२५ असार २०७७, काठमाडौं
काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
महानगरले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, शहीद पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क, महिला मैत्री पार्कलगायत छन् । महानगरले ड्रिम परियोजनाका रूपमा अगाडि बढाएको मेगा हलमा पनि ६० प्रतिशत ठाउँमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माणका लागि भृकुटीमण्डपमा अहिले करिब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरको सहरी योजना आयोगले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।