देशब्यापी रुपमा कडा लकडाउनको उपाय अपनाइएको थियो ।

मार्च १९ देखि देशका सबै सिमा बन्द गरिए । त्यसबेला जम्मा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको सात दिनपछि न्युजिल्याण्ड सरकारले देशभर हाई अलर्ट घोषणा गरेको थियो ।

पाँच हप्तासम्मको कडा लकडाउनपछि मात्रै पूर्ण सावधानी अपनाउँदै बजार तथा पसल खोल्ने अनुमति दिइएको थियो । कोरोना संक्रमण विरुद्धको युद्धमा सरकार र जनस्तरबाट देखाईएको उच्च सतर्कता र तत्परताका कारण अप्रिलको अन्तसम्म न्युृजिल्याण्डको भूमिमा कोरोना पराजित भयो ।

अहिले न्युजिल्याण्डको जनजीवन सामान्य अवस्थामा चलिरहेको छ । यद्यपी लापरवाह हुने छुट कसैलाई नरहेको र कडाईका साथ सतर्कता अपनाउनुपर्ने चेतावनी दिंदै न्युजिल्याण्डका प्रधानमन्त्री जेसिण्डा अर्डर्नले देशका सबै सिमा नाका अझै नखोलिने प्रतिकृया दिएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्