०९ असार २०७७, काठमाडौँ
पल शाह नेपाली चलचित्र जगतका निकै लोकप्रिय अभिनेता हुन् । उनले नेपाली चलचित्रमा धेरै सुपरहिट चलचित्र दिएका छन् । उनै पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै निर्माताहरुप्रति गुनासो पोखेका छन् ।
उनले आफूले काम गरेको पारिश्रमिक समयमा नपाउँदा समस्या भएको बताएका छन् । फिल्म क्षेत्रमा यो गुनासो पलले मात्र नभएर धेरै बर्षदेखि धेरै कलाकारहरुले गरिरहेका छन् ।
‘के तपाईले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नुभएको छ,’ फेसबुकमा स्टाटस लेख्दै उनले प्रश्न गरेका छन्, ‘के तपाईले आफूूले गरेको फिल्मको पैसा पाउन वर्षौवर्षसम्म डिरेक्टर, प्रोड्युसरसँग दुुई हात जोड्नुपरेको छ ? यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेका कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौ कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?’
उनी यतिमै रोकिएका छन् । उनको स्टाटस पढ्दा उनले स्वयम् पारिश्रमिकका कारण निर्माताबाट ठूलै दुःख पाएको देखिन्छ । यद्यपी उनले प्रवृत्ती इंगित गर्न खोजेका छन्, त्यसैले कुन फिल्म र कुन निर्माताले पारिश्रमिकलाई लिएर दुःख दिएको खुलाएका छैनन् ।