०५ श्रावन २०७७, काठमाडौं
हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपाल तर्फ सरेको छ। हाल देशभर सामान्यदेखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज विहान ५ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा मध्ययम बर्षा भएको छ । बिण्णुमती, मनोहारा, हुनमन्ते, नख्खु लगायतका खोलाहरुमा बहाव खतराको विन्दु नजिक पुगेको छ । नदी, नालाको पानी किनारको सडकसम्म आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यसअघि आजै विहान साढे २ बजे मापन गरीएको रेकर्ड अनुसार डडेलधुरा जिल्लाको रंघुन –पन्टुरागाड नदीजलाधारमा भारी बर्षा मापन भएको र थप बर्षाको सम्भावना रहेको छ ।
रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा जलसतह खतराको बिन्दु आसपास पुग्ने र बाढीको संभावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राती देशभर पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।