बिहेको भोलिपल्टै बेहुलाको मृत्यु, विवाहमा सहभागी १ सय भन्दा बढी भए संक्रमित



१८ असार २०७७, काठमाडौं

बिहारमा १५ जुनमा विवाह गरेका बेहुलाको भोलिपल्टै मृत्यु भएको छ भने विवाहमा सहभागी १ सयभन्दा धेरै पाहुनामा कोभिड–१९ संक्रमण भेटिएको पुष्टि भएको छ ।

बिहारको राजधानी पटनास्थित पालीगन्जका व्यक्तिको विवाहमा ३ सय ५० भन्दा धेरै जना पाहुना सहभागी भएका थिए । गुडगाउँमा इन्जिनियरको काम गर्दै आएका बेहुला विवाहकै दिन बिरामी थिए र अवस्था निकै खराब थियो ।

कोभिड–१९ को लक्षण झाडापखालाका कारण पटना अस्पतालमा उनको उपचार पनि भएको थियो ।  बेहुलाको मृत्युपछि उनको परिवारले अन्तिम संस्कार समेत गरिसकेकाले उनको परीक्षण भने हुन पाएन ।

विवाहमा सहभागी उनका आफन्तहरुमा पनि कोभीड–१९ सँग सम्बन्धित लक्षण देखियो । परीक्षणपछि उनीहरुको स्याम्पल पोजेटिभ आयो ।

जब संक्रमितको संख्या १५ पुग्यो, त्यसपछि विवाह र बेहुलाको मलामी गएका झन्डै ४ सय व्यक्तिको पहिचान गरेर त्यसमध्ये सम्भावित व्यक्तिलाई आइशोलेट गर्नका लागि २४ जुनदेखि २६ जुनसम्म विशेष परीक्षण शिविर नै आयोजना गरियो ।

त्यसमध्ये ८६ जनाको नतिजा पोजेटिभ आयो । उनीहरु सबैलाई अहिले आइशोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्