०६ साउन २०७७, काठमाडौं
कोरोना भाइरस बिरूद्धको खोप निर्माणमा केहि समय अगाडि देखि नै विश्वका नामी कम्पनी तथा विश्व–विद्यालयहरू लागि परिरहेका छन् । सबैका आ–आफ्ना दावीहरू रहे पनि ढुक्क भने कोहि छैनन् । भावनात्मक रूपले भन्दा अहिले बिज्ञान हारिरहेको कुरा गर्नेहरूको जमात बिश्वमै धेरै ठूलो भैसकेको छ । तर यथार्थ के हो भने प्राकृतिक बिज्ञान आफैंमा एउटा जटिल प्रक्रिया हो । यो बिभिन्न चरणहरू पार गर्दै अगाडि बढिरहेको हुन्छ । कतिपय परिणामहरूलाई भविष्यको गर्भमै छाडेर यसले आफ्ना अनुसन्धानहरू टुङ्गयाएका हजारौं उदाहरणहरू पनि पाईन्छन् संसारमा । त्यसमा पनि चिकित्सा विज्ञान अझ धेरै संवेदनशील विषय हो । यो मानव शरीरसँगका सिधै सम्बन्ध राख्ने बिषय भएकोले थोरै तलमाथिले पनि सम्पूर्ण मानव समुदायलाई नै ठूलो नोक्सान त्यो पनि छोटो समयमा नै पार्न सक्ने सम्भावना यसमा अधिक रहन्छ । तसर्थ, मानव कल्याणको लागि प्रयोग गरिने चिकित्सा विज्ञानको कुनै पनि शुत्र माथिल्लो स्तरमा भरपर्दो हुनु आवश्यक छ ।
कोभिड–१९ बिरूद्ध प्रयोग गरिने खोपको लागि पनि यो सम्वेदनशीलतामा ध्यान दिनु स्वाभाविक छ । संसारभरी अहिले १६० भन्दा बढी खोपहरू परीक्षणको बिभिन्न अवस्थाहरुबाट गुज्रिरहेको समाचारहरूले बताइरहेका छन् । बिभिन्न चरणमा सफलता प्राप्त गर्दै क्लिनिकल परीक्षणमा पुगेका खोपहरूको संख्या भन्ने डब्ल्यूएचओले अहिले २३ ओटा छन् भनेर भनेको छ । त्यसमध्ये पनि चाँडै सफल होलान् भनेर विश्वले आशाको दृष्टिले हेरिरहेको केहि देशका मुख्य कम्पनीका नामहरू यस प्रकार रहेका छन् । मोर्डना, बायोएनटेक, एष्ट्राजेनेका, साईनोभ्याक, नोभाभ्याक्स, क्यानसाईनो बायोलोजिक्स र सिनोफर्म आदि । बिशेषगरी यस्ता खोप निर्माण कार्यमा चाँडै सफल हुने सक्ने देशहरू भनेर अमेरिका, चीन र बेलायत प्रति धेरैले आशाका नजरले हेरिरहेका छन् ।
पछिल्लो अवस्थामा कोरोना भाइरस बिरूद्धको खोप निर्माणमा ब्यवसायिक चासो बिस्तारै यी तीन देशहरूले बढाउँदै गएको पनि देखिईरहेको छ । यी देशहरू यो पनि सँगसँगै सोचिरहेका छन् कि यो खोप निर्माणको नेतृत्व जस्ले सुरूमा गर्नसक्छ त्यसले संसारमा ठूलो बाजी मार्ने छ नाम र दाम दुबैमा । यस्को कपिराइटरपेटेन्ट र औषधि बिक्रि–बितरणबाट अकुत पैसा कमाउन सकिन्छ जसले मुर्झाईरहेको आ–आफ्नो देशको अर्थतन्त्रलाई आकाश चुम्न सक्ने बनाई दिनसक्छ । हुनत् यसमा अरू देश तथा त्यहाँका शासकहरुले पनि लोभ निश्चय नै गरेका छन् । यूरोप तथा एसियाकै कति बिकसित देशहरू खोपको ब्यापारमा सानो–तिनो हिस्सा पाईन्छ कि भन्दै बिभिन्न योजनाहरू बुन्दै पनि होलान् । उनीहरू कति त खोप निर्माणको अनुसन्धानमा पनि संलग्न छन् तर यो भिमकाय उत्पादन, बितरण र अन्य चुनौतीहरूलाई एक्लै सामाना गर्ने यिनीहरूको तागत र हिम्मत छैन । हुनत केही यूरोपेली देशहरू मिलेर कोरोना बिरूद्ध खोप निर्माणमा उनीहरूले करिब बाह्र खर्ब रुपैयाँको कोष बनाउने निर्णय केहि समय अगाडी गरेका पनि थिए ।
बेलायतलाई भने जे कुरामा पनि अमेरिकाको ठूलो सपोर्ट हुने गरेको पाईन्छ । अमेरिका जे भन्छ–बेलायत त्यही भन्छ । अमेरिका जे गर्छ–बेलायत पनि त्यहि गर्छ । केही महिना अगाडि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस संक्रमण हुँदा कसैप्रति पनि खुलेर आदरभाव नराख्ने अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका थिए,“मेरा प्रिय मित्र जोन्सनमा बिचित्रको आत्मबल र आत्मबिश्वास छ । म ढुक्क छु कि उनले सहजै यो भाइरसलाई पराजित गर्नेछन् ।” क्लिनिकल परीक्षणको अग्रपंक्तिमा रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाईरहेको खोपमा अमेरिका पनि ढुक्क छ । यदि अक्सफोर्डले खोप बनाई हाल्यो भने पनि त्यसको महत्वपूर्ण जिम्मेवारी अमेरिकाले नै पाउने छ । त्यसो त सम्भाव्य यति ठूलो उत्पादन तथा बिक्री–बितरणमा बेलायत एक्लैको प्रयास पनि अपुरो नै होला । त्यस्तो अवस्थामा उसले अन्तत: साझेदारी गर्ने भनेको अमेरिकासँग नै हो । हुनत् अक्सफोर्ड विश्वविद्यालयसँग खोप उत्पादनमा अमेरिकाले अगाडि नै सम्झौता गरिसकेको छ भन्ने समाचारहरू पनि हामीले पढेका थियौं । अक्सफोर्ड विश्वविद्यालयले करिब आठ हजार मानिसहरूको संख्यामा केहि दिन पहिले नै “एष्ट्राजेनेका कम्पनि”ले उत्पादन गरेको खोपको तेस्रो चरणको मानव परीक्षण गरिसकेको छ । भर्खरै अक्सफोर्ड विश्वविद्यालयले एक हजार सातसय सत्हत्तर जनामा गरेको खोपको परीक्षण अत्यन्तै सफल रहेको बताएको छ । उसले भनेको छ,“परीक्षणमा खोप सुरक्षित देखिएको छ र यो खोप भाइरस बिरूद्ध शरीरमा एन्टिबडि बनाउन सफल देखिएको छ ।” भर्खरै डब्ल्यूएचओले पनि अक्सफोर्ड विश्वविद्यालयलाई सफलताको लागि बधाई दिएको छ । यो खोप उत्पादन हुनु अगाडि नै दश करोड युनिट बुुकिङ भईसकेको छ । अब थप परीक्षणमा पनि यदि यो सफल भएमा खोपलाई आम बितरणको लागि बजारमा चाँडै ल्याईनेछ भनेर अक्सफोर्ड विश्वविद्यालयले भनेको छ तर समय सीमा भने कुनै निर्धारित छैन ।
अमेरिकाकै मोर्डना कम्पनीले बनाईरहेको भनिएको खोप पनि उत्पादनको दौडमा अगाडि नै छ । उसले पनि भर्खरै क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको दावी गरेको छ । अब यही जुलाईको अन्त्यतिर तीस हजार मानिसहरूमा खोपको अन्तिम परीक्षण गर्ने मोर्डनाले जनाएको छ । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडफिल्ड तथा संक्रमण रोग बिशेषज्ञ डा. एन्थोनी फाउचीले पनि भनिरहेका छन्,“तपाई पत्याउनुस् वा नपत्याउनुस् । हामीहरू खोप निर्माणको अन्तिम चरणतीर पुगिसकेका छौं । यो वर्षको अन्तिम सम्ममा खोप उत्पादन भइसक्नेछ ।” अमेरिकाले फ्रान्ससँग पनि सम्भाव्य खोप उत्पादन र बिक्री वितरणको लागि अगाडि नै सम्झौता गरिसकेको छ । यसरी हेर्दा अमेरिका खोपमा अरू कसैलाई चिहाउन दिनेवाला छैन । अरूले बनाए पनि उसले कुनै पनि प्रकारले खोपमाथि आफ्नो अधिक नियन्त्रण राख्ने कोशिष गर्ने नै छ ।
खोप निर्माणको दौडमा चीन पनि अगाडि नै रहेको जनाईएको छ । भाइरसको स्रोत चीनमै रहेको र संक्रमण व्यवस्थापन र नियन्त्रणमा सफल जस्तो देखिएको चीनलाई सन्दर्भ सामग्रीहरुले पनि थप सहयोग गर्ने निश्चित छ । फेरि उता चीनका राष्ट्रपति सी जीनपिङले खोपको सन्दर्भमा हामीजस्ता गरिव देशका जनताहरूको पनि मन राख्ने गरि भनेका छन्, “यदि चीन कोरोना भाइरस बिरूद्धको खोप निर्माणमा सफल भएमा उक्त खोपलाई चीनको मात्र नभएर बिश्वकै सम्पति बनाइनेछ । संसारभरका धनी–गरिव सबै मूलूकमा खोपको समान बितरण गरिने छ ।” सायद सी जीनपिङको यो भनाई खोपमा एकलौटी ब्यापार गर्न आतुर जस्तो देखिएको ह्वाईट हाउस प्रशासन प्रति पनि लक्षित हुनसक्छ । चीनलाई प्रविधी तथा आविष्कार चोरीको सधै आरोप लगाउँदै आएको अमेरिका चीनले कसैगरि पनि यो खोप निर्माण गरेर एकलौटी फाईदा लिने त हैन भन्नेमा शसंकित देखिन्छ । चीनको “साईनोभ्याक कम्पनी”ले खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण भर्खरै सम्पन्न गरेको छ । त्यस्तै चीनकै सिनोफर्मले यूएईसँग मिलेर अर्को खोपको पनि तेस्रो चरणकै परीक्षण हालै यूएईमै सम्पन्न गरेको छ ।
चिनियाँ वस्तु गुणस्तरीय नहुने कुरा बिश्वमै स्थापित जस्तो देखिन्छ । यो महामारीको बेला पनि स्वास्थ्य सामाग्रीहरुमा बिशेषत: आरडिटी परीक्षण र पीपीई गुणस्तरीय नभएको आरोप चीनले सुरूदेखि नै खेपिरहेको हो । तसर्थ अमेरिका यस कुरामा ढुक्क छ कि यदि चीनसँगसँगै अमेरिकाले पनि खोप बनाएको खण्डमा सक्दाखेरी संसारकै प्राय: मानिसको रोजाईमा अमेरिकी खोप नै पर्नेछ । अहिले महामारीको यस्तो अवस्थामा बे–प्रसंगको अन्य प्रविधी चोरीको आरोपलाई त्यसै अमेरिका उछालिरहेको पक्कै छैन होला !
केहिदिन अगाडि रुसले कोरोना भाइरस बिरूद्धको खोप निर्माणमा आफूले अभूतपूर्वक सफलता हासिल गरेको बताएको थियो । त्यहाँको “सेचनोब विश्वविद्यालय”ले कोरोना भाइरस बिरूद्धको खोप स्वयम्सेवकहरूमा परीक्षण गर्दा अभूतपूर्वरूपमा सफल रहेको दावी गरेको थियो । विश्वविद्यालयले यो बिश्वकै लागि पहिलो परीक्षण भएको पनि दावी गरेको थियो । तर यो समाचारलाई बिबिसी तथा सिएनएन जस्ता प्रख्यात समाचार माध्यमहरूले पूर्णत: वेवास्ता गरेका थिए । उनीहरूले यस सम्बन्धमा सानोतिनो समाचार पनि प्रशारण गरेनन् । बरू त्यसको दुई दिन नबित्दै अमेरिका तथा बेलायतका सुरक्षाविद्हरूले रूसलाई आरोप लगाए कि रुसका जासुसहरूले बेलायत र अमेरिकाले निर्माण गरिरहेको खोपहरूको तथ्यांकहरू ह्याक अथवा चोरी गर्ने प्रयास गरिरहेका छन् । रूसको सरकारले यस कुरामा आफू जिम्मेवार नरहेको बताएको छ तर अमेरिकी र बेलायतीहरू भने अझै चोर्नै खोजेकै हो भन्ने समाचारहरू विश्वमा एकोहोरो प्रशारण गरिरहेका छन् । यसर्थ पनि भन्न सकिन्छ कि यो खोप अन्तत: अमेरिकाले अरूलाई बनाउनै नदिएर आफूले नै बनाउने प्रयास गर्नेछ । यदि अरू कसैले बनाई हाले भने पनि त्यसको व्यवस्थापन र नियन्त्रण अमेरिकाकै हातमा लिने भर मजबुर प्रयाश गर्नेछ । यदि चीनले उछिनी हाल्यो भने पनि अन्तत: उसले चीनसँग सहकार्य गर्न सक्छ । आखिर दुवै नामी ब्यापारी न हुन् ।
भारतले पनि भर्खरै पीजीआई रोहतकमा खोपको मानव परीक्षण सम्पन्न गरेको बताएको छ । यद्धपी यो समाचार दक्षिण एसियाको लागि मात्र त्यस दिन ब्रेकिङ न्युज बन्यो । आखिर सम्भावना जहाँ जो सँग पनि हुन सक्दछ तर यो वैश्य युगमा कमजोरहरू सबै ठूला ब्यापारीहरूकै फन्दामा पर्ने रहेछन् । नदेखिदो हतियारको दम्भ र ब्यापारको बेजोड शक्तिले बनिसकेको खोप पनि बिश्वमा बिक्री वितरण लागि धेरै पछाडिबाट मात्र सुरूवात गर्न पनि सक्दछन् यिनीहरूले । स्वयम् बिज्ञान पनि यस्ता कलुषित राजनीतिक शक्ति भन्दा कयौं गुणा कमजोर छ । राजनीतिसँग बिज्ञानको द्वन्द्व अहिलेकै महामारीमा अमेरिकी राष्ट्रपति ट्रम्प र त्यहाँका स्वास्थ बैज्ञानिकहरुलाई हेर्दा पनि काफी बुझिन्छ ।
हुनत: यो खोपको मूल्यको बारेमा आजसम्म कुनै अनुमान आएको छैन । कतै–कतै अपुष्ट सुनिन्छ पनि सुरूमा पाँच सय डलरको हाराहारीमा त पर्ला नि त भनेर ! मूल्य महङ्गो भएमा पनि यो खोप लामो समयसम्म बिपन्नहरूको लागि एऊटा मृगतृष्णा रहिरहन सक्छ । धनी तथा सम्पन्न देशहरूमा नै यो लामो समयसम्म हारालुछ हुने अवस्था देखिन्छ । अमेरिकामा मात्रै ३३ करोड बढि जनसंख्या छ । त्यसपछि सारा यूरोपमा त्यो भन्दा बढि जनसंख्या छ । एसियाका बिकसित देशहरू र एक अर्ब चालिस करोड जनसंख्या ओगटेको चीन सिङ्गै बाँकि छ । त्यसपछि आउला ल्याटिन अमेरिका, दक्षिण एसिया र अफ्रिका । फेरि बिश्वमै सक्ने जति सबै मानिसले लगाउने होला यो खोप ? उहि सी जिनपिङले भने जस्तै भयो भने हाम्रो पालो पनि एक–दुई वर्ष भित्र आउला नत्र डब्ल्यूएचओले हाम्रो जस्तो देशमा यो खोप निशुल्क घोषणा नगरुञ्जेलसम्म लक्षित वर्गले चाँडै लगाउन पाउलान् वा सक्लान् जस्तो हामीलाई लाग्दैन ।
अन्त्यमा हालसालै संयुक्त राष्ट्र संघले भनेको छ,“बिकसित देशहरूमा धैरै भाइरस संक्रमितहरू देखिए पनि उनिहरू चाँडै यस रोगबाट मुक्त हुनेछन् । बरू गरिब देशहरूमा यसको दीर्घकालीन असर पर्ने निश्चित छ । तसर्थ, बिकसित देशहरूले अबिकसित देशका जनताहरूलाई यो माहामारीबाट बचाउन सक्दो सहयोग गर्नु आवश्यक छ ।”
चन्द्रदीप लामिछाने
उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालय
यो पनि पढ्नुहोस् :