०३ असार २०७७, काठमाडौँ
यतिबेला बलिउडमा मात्र नभएर नेपाली चलचित्र जगतमा पनि अभिनेता सुशान्त सिंह राजपुतको निधनको चर्चा चलिरहेको छ । उनले डिप्रेशनका कारण सुसाइड गरेको खबर बाहिरिएपछि यसबारे चर्चा हुन थालेको हो ।
यस्तै नायिका बर्षा सिवाकोटीले पनि यसबारे आफ्नो धारणा राखेकी छिन् । उनले चलचित्र क्षेत्रमा हुने ग्रुपिजम र परिवारवादका कारण धेरै कलाकारहरु डिप्रेशनमा जाने गरेको बताएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्, परिवारवाद सबैतिर हुन्छ । चलचित्र नगरी छर्लङ्ग भएकाले यो देखिएको हो । सत्य बोल्ने आँट कमैसँग मात्र हुन्छ । यस्तो कुरा बोल्दा करियरमा असर पर्छ, कामको अभाव हुन सक्छ भन्ने धेरैलाई सोच्छन् । तर परिवारवादले मात्र चलचित्र क्षेत्र रुमलिएको छैन । यहाँ ग्रुपिज्म, प्रेमका कुरा, तुलना, चलचित्र पत्रकार र कलाकारबीच अनावश्यक निकटता आदि कारणले पनि नकारात्मक असर परेको छ ।
वर्षाले आफूले यी सबै कुरा भोगेको बताएकी छिन् । उनले लेखेकी छिन्–‘यहाँ नाम एउटै भएका कारण तुलना हुन्छ । जति नै राम्रो, फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउँमा मलाई मानसिक पीडा भएको मेरो नजिकका केहीबाहेक कसैलाई थाहा छैन । केही समय अगाडि म पनि डिप्रेसनमा थिएँ । यहाँ त इन्स्टाग्राम, फेसबुकको फलोअर्सको आधारमा कामको मूल्याङ्कन गरिन्छ । जसको धेरै फलोअर्स छन्, उसलाई कामको अफर आउँछ । युट्युबमा धेरै अन्तर्वार्ता दिने कलाकार हिट मानिन्छ । यी सबैको सामना गरेर आफ्नो स्थानमा बसेर अगाडि बढ्ने प्रयासमा जोड दिन जरुरी छ ।’