विश्व योग दिवस–घरैमा योग गरौं ! परिवारसँगै योग गरौं !!



०९ असार २०७७, काठमाडौं

सन्दर्भ:
२१ जुन २०२० वर्षको सबैभन्दा लामो दिन विश्व छैठौं योग दिवस, नेपालमा पनि धुमधामका साथ मनाइएको छ्र । लगातार सप्ताहब्यापी रुपमा मनाइएको योग दिवसका दिनहरू मध्ये मूल दिन आज २०७७ साल असार ७ गते आइतबारका दिन बिहान ६ बजेदेखि लगातार मूल समारोह समितिको आयोजनामा जुम मिटिङ्ग मार्फत कार्यक्रम अगाडि बढिरहेको छ्र ।

यो कार्यक्रम राष्ट्रिय गानबाट सुरु भयो । ढाड सोझो राखेर बसौं भन्ने अनुरोधका साथ ओमकार बाणीको सुरुवात गरियो । बीचबीचमा संगीत र विविध मन्त्र मनोरञ्जनका साथै विशिष्ट व्यक्तित्व, योगीहरु, डाक्टरहरुले प्रवचनहरु दिनुभयो ।  योगको जन्म नेपालबाट भएको हो । नेपालमा २०३६ सालदेखि नै योग दिवस मनाउँदै आइएको थियो । यद्धपी व्यापक रुपमा प्रचारप्रसारको रूपमा भने यही वर्षबाट सुरु गरिएको हो । उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराज मणी पोखरेल ज्यू, पर्यटन तथा उड्डयन मन्त्री श्री योगेश भट्टराई ज्यू पनि उपस्थित हुनुहुन्थ्यो । यसको अर्थ नेपालले योगलाई पूर्ण रुपमा अंगिकार गरिसकेको छ, मैले अघिल्लो लेखमा पाठ्यक्रमको बारेमा व्याख्या गरिसकेको छु ।

युवाहरू र योग :
बिहान उठेपछि दिनलाई कता लैजाने भन्ने तपाईंको हातमा हुन्छ । दु:ख मार्ग वा सुख मार्ग, मानव जीवनमा पनि सुख दु:खको मार्ग कता लैजाने भन्ने कुरो स्वयम् व्यक्तिले निर्धारण गर्न सक्दछ । योगको आफ्नै इतिहास छ तर कहिलेबाट यसको सुरुवात भयो भन्ने कुरा स्पष्ट रूपमा व्यक्त गर्न कठिन छ । नेपालबाट सुत्रपात भएको हो ता पनि अव्यवस्थित रुपमा जोगी वस्त्र धारण गर्नेहरुले, जोगी भोजन कै आधारमा, बेरोजगारी र पेशा बिहिनहरुको योग गुरुका रुपमा परिभाषित गर्दै,  त्यस्तै खालको गलत प्रचार भएकोले यो सबैभन्दा ठूलो भ्रम र गलत छाप पर्न गयो युवाहरूमा । त्यहीं बुझाइले युवाहरु योगबाट भागिरहेका छन् ।

तर विभिन्न फिटनेश क्लबहरुमा, बिदेशी कोर्षहरु लगाएर हाम्रो योग परिमार्जन भई, हाम्रो अस्तित्व नाश गरी, हाम्रै युवाहरुलाई एक्सरसाईज सिकाइँदै आएको छ्र । छिमेकी मुलुकबाट यो प्रसङ्गमा पनि हाम्रो साँध मिचिएको प्रष्टै हुन्छ तर योगको मूल मर्म, इतिहास, ज्ञान–विज्ञान, प्राकृतिक चिकित्सा ज्ञान, भक्तिभावको भावना, राष्ट्रियताको भावना, फिटनेश र क्लवहरुमा एक्सरसाईजसँगै अनिवार्य सिकाइने वातावारण हुनु पर्दछ्र साथै युवाहरूसँग, युवाहरुको चाहनासँग पनि जोड्न जरुरी छ । योगमा अनुशासन छ, अनुशासनमा चाहना छ, यसबाट भोलिको भविष्य सिक्न सकिन्छ्र युवाको भविष्य उज्वल बनाउन सकिन्छ ।

योगमा बिज्ञान :
योगको उत्कृष्ट समयमा, एक विशेष प्रकारको हर्मोन शरीरमा पैदा हुन्छ, यो वैज्ञानिक तथ्य हो । ऋषिमुनिहरूलाई धेरै पहिला यसको बारेमा ज्ञान थियो । शरीरमा हर्मोन पैदा भएपछि मात्रै निश्चित कामहरु कोषहरुले गर्न सक्छ, जुन अरु बेलामा गर्न सम्भव छैन । शिव, जनक, बौद्धले धर्म र योगको  माध्यमबाट मानिसलाई ज्ञानगुन, जीवन र राज्य समाज चलाउने तरिकाहरुका ज्ञान सिकाए । यो धर्म भनेको प्रकृति, वातावरण र विज्ञानसँग सम्बन्धित नै थियो । प्राकृतिक र औषधि सम्बन्धी थियो, आयुर्वेदिक समन्धि थियो । जीवन र जगतसँग सम्बन्धित थियो राज्य सञ्चालन गर्दै जाँदा र सम्हाल्दै जाँदा, विभिन्न व्यक्तिहरुले धर्मको प्रयोग गर्दा र त्यसलाई अपनाउँदा आ–आफ्नो किसिमले अपनाएर, गलत क्रियाकलापहरु जनताहरुमा सम्प्रेषित हुनपुग्यो । धर्म संविधान थियो, कानूनको दस्तावेज थियो, मानौँ औषधीहरूको भण्डारको नामावली थियो । कुनै पनि समस्याको समाधान धर्मै थियो । त्यहीं अल ईन अल नै धर्म भन्ने शब्द प्यारो भयो । शब्दले प्रसिद्धि कमाए र त्यही शब्द बदनाम हुनपुग्यो । त्यसैले कामको शिलशिलामा व्यक्ति नै सक्षम, सबल हुनुपर्छ । हरेक क्रियाकलापका लागि देशलाई समृद्धितिर लैजानका लागि पनि । तसर्थ प्राकृतिक र चिकित्सा विज्ञानको विकास र प्रयोग निकै अगाडिदेखि भएको र त्यसलाई प्रयोग गर्ने पद्धति गलत हुँदै गएको देखिन्छ, त्यसैले योग बिज्ञान हो ।

हामी पछाडि फर्कदैछौं, कि अगाडि बढ्दैछौं ?
हामीले फुटबल ग्राउण्डमा खेलाडीहरुलाई देख्छौं, हरेक देशका खेलाडीहरूको आ–आफ्नै पहिचान हुन्छ । आफ्नै पोशाक हुन्छ, आफ्नै मनोरञ्जनका तरिका हुन्छन्, किनकी उसलाई चिन्ने एउटा पहिचान हो । जो अरु सामान्य व्यक्तित्व भन्दा निकै भिन्न छ । कार्ल मार्क्सको उल्लेख्य दारी थियो तर माओ सेतुङको थिएन । भगवान शिवको जटाधारी कपाल थियो, बुद्धले कपाल मुण्डन गरेका थिए । त्यसैले समय अनुसार पोशाक, भाषा, शैली फरक हुनु स्वाभाविकै हो भन्ने कुरा युवाहरुले बुझ्न जरुरी छ । त्यस्तै हाम्रा ऋषिमुनिहरुका पनि भाषा, संस्कृत, पाली त्यस्तै पौराणिक, अन्य भाषाहरू, शैली, लवज, लवाईखवाई थियो भन्ने कुरा बुझ्न जरुरी छ । त्यसैले यी भावनात्मक रुपमा युवाहरुले बुझ्न र सुधार हुन जरुरी छ भने अर्कोतिर अघिल्लो पुस्ताहरूले पनि युवाहरूको भावना बुझी सुधार गर्न जरुरी छ र एकीकृत रुपमा देश समृद्ध बनाउन लाग्न जरुरी छ । वैज्ञानिक रूपमा खानपानको आफ्नै महत्व धेरै छ । खानपानको सम्बन्धमा माछामासु खान मिल्दैन जस्ता कुराहरु भ्रमका कुरा हुन् ।

आधुनिक युगमा योगको माध्यमबाट हामी अगाडि बढ्ने कुरा, प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय यसको एउटा ज्वलन्त उदाहरण हो । योगमाया षडानन्द नगरपालिका नेपालेडाँडाकी हुनुहुन्छ । बि.सं. १९९८ मा तत्कालीन शासनविरुद्ध ६७ जना अनुयायी लिएर अरुण नदीमा जलसमाधि लिनुभएको थियो । योगमायाको साधना र कर्मस्थल षडानन्द नगरपालिका वडा नं. १ नेपालेडाँडाको मझुवाबेसी  हो । यसरी हामी पछाडि होइन अगाडि बढ्दैछौं ।

तसर्थ हाम्रो संस्कृति, हाम्रो संस्कार र हाम्रो पहिचान विश्वमा नेपाल योगको देश हो भन्ने कुरा हामी प्रचार किन नगर्ने ? यो हाम्रो गर्भको विषय हो । योगलाई आवश्यकतासँग जोड्न जरुरी छ तर युवाहरूलाई बुझाउने भाषा प्रयोग गर्न जरुरी छ । त्यो जुनसुकै भाषा किन नहोस् । जस्तो, यो वाक्यांश राम्रो छ तर युवाहरुले बुझ्दैनन् । मानिसको जीवनमा एकपटक बैराग्य पैदा हुन्छ, वैराग्यको अचेत पैदा हुन्छ । उक्त अचेतना पछि पुन: उच्च चेतना पैदा हुन्छ । यो हरेक व्यक्तिमा लागू हुन्छ । यसलाई आधुनिक भाषामा युवाहरुले बुझ्नेगरी वाक्यांशहरुको प्रयोग गर्दा उपयुक्त हुन्छ किनकी लक्ष्य एउटै हो । सोचाइको विकास, सोच्ने समय अत्यन्तै महत्वपूर्ण छ्र आफूलाई चिन्नु नै सबैभन्दा महत्वपूर्ण योग हो । जब तपाई आफूलाई चिन्नु हुन्छ, तब नजिकलाई चिन्नु हुन्छ्र बिस्तार बिस्तार हुँदै विश्वलाई चिन्नु हुन्छ्र सुरुवात आफैंबाट गर्नुपर्दछ्र ।

अन्तमा,
छैंटौं अन्तर्राष्ट्रिय योग दिवस–२०२० को पावन अवसरमा म देशभरीका शिक्षकहरूको तर्फबाट बुद्ध अध्ययन पिएचडी स्कलर्सको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु । भगवान शिवद्वारा सिर्जित र हाम्रा पूर्वज ऋषिमुनीहरुले प्रयोग र प्रचलनमा ल्याएको योग पूर्वीय दर्शन र हिमवत खण्डको अमूल्य निधि हो । मानवलाई शारीरिक, मानसिक र वैचारिक रुपमा सभ्य, स्वस्थ र सु–संस्कृत बनाउन योगले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण छ । यो हाम्रो योगको महत्वपूर्ण निधिलाई विश्वभर प्रचार–प्रसार गरि यसको महत्वलाई सम्पूर्ण मानवजाति विच पुर्‍याउनको लागि महत्वपूर्ण अवसरको रुपमा उपयोग गर्नु योग दिवसको मूल ध्येय र योग अभियन्ताहरुको कर्तव्य हुनुपर्दछ । कोभिड १९ को कारण आक्रन्त बनेको विश्वसमूदायका विच मलमपट्टी लगाई यो विरुद्ध लडन, यो छैटौ अन्तर्राष्ट्रिय योग दिवस कोशेढुङ्गा सावित हुने दृढ विश्वासका साथ सम्पूर्ण देश विदेशमा रहनु हुने नेपाली दाजुभाईहरु लगायत योगप्रेमीहरु समक्ष घरैमा योग गरौं ! परिवारसंगै योग गरौं !! भन्ने वाक्य स्मरण गराउँदै, धन्यवाद व्यक्त गर्न चाहन्छु सबैको दिन शुभ रहोस् ।

Babu Ram Ghimire
Buddhist Study, TU. , PhD  Scholar
[email protected]

प्रतिक्रिया दिनुहोस्