सुशान्तको निधनमा झुटो आँशु बगाउनेप्रति कृतिको आक्रोश : ‘सामाजिक सञ्जाल बिषालु ठाउँ हो’



०४ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएसँगै यतिबेला सामाजिक सञ्जाल उनका तस्बिरले भरिएका छन् । हर कोहीले सामाजिक सञ्जालमा सुशान्तको फोटो पोष्ट गर्दै दुख व्यक्त गरिरहेका छन् ।

अझ केही मिडियाले सुशान्तको मात्र समाचार प्रकाशन गरिरहेका छन् । यसबिच सुशान्तसँग चलचित्र राबता मा काम गरेकी सुशान्तकी मिल्ने साथी समेत रहेकी नायिका कृति सननले यसबारे आक्रोश पोख्त गरेकी छिन् ।

उनले इन्ष्टाग्राममा लामो पोष्ट गर्दै आफ्नो धारणा व्यक्त गरेकी छिन् । उनी लेख्छिन्, ‘यो अचम्मको कुरा हो कि ट्रोल र गसिपमा रमाउनेहरू अहिले जुर्मुराएका छन् र कसैको राम्रो कुरा गर्न थालेका छन् जो यो दुनियाँमा नै छैन । सामाजिक सञ्जाल झूटो र बिषालु स्थान हो । यदि तपाईं आफूले कसैको निधनमा केही लेख्नुभएन भने मानिसहरू सोच्छन् कि उसको निधनमा तपाईं दुस्खी हुनुहुन्न ।’

कृतिले सामाजिक सञ्जाल नै वास्तविक दुनियाँ भएको र वास्तविक दुनियाँलाई मानिसहरूले फेक सम्झिन थालेको बताएकी छिन्।

कृतिले केही मिडियाकर्मीहरूमाथि पनि प्रश्न उठाएकी छिन् । उनी लेख्छिन्–‘यस्तो समयमा केही मिडियाकर्मीहरू प्रतिक्रियाको अपेक्षा गर्छन् र लाइभ कुराकानीको लागि आग्रह गर्छन् । कसैको अन्तिम संस्कारमा पुग्दा कारको ढोका खोलेर तस्वीर क्लिक गर्नका लागि अपिल गर्छन् । म भन्न चाहन्छु कि अन्तिम संस्कार व्यक्तिगत हुन्छ । यस्तो स्थानमा तपाईहरू नआउनुहोस् र आउनुभयो भने पनि गरिमा बनाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्