पुष्पलालका सम्बधमा थप नयाँ कुराहरु



०७ साउन २०७७, काठमाडौं

पछिल्लो समयावधिमा खासगरी पुष्पलाल स्मृति प्रतिष्ठानले सन् २०१०, जुलाईमा हिस्टोरिकल नोट्स (इतिहास–विषयक टिपोटहरू), २०७० साल साउनमा “नेपाल कम्युनिष्ट पार्टी : दस्तावेज संग्रह (भाग–१)” प्रकाशित गरेको थियो । सँगसँगै जसो २०७१ साल असोजमा “फर्केर हेर्दा” शीर्षकमा विभिन्न कालखण्डमा नेपाल कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ३३ जना पुराना कम्युनिष्टहरूको संस्मरण ग्रन्थ पनि प्रतिष्ठानले प्रकाशित गर्‍यो । ती प्रकाशनहरूले पुष्पलालबारे थप चिन्तन एवं विचार प्रवाहित गर्न सघाएका छन् । फलस्वरूप आजको वस्तुस्थितिबाट तिनताका पुष्पलालका राजनीतिक अवधारणा तथा क्रियाकलापहरूलाई सही ढंगले बुझ्न ती ग्रन्थहरू सहायक हुन्छन् ।

वास्तवमा कर्मशील मानिसको लागि समय नै एकमात्र समुचित निर्णयकर्ता र जीवन नै एकमात्र विश्वविद्यालय हो । यस अर्थमा पुष्पलाल एउटा विशिष्ट पात्र हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा महासचिवको हैसियतले पुष्पलालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए जसलाई सर्वसम्मतिबाट पारित गरियो । अब त्यही प्रतिवेदनको आधारमा उनको “वामपन्थी पथ “चलनवाद” वापत् उनलाई महोत्तरी जिल्लाको बटेश्वर गाउँमा २००८ सालमा हठात आयोजित पोलिटब्युरो बैठकद्वारा महासचिव पदबाट खारेज गरिएको थियो भन्ने जस्ता काल्पनिक “तथ्य” उनका आलोचकले प्रस्तुत गर्दै आएको देखिन्छ ।

अब सन् १९५१–५२ को राजनीतिक दृश्यावली हेरौं । त्यतिबेला अंग्रेजको औपनिवेशिक शासनबाट स्वाधीनता प्राप्त गरेको भारतीय नेतृत्वलाई आम तवरमा र विशेषगरी प्रधानमन्त्री जवाहरलाल नेहरूलाई सोभियत कम्युनिष्ट पार्टीका “सिद्धान्तकार” भनिनेहरू र तिनको प्रभावमा परेका भारतीय कम्युनिष्ट नेतृत्वद्वारा “अंग्रेज – अमेरिकी साम्राज्यवादको लुते कुकुर” भन्ने डाम लगाउँथे । स्वतन्त्र भारतको शासनसत्तालाई सशस्त्र संघर्षद्वारा विस्थापित गर्ने नीतिको वकालत गरिन्थ्यो । सोभियत रूसका सर्वोच्च शासक जोसेफ स्तालिन नै त्यस्तो नीतिका रचयिता भनौं वा कम्युनिष्ट आन्दोलनका विधातासरह कायम थिए । त्यस्तो किसिमको बन्धनकारी बाह्य परिस्थित रहँदासम्म देशको वस्तुगत सामाजिक, आर्थिक र राजनीतिक संरचनाको आधारमा कम्युनिष्ट आन्दोलनको वर्तमान लाइन वा भावी दिशा निर्क्यौल गर्नसक्ने आँट को पो राख्न सक्तथ्यो होला ? आफ्नो राष्ट्रिय विशेषताअनुरूप समाजवादी कार्यक्रम लागू गर्ने युगोस्लाभियाका जोसेफ टिटो पनि “गद्दार” घोषित भइसकेका थिए । उता राष्ट्रिय विशेषता र परिवेशका पक्षधर इटलीका कम्युनिष्ट नेता पालमेरो तोग्लियाती र एनरिको बर्लिनगुएर समूह शंकाको घेरामा परिसकेका थिए । विश्व कम्युनिष्ट आन्दोलनको यस्तो पृष्ठभूमिमा भारतभरि भारतीय कम्युनिष्ट पार्टीका महासचिव बी.टी. रणदिवेको घोर अतिवादको बिगबिगी भएको बेला पुष्पलालसामु चाहेरै भए पनि त्यसबाहेकको अर्को नीतिको सूत्रधार हुनसक्ने सम्भावना थिएन । तर नेपालको मामलामा सर्वाधिक महत्वपूर्ण कुरा के भने पुष्पलालले “धोका” भनेका २००७ सालको क्रान्तिलाई परिपूर्णता दिनका लागि मुलुकमा सशस्त्र संघर्षको वकालत कहीँ पनि गरेको देखिँदैन ।

भारतका एक कम्युनिष्ट नेता मोहित सेनले आफ्नो आत्मकथामा रणदिवेको उग्रताको कारण पार्टीभित्र नै उत्पन्न आतंक र दमनचक्रमा परेका भारतीय कम्युनिष्टहरूको चित्रण गरेका छन् । त्यस्तो अवस्थामा तिनीहरूसँग नेपालको कम्युनिष्ट पार्टीका घरेलु मामलाहरूलाई खोतल्ने र तिनमा विचारधारात्मक हस्तक्षेप गर्नसक्ने स्थिति कहाँ थियो होला र ? पुष्पलाल काठमाडौं उपत्यकाका उत्पादन भएकाले बाहिरी विश्वसित, अर्थात् भारतसित उनको पत्यारपर्दो वैचारिक निष्ठा त्यतिबिघ्न पक्का नभएको भन्ठान्ने कतिपय भारतीय कम्युनिष्ट नेताहरू थिए होलान् । तर नेपाल कम्युनिष्ट पार्टी नेतृत्वमा त्यस्तो घातक परिवर्तन अथवा विदेशबाट उत्प्रेरित “कू” जत्तिकै घट्नाको लागि त्यति नै पर्याप्त कारण हुन सक्तैनथ्यो । अत: पछिपरन्तु भारतीय कम्युनिष्ट नेतृत्वको विश्वास जित्नका लागि तुरूपको अचूक पत्तीको रूपमा त्यसलाई नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वभित्र पुष्पलालविरोधी व्यक्तिहरूले पछिको दृष्टि राखेर गरेको षडयन्त्र ठान्नु पनि त्यति मनासिब ठहर्दैन । व्यक्तिगत मनोकांक्षाको आधारमा मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारी तथा डा. केशरजंग रायमाझीले पनि पुष्पलालसँग पार्टी संस्थापनको विषय र औचित्यलाई लिएर पछिको कालखण्डमा आ–आफ्नो असन्तुष्टि व्यक्त नगरेका होइनन् । तथापि यस घटनाको प्रत्यक्ष लाभ चतुर खेलाडी पोलिटब्युरो सदस्य शैलेन्द्रकुमार उपाध्यायले चाहिँ उठाउन चुकेनन् भन्ठान्नु गलत नठहर्ला । किनभने उपाध्यायसँग भारतीय कम्युनिष्ट आन्दोलनमा भाग लिएको अनुभव र नेताहरूसँग प्रत्यक्ष सम्पर्क पनि थियो । त्यस आधारमा र देशभित्र ने.क.पा.माझ पनि मनमोहन अधिकारीपछिका प्रभावशाली व्यक्ति रहेको आधारमा उपाध्याय पार्टीको सर्वोच्च नेतृत्वको लागि महत्वाकांक्षी हुन सक्तथे । तर तत्काल त्यस्तो पाइला सार्नु उनको आफ्नै पार्टी भविष्यका लागि प्रतिउत्पादक हुने ठानेर नै उपाध्यायले पुष्पलालको विरूद्ध विकल्पको रूपमा मनमोहन अधिकारीलाई उठाएको हुनुपर्छ । चिताउँदै नचिताएको उक्त घटनाले गर्दा देशभित्र पार्टी सदस्यहरू असामञ्जयपूर्ण स्थिति पर्नु स्वाभाविक थियो । तर पनि पार्टी गोप्यता र अनुशासनका कारण “असहमत” हुने परिस्थिति नै थिएन । यस्तो घटनालाई तथाकथित “जनवादी केन्द्रीयता”को नामले उचित ठहर्‍याउने गरिन्थ्यो । पुष्पलाल नै महासचिव भएका बेला डी.पी. अधिकारी र तुलसीलाल अमात्यलाई क्रमश: पार्टीभित्र “पूँजीवादी व्यक्तिहरूलाई घुसाएको” र “पार्टीभित्र दक्षिणपन्थी विचलनवाद” ल्याउन खोजेको आरोपबाट पी.बी. सदस्यताबाट सस्पेण्ड गरिएको थियो । अत: आफ्नो मान्यताअनुकूल पी.बी.को उपर्युक्त निर्णय त्यसपछि बस्ने केन्द्रीय समितिबाट पारित हुने कुरामा निश्चित भएका उपाध्याय पुष्पलालबाट विरोध नहुने कुरामा ढुक्क थिए । त्यतिबेलाको कम्युनिष्ट राजनीतिमा “अन्तरपार्टी संघर्ष”को नाम दिइएको वैचारिक वाद–प्रतिवाद बाहेक अर्को बाटो लिनु सर्वथा पार्टीविरोधी कार्य हुनजान्थ्यो । अहिले पनि विद्यमान पार्टीहरूमा त्यस्तो स्थिति छदैछ । फलस्वरूप केन्द्रीय समितिले र त्यसपछि प्रान्तीय, जिल्ला, नगर तथा टोलस्तरीय नेतृत्व गर्दै पूरै पार्टी समुदायले पी.बी.को अल्पमत एवं घातक निर्णयको समर्थन आँखा चिम्लेर गर्‍यो ।

त्यही बटेश्वर बैठकको दुष्परिणामले गर्दा भविष्यको तथाकथित “रायमाझीवाद”को जग हाल्ने काम भयो जसका प्रमुख सूत्रधार मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय तथा केन्द्रीय समिति सदस्य धनुषचन्द्र गौतम भएको देखिन्छ । अनि त्यही “रायमाझीवाद” पछि गएर गुटमाथि गुटमा विभक्त भएको कम्युनिष्ट समूहहरूलाई एक–अर्काको विरूद्ध तथाकथित “वैचारिक संघर्ष” मा घोर दुरूपयोग हुन थालेको तथ्य त जगजाहेरै छ ।

आफ्नो पदच्यूतिलाई भारतीय कम्युनिष्ट पार्टीमार्फत् आएको मास्कोको अभिमत भन्ठानेर होला पुष्पलालले करैले भएपनि स्वीकार गरेको हुनुपर्दछ । अनि त्यतिबेलाको चलनअनुसार बाह्य हैकमको परिवेशलाई शिरोधार्य गरेर उनी भित्रभित्रै चूप लागेर बसे । कम्तीमा पनि आफ्नो पी.बी. सदस्यता कायमै रहेकोलाई उनले चमत्कार नै ठानेको हुनुपर्दछ किनभने कम्युनिष्ट पार्टी संस्कारमा यस्तो “उदारता” कमै देख्न पाइन्छ । यसै परिणामबाट पनि पुष्पलालको पदच्यूतिमा बाह्य प्रभावभन्दा आन्तरिक प्रपञ्च नै बढी भएको शंका उठ्दछ ।

ने.क.पा.को कायममुकायम महासचिव बनाइएका मनमोहन २०१० सालको माघ महिनामा भएको पहिलो पार्टी महाधिवेशनमा विधिवत महासचिव चुनिए । पुष्पलालले धेरैपछि भने अनुसार मनमोहन “मास लिडर” त होलान् तर उनमा नेतृत्व कौशल र संगठनात्मक क्षमताको विशिष्टता थिएन । अत: उनी धेरै हदसम्म पार्टी संरचनामा उपाध्यायबाट परिचालित थिए । यो स्थिति अन्त्यमा गएर उपाध्यायको लागि सर्वोच्च पद प्राप्ति गर्न अनुकूल हुनसक्तथ्यो । तर उपाध्याय र गौतमले कम्युनिष्ट आचरणलाई छाड्दै गएकाले उनीहरू अनुशासनको कारबाहीमा परे । अन्तत: दुवैले सधैँको लागि पार्टी नै छाडेर गए । यस्तो नभएको भए ने.क.पा. नेतृत्वको हालत कालान्तरमा कस्तो हुन्थ्यो होला त्यसको कल्पना गर्न पनि गाह्रो पर्दछ ।

त्यसपछि मनमोहन पुष्पलालको साथ लाग्दै काठमाडौं जिल्ला नेतृत्वका कार्यकर्ताहरूमाथि धेरैजसो निर्भर हुन थाले । ८–९ सालदेखि २०१३ सालको बैशाख ३ मा पार्टी वैध भएपश्चात चीनको कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन जाउन्जेलसम्म मनमोहनको नेतृत्वमा पार्टीले देशव्यापीरूपमा संगठनात्मक वृद्धि गर्न सकेन । धेरै ठाउँमा पार्टी केन्द्र जिल्लास्तरीय कार्यक्रमले सजीव र सक्रिय रह्यो जसमा उल्लेखनीय भूमिका पार्टी अवैध भएपछि पुष्पलालको अग्रसरतामा खडा भएका जनअधिकार सुरक्षा समितिले खेलेको थियो । प्रसंगवश एउटा कुरा भनी हालौं, देशका साहित्यिक तथा सांस्कृतिक फाँटका उच्च व्यक्तित्वमाझ पार्टीको राजनीति लैजानमा पुष्पलालले निर्वाह गरेका भूमिका उल्लेखनीय छ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव रणदिवेको नेतृत्व कालखण्डमा ठूल्ठूला साहित्यिक – सांस्कृतिक व्यक्तिहरू पार्टी दमनचक्रमा परेर निष्काशित गरिए । यता “अति वामपन्थवाद”का बाहक भन्ने डाम लगाइएका पुष्पलाल आफू नेतृत्वबाट हटाइएकोमा कुनै कुण्ठा नराखीकन अर्कै छविमा निस्कन्छन् । २०१० सालमा किसान संघको काठमाडौं जिल्ला सम्मेलनको अवसरमा उनकै अग्रसरतामा पार्टी कार्यकर्ताहरूले तीन दिनसम्म साहित्यिक कार्यक्रम आयोजना गरे जसमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, केदारमान सिंह ‘व्यथित’, सिद्धिचरण श्रेष्ठ जस्ता कविहरू मात्र होइन विश्वेश्वरप्रसाद कोइराला लगायत धेरै नाम चलेका साहित्यिक व्यक्तित्वको पनि उपस्थिति थियो ।

तर जनअधिकार सुरक्षा समिति जतिसुकै सक्रिय भए पनि पार्टीले अवैध रहनुपरेकोले सोझो जनसम्पर्कमा जान र खुला संगठन कार्य गर्न सक्तैनथ्यो । यसले गर्दा पार्टीको नोक्सानी अतुलनीय नै रह्यो । कायममुकायम महासचिव रहँदा मनमोहन पहिला त किंकर्तव्यविमूढताको कारण डा. के.आई.सिंहको आमन्त्रणमा टङ्कप्रसाद आचार्यसँगै सिंहदरबार जान चुकेका थिए । त्यसपछि के.आई.सिंह फौजी विद्रोहको समर्थनमा उत्तेजनात्मक तरिकाले पार्टी पर्चावाजी र गौरीभक्त प्रधानद्वारा घोर आपत्तिजनक तरिकाले माइक प्रचार गरिएको कारणले मातृका सरकारलाई पार्टीमाथि प्रतिबन्ध लगाउन सजिलो भयो । यस दुष्परिणामका लागि का.मु् महासचिव मनमोहन उत्तरदायी नभइरहन सक्तैनथे । यसप्रकार देशव्यापीरूपमा शक्तिशाली हुँदै आएको ने.क.पा.लाई रोक्न तात्कालीन सरकारलाई सहज भयो ।

सोझो राजनीतिक तरिकाबाट पार्टी नीति जनसाधारणमाझ लैजाने उद्देश्यबाट नेपाल सोशलिष्ट पार्टी खोलियो । त्यसका अध्यक्ष केन्द्रीय समिति सदस्य डा. केशरजंग रायमाझी र महासचिव काठमाडौं जिल्ला पार्टी सचिव अरविन्द रिमाललाई बनाइयो । तर त्यो पार्टी पनि सीमित साधन र दुर्बल संगठनात्मक भरथेगका कारण सक्रिय हुन सकेन । त्यो सहजरूपमा बिलायो । विडम्बनाको कुरा के भने ने.क.पा. नेतृत्वकै सहमतिबाट खोलिएको सोशलिष्ट पार्टीलाई डा. रायमाझीको सत्तालिप्सा तथा ने.क.पा.लाई दक्षिणपन्थी विचलन मार्गमा लैजाने उनको षडयन्त्रको रूपमा निन्दा गरियो जबकि उनी त्यतिबेला पार्टीका का.मु. महासचिव बनेकै थिएनन् । आफ्नो आत्मसंस्मरणमा डा. रायमाझीले सोशलिष्ट पार्टी उनकै अग्रसरतामा खोलिएको भन्नु पनि उत्तिकै भ्रामक कुरा हो ।

यहाँनिर पार्टीमाथिको प्रतिबन्ध फुकाउन तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यसँग औपचारिक वार्ताक्रममा केन्द्रीय समितिका सचिव एवं पोलिटब्युरो सदस्य पुष्पलाल पनि पूरै सहभागी भएको तथ्य उल्लेखनीय छ । सरकारलाई पार्टीको तात्कालिक र भावी अवधारणा औपचारिकरूपमा आउनुपर्ने भन्ने राजा महेन्द्रको जिकिरअनुसार प्रधानमन्त्री आचार्यबाट पार्टी नेतृत्वसँग त्यसप्रकारले पार्टी प्रतिबन्ध फुकाउन सहज हुने विचार आयो । अनि काठमाडौं जिल्ला पार्टी सचिव रहेको यो पंक्तिकारले तत्काल नै “वर्तमान समयमा पार्टीको ध्येय राजतन्त्रको उन्मूलन नभई संवैधानिक राजतन्त्रलाई मान्यता दिनु” हो आदि भनी स्कूले कापीको एउटा पृष्ठमा लेखेको कुरामा महासचिव मनमोहन अधिकारीको हस्ताक्षर भएको थियो । सो दस्तावेज प्रधानमन्त्री आचार्यलाई पुष्पलाल समेतको सहमतिमा हस्तान्तरण गरिएको थियो । २०१३ साल बैशाख ३ गतेकै मिति राखेर “ने.क.पा.का प्रधानमन्त्री (?) का. मनमोहन अधिकारीको प्रेस वक्तव्य” जारी गरियो । त्यसमा निम्नलिखित कुरा लेखिएको थियो, … “समाजवादी समाजलाई स्थापना गर्ने पार्टीको उद्देश्य शान्तिपूर्ण तौरबाट पनि प्राप्त गर्न सकिनेछ भन्ने कुरामा पार्टी आफ्नो विश्वास प्रकट गर्दछ । वर्तमान कालमा पार्टीले राजालाई वैधानिक मुख्य (मुखिया ?) मानी समाजवादी सिद्धान्तलाई जनतामा प्रचार गर्दै लानेछ । पार्टी आजसम्म शान्तिपूर्ण र वैधानिक तौरले अगाडि बढ्दै आएको हो र अब पनि वैधानिक तथा शान्तिपूर्ण तौरले अगाडि बढ्ने छ ।” (स्रोत “नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास”, डा. सुरेन्द्र के.सी.)

यसरी परिष्कृतरूपले प्रकाशित वक्तव्य पार्टी पोलिटब्युरोको तर्फबाट आचार्य सरकारसँग वार्ता गर्न खटिएका पुष्पलाल नगिच रहेका प्रभावशाली केन्द्रीय समिति सदस्य शम्भुराम श्रेष्ठ तथा उत्तर गण्डक प्रान्तीय समितिका सचिव पी.एन. राणा र त्यसमाथि पी.बी. सदस्य पुष्पलालले नै नहेरीकन नै पठाइएको थियो होला त ? तथापि यस घटनालाई लिएर “वस्तुत: पार्टी जीवनभित्र जुन विभाजन प्रक्रिया शुरू भयो त्यसको औपचारिक शुरूबिन्दु यसै घटनालाई मानियो र के भनियो भने पार्टीभित्र दक्षिणपन्थी सुधारवादी विचारको प्रवेश यहींबाट शुरू भयो” भनी डा. के.सी. टिप्पणी गर्दछन् । नेकपा (एकता केन्द्र)का राजनीतिक दस्तावेजहरू” वि.सं. २०४८, पृष्ठ २६ को उल्लेख गर्दै डा. के.सी.ले जुन अवधारणा पुस्तकको १०३ पृष्ठमा व्यक्त गरे त्यसलाई आजभन्दा ६० वर्षअघि स्वयं अविभाजित कम्युनिष्ट पार्टीको नेतृत्वले पार्टीे इतिहासको सम्बन्धमा आफैंले गरेको विकृतिलाई झन विकृत गरिएको मात्र ठान्नु उपयुक्त हुनेछ ।

पार्टीमाथिको प्रतिबन्ध हटेपछि आयोजित केन्द्रीय समितिको बैठकमा पोलिटब्युरोले राजाको सम्बन्धमा दिएको लिखित वक्तव्यको आलोचना गरी बहुमतद्वारा त्यसलाई अस्वीकार गरिएको थियो । पार्टी केन्द्रीय समिति बैठकले वास्तवमा पार्टीमाथिको प्रतिबन्ध फुकाउने एकमात्र प्रयोजन रहेको त्यो वक्तव्य थियो भन्ने तथ्यलाई वेवास्ता गर्दै पार्टीको बृहत बैठक अर्थात प्लेनमले टुङ्गो नलगाउन्जेल निम्नलिखित प्रस्ताव पारित गर्‍यो : “कम्युनिष्ट पार्टी गणतान्त्रिक पार्टी भएकोले राजा र राजतन्त्रको सत्तालाई नमान्नु स्वाभाविक हो । तसर्थ अन्तरिम कालको लागि होस् अथवा अगाडिको निम्ति राजाको अप्रजातान्त्रिक कामकार्बाहीको सिद्धान्तत: विरोध गर्दै जानु र गणतान्त्रिक विचारधाराको प्रचार गर्दै जानुपर्छ । यस कुरामा कम्युनिष्ट पार्टीभित्र कदापि भ्रम छैन ।” (ऐजन पुस्तक पृष्ठ १०४)

“भ्रम छैन” त भनियो तर त्योभन्दा ठूलो भ्रम पार्टी इतिहासमा अरू कुनै भएन । अर्थात्, पार्टी उद्देश्य प्राप्त गर्ने ध्येयमा बेलाबखत कार्यनीतिक दृष्टिबाट व्यावहारिक एवं लचिलो बाटो लिनु आवश्यक मात्र होइन कि अनिवार्य नै ठहर्ने गर्दछ । यस्तो उपयोगितालाई निषेध गरेर केन्द्रीय समिति बैठकबाट जडसूत्री मूढताको भ्रमलाई उचित ठहर्‍याउने चेष्टा भयो । अर्को कुरा लिखित वक्तव्य दिने पार्टी “प्रधानमन्त्री” (?) मनमोहन अधिकारी तथा पार्टीमा दोस्रो उच्च स्थान ओगट्ने पुष्पलाल कसरी “भ्रमरहित” हुन पुगे त्यो बुझ्न सकिने कुरा थिएन । अनि “भ्रमरहित” भएर भ्रमको खेती गर्ने अनि “प्रधानमन्त्री” भन्ने पदले पार्टीको आधिकारिक प्याडमा सम्बोधित महासचिव मनमोहन आफ्नो नीतिको पराजयलाई स्वीकार नगरेर किन महासचिव पद नै ओगटेर बस्न सके वा पाए त्यो अर्को विराट भ्रम थियो । यसबाट अस्वाभाविक प्रक्रियाले पार्टीको सर्वोच्च पद ओगटेका मनमोहनमा आफ्नो अडानमा अड्न नसक्ने आरोपको पुष्टि हुन्छ । डा. के.आई. सिंह फौजीकाण्डको समर्थनवापत महासचिव पद नगुमाएका मनमोहनले बरु २०१३ को जेठमा राजीनामा गरेका भए पार्टी विभाजन पनि हुने थिएन र तथाकथित “रायमाझीवाद”को पनि जन्म नै हुने थिएन जुन “रायमाझी”को भूतले पछिका प्रभावशाली पुष्पकमल दाहाल “प्रचण्ड” लगायत सानाठूला मशाल, मसाल, एकता केन्द्र वा चौथो महाअधिवेशन, माले तथा एमालेका कर्ताधर्तालाई तर्साउन छाडेन ।

२००८ सालमा आफूविरूद्ध भएको “कू” को बदला लिन कदाचित पुष्पलालले मनमोहन वक्तव्यप्रति पूर्ण समर्थन फिर्ता लिई उनीमाथि “सुधारवादी दक्षिणपंथ”को आरोप लगाउनुलाई अस्वाभाविक ठान्न सकिन्न । घोर अस्वाभाविकता त पार्टी “प्रधानमन्त्री” आफैले आफ्नो पक्ष–समर्थन गर्न नसकेर पुष्पलालको पछि लाग्नुको घटनालाई ठान्न सकिन्छ । मनमोहनले त्यस्तो गर्नुमा नै आफ्नो हित साधिने ठाने होलान् । जेहोस्, मनमोहनको एकातिर व्यावहारिक अकौशलता र अर्कोतिर दुस्साहसिकताका कारण पार्टीमाथि लागेको प्रतिबन्ध पाँच वर्षपछि फुक्का भएकोमा पाँच दिन पनि खुशीयाली मनाउन नपाउँदै पार्टी नेतृत्वमाथि “राजावादीता”को आरोप लागेको ग्रहण अन्त्यमा गएर सम्पूर्ण पार्टीकै लागि महाबिघ्नकारी साबित भयो ।

पुष्पलालका निन्दकहरू उनलाई महत्वाकांक्षी, वैचारिक दृढता नभएका र नीति बदलिरहने भनी आरोप लगाउँदछन् । तर सत्य कुरा त ती निन्दकहरू आफैँ सो अवगुणका शिकार भएका पाइन्छन् । बरू यसमा एकमात्र अपवाद डा. रायमाझी देखिन्छन् जसले न का.मु. महासचिव हुनका लागि कुनै महत्वाकांक्षा राखेका थिए, न त एउटा पार्टी समूहको सर्वेसर्वा रहुन्जेल, सही वा गलत जेहोस्, संवैधानिक राजतन्त्रअन्तर्गत शान्तिपूर्ण तबरले समाजवाद प्राप्त गर्ने नीति र व्यवहारको अडिगताका साथ वकालत र पालन गर्न कहिल्यै छाडे । भलै यसका लागि उनले विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्वबाट (?) देशभित्र उनको नीति र देश बाहिरबाट पुष्पलालको गणतन्त्रवादी नीतिको लागि समर्थन प्राप्त भएको र यस प्रकार पुष्पलालसँग उनको समीपता रहेको मिथक रचे । परन्तु ब्रेझनेभ कालखण्डमा अफगानिस्तानमाथि सोभियत रूसको सशस्त्र हस्तक्षेपको समर्थन नगर्नाको कारण आफूले पार्टी नेतृत्व गुमाउनु परेको धारणा राख्ने डा. रायमाझी वास्तवमा पुष्पलालप्रति अरूहरूभन्दा बढी नै सहिष्णुताको भाव राख्दथे ।

पुष्पलालको नीतिगत आलोचना तथा निन्दा गर्ने क्रममा यता आएर “मनमोहन धार” भनिने सैद्धान्तिक परिकल्पनाको पनि प्रयोग गर्ने गरिएको पाइन्छ । नेकपा एमालेभित्रका “स्वस्थ विचारधारा” राख्ने युवा समुदायलाई पार्टी इतिहास बुझ्न सही बाटो देखाउने अभिप्रायबाट त्यस विचारको उठान भएको भनिन्छ । तर वास्तवमा नेकपा आन्दोलनको कुनै पनि कालखण्डमा “मनमोहन धार” भन्ने झिनो अभिव्यक्ति भएको स्मरण यस पंक्तिकारलाई छैन । शैक्षिक डिग्रीधारी भए पनि वैचारिक प्रौढताको कमी देखिने मनमोहन पार्टीभित्र वैचारिक धारका अभियन्ता बनेको कुनै ठाउँ पाइँदैन । माथि बताइएका अनेक संगीन अवस्थामा पार्टी नेतृत्वको सर्वोच्च पद दायित्व निर्वाह गर्न मनमोहन चुके । यति मात्र होइन २०४६ सालको प्रजातन्त्र पुन प्राप्ति आन्दोलनताका र पछिका घटनाहरूबाट पनि मनमोहनको नेतृत्व वा तथाकथित वैचारिक “धार”को धेरै कटु आलोचना भएका छन् । २०५१ साल मंसीरमा एमाले सरकारका प्रधानमन्त्री रहँदा पनि मनमोहनले आफ्नो उच्च पदअनुरूप उल्लेखनीय भूमिका खेलेको पाइएन । उनी विपक्षीलाई तटस्थ, तटस्थलाई समर्थक र समर्थकलाई मित्रवत बनाउने दायित्व पूरा गर्नमा पनि विफल भए । फलस्वरूप स्वयं कम्युनिष्ट समूहहरू आफूप्रति उनको सरकारको अमैत्रीपूर्ण व्यवहार र साना दलहरूलाई थिचोमिचो गर्ने एमाले नेतृत्वको प्रवृत्तिप्रति उनको उदासिनता अथवा मूक समर्थनले गर्दा उनका विरोधी भए ।

अनि सबभन्दा खेदजनक कुरा त के भने २०५६ सालको दोस्रो महानिर्वाचनको निर्णायक घडीअघि उनले एमाले अध्यक्षको हैसियतले पार्टी विभाजनलाई रोक्नमा आफ्नो पूरै शक्ति र सामथ्र्य लगाउनुपर्नेमा बरु उल्टै पार्टी टुक्रिन दिनमा उद्यत रहेको बहुमत पक्षलाई नै अन्धसमर्थन गरे जसका कारण एमाले निश्चितप्राय: चुनावी विजयबाट वंचित भयो । यसप्रकार मनमोहनको नाममा काल्पनिक अथवा मिथक धारको वकालतबाट उसै त ने.क.पा.को इतिहासलाई विकृत ढंगले प्रस्तुत गर्नेगरिएको सिलसिला झनै भ्रमपूर्ण ढंगले चालु रहन जानेछ । साथै युवा कम्युनिष्ट पुस्तामाझ विचारधाराहीन पार्टी गतिविधिहरूमा झनै पाखण्ड मतले टेवा पाउने खतरा रहनेछ । नयाँ पुस्ताका पार्टी कार्यकर्ताहरूमा यो चेत हुनु अत्यन्त जरूरी छ ।

दोस्रो पार्टी महाधिवेशनमा पुष्पलालले “मशाल” साप्ताहिकमा छापिएको आफ्नो लेखको अवधारणालाई बढाएर लगेको अथवा भनुँ “गणतन्त्रवाद”को उरन्ठ्याउलो हाहामा नलागेका भए उनी पार्टी महासचिव निर्वाचित हुने निश्चित थियो । डा. रायमाझी आफैँ पनि त्यति साह्रो यस पदका लागि महत्वाकांक्षी देखिँदैनथे किनभने उनी आफ्नो योग्यता र अवस्था बुझ्दथे । अन्तत: बाल हठरूपी गणतन्त्रवादले उनलाई त्यो ऐतिहासिक अवसरबाट वंचित गर्‍यो र यसरी दोस्रो “रायमाझीवाद”को प्रकरणले मलिलो मलजल पायो । तर यहाँ पनि पुष्पलाल एक विलक्षण अपवाद निस्के । यति साह्रो हानि–नोक्सानी गराउँदा–गराउँदै पनि उनी राजतन्त्रात्मक निरंकुशताको विरूद्ध मुलुकमा प्रजातन्त्रको पुन: प्राप्तिका लागि, प्रजातन्त्रवादी शक्ति र वामपन्थी शक्तिहरूबीच कार्यगत एकताको अभियन्ता, आफ्नै बलबुताले बन्न पुगे । मुलुक आज जुन राजनीतिक एवं कानूनी अन्यौलतामा र दण्डविहीनताको स्थितिमा छ त्यसका लागि पुष्पलाल कदापि जिम्मेवार छैनन् । उनले त प्रजातन्त्रको पुनस्र्थापनापश्चात मुलुकको भावी दिशा कोर्ने, कानूनी शासनव्यवस्थाको जग बसाल्ने ध्येयमा लौहपुरूष गणेशमान सिंहलाई समेत लचिलो बनाउन सके जसका लागि यिनको नाम नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिनेछ । पुष्पलालले त मुलुकप्रति र समाजप्रतिको आफ्नो ऋण चुक्ता गरे । के अरू आमाका लाल यस पंक्तिमा आउँलान् ?

पुष्पलालको शब्दचित्र कोर्दा उनको जीवनको यो पक्षको वर्णन पनि छुटाउनै नहुने देखिन्छ । त्यो हो – राजनीतिक निर्वासनको कठोर संघर्षमय जीवन र अभावग्रस्त अवस्थामा पनि उनको मानवीय संवेदनशीलताका अभिव्यक्ति । यी अभिव्यक्तिहरू उनको तेजस्वी व्यक्तित्व जस्तै गरी उजागर हुने गरेको सम्झना उनका निष्ठावान सहयोगीहरू र उनीसँग भेट्न जाने अन्य मानिसहरू बताउँछन् ।

नेपालको पहिलो प्रजातान्त्रिक कालखण्डमा कहिले राजनीतिक सहकर्मी त कहिले शासक तथा शासितको भूमिका निर्वाह गरेका थिए विश्वेश्वरप्रसाद कोइराला र पुष्पलालले । राजनीतिक दृष्टिबाट यी दुवै एक–अर्काका प्रतिरोधी थिए । समयले यिनीहरूलाई आफ्नो लक्ष्य प्राप्तिका लागि विदेशी भूमिबाट संघर्षको नेतृत्व गर्ने भूमिका खेल्न लगायो । लक्ष्य एउटै भए पनि संघर्षको तौरतरिका फरक–फरक थिए । यी दुवैको कार्यक्षेत्र सम्पूर्ण नेपाल भूमि थियो भने त्यसको केन्द्रबिन्दु एक–अर्काको नगिच थियो । वि.प्र. कोइरालाको हकमा त्यो बिन्दु सारनाथको एउटा घर थियो भने पुष्पलालको हकमा बनारसको दसपुत्र गल्लीको के २९÷३० को नम्बर अंकित घर । तर यसबाट उनीहरूको एक–अर्कोप्रतिको आदर–सम्मानमा कुनै बाधा परेन । बरु आपसमा संवेदनशीलता बढ्यो । आफूकहाँ संघर्षको मार्गदर्शनका लागि वा सहानुभूति प्राप्तिको भाव लिएर आउने प्रत्येक लडाका तथा व्यक्तिलाई पुष्पलाल सारनाथ गएर वि.प्र. कोइरालालाई भेट्न जान भन्न कहिल्यै चुक्दैनथे । उता कोइराला पनि बेलाबखत पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको हेडक्वाटर रहेको माथि बताइएको घरमा उनलाई भेट्न पुग्दथे । अलि उच्चस्तरको बसाइ व्यवस्था भएको घरबाट टड्कारो अभावग्रस्त देखिने घरमा आउँदा पनि कोइराला आफू बढी उन्मुक्त अनुभव गरेको ठान्दथे भन्ने कुरा यो पंक्तिकारले सुनेको हो । किनभने त्यतिबेला उनको तथाकथित सुरक्षाको लागि भनेर खटिएका भारतीय सरकारी गुप्तचरका मानिसहरू ती दुई नेताहरूको आपसी वार्तालाप भएको बेला कोठा बाहिरै बसेका हुन्थे । यो आपसी सद्भाव एवं संवेदनशीलताले यी दुवैको जीवनकालमा मुलुकको राजनीतिलाई कार्यगत एकताको निकट ल्याएको देखिएन तर पनि यो मानवीय सम्बन्धले नेपालमा प्रजातन्त्रको पुन:प्राप्तिको संघर्षमा कहीँ न कहीँ, कुनै न कुनै योगदान पुर्‍याएको तथ्यलाई नकार्न सकिँदैन ।

यता पुष्पलाल स्मृति प्रतिष्ठानले उनका विचारहरूलाई समाजको बृहत भागमा ल्याउने जमर्कोअनुसार केही पुस्तक, संस्मरण तथा पुराना ऐतिहासिक दस्तावेज प्रकाशनमा ल्याएको छ । यो प्रशंसनीय कार्य हो । राष्ट्र र राष्ट्रियताका सम्बन्धमा उनको ऐतिहासिक निबन्ध पनि अहिलेको परिस्थिति र सन्दर्भमा महत्वपूर्ण दस्तावेज ठहर्दछ । यसको बृहत मात्रामा प्रचारप्रसार हुनुपर्‍यो । अनि यस्ता जाज्वल्यमान, निरन्तर आन्दोलनरत रहेका नेताको, एउटा सिङ्गो संस्था सरहको व्यक्तित्वको प्रतिमा जुन कीर्तिपुरको चम्पादेवी टोलमा स्थापित भएको छ, उनका गुणहरूको प्रतिबिम्बित गर्ने अनुरूप हुनुपर्‍यो । वर्तमान प्रतिमाले कसैलाई पनि प्रभावित गर्न तथा प्रेरणा दिन सक्तैन । तसर्थ साधनसम्पन्न पुष्पलाल स्मृति प्रतिष्ठानले अर्को आकर्षक प्रतिमा शीघ्र नै स्थापना हुनुपर्छ भन्नु अत्युक्ति नहोला ।

अन्त्यमा भन्नुपर्दा पुष्पलालका विरुद्ध विभिन्न धारे कम्युनिष्ट गुटहरुले प्रहार गरेका एउटा साझा कथाकथित आक्षेप उनको “अकर्मण्यता” बारेमा थियो । पुष्पलालबाट फुटेर निस्केका माक्र्सवादी मुक्ति मोर्चा होस् वा केन्द्रीय न्युक्लियस, कोअर्डिनेशन केन्द्र, चौथो महाधिवेशन वा त्यसपछिको एकताकेन्द्र होस् सबैले एकै स्वरले यो प्रहाररुपी अलाप गरेको पाइन्छ । कतिसम्म भने यो बाहेक अन्य गुटभित्रका अनेक “सिद्धान्तवादीहरु”ले पनि बेलाबेलामा तिनीहरुलाई साथ दिएको पाइन्छ । तर सबभन्दा आश्चर्यको कुरा त के भने त्यस्तो “अकर्मण्यवादी” पुष्पलाल पञ्चायत शासनप्रणालीको अन्त्यको लागि र प्रजातन्त्रको पुनर्बहालीको लागि नेपाली कांग्रेस तथा वामपन्थी सम्मिलित संयुक्त जनआन्दोलनका सह–अभियन्ता कसरी भए र किन भए भन्ने अत्यन्त महत्वपूर्ण सैद्धान्तिक प्रश्नको उत्तर आजसम्म पनि दिन सकिरहेका छैनन् । वा थाहा भएर पनि बुझ पचाइरहेका छन् । यो इतिहासको घनघोर विकृति हो । वास्तवमा पुस्पलाल त त्यो नदी जस्तैै हुुन् जसबाट उनका सहयात्री, सहयोगी तथा समर्थकहरुले आआफ्नो श्रद्धा, आदररुपी पात्रअनुसार जल झिक्दा कहिल्यै घटेन र जसमा निन्दकहरुले डुंगुरका डुगुर फोेहोरमैला फाल्दा पनि कहिल्यैै प्रदूिषत भएनस वरु आफ्नै प्रवाहलाई एकनासले अविचलरुपमा गन्तव्यसम्म पुर्‍याउन सचेष्ट एवं क्रियाशील रह््यो ।

(गाेविन्द दुलाल नेकपा बागमती प्रदेश सल्लाहकार परिषद्का अध्यक्ष तथा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य–सचिव हुन् ।)

(सन्दर्भ : साउन ७ पुष्पलालकाे ४२ औं स्मृति दिवस)
(श्राेत: इतिहासकार श्री अरविन्द रिमालकाे पुस्तक “डिल्लीबजारकाे लप्टनकाे हाेटेल”)

प्रतिक्रिया दिनुहोस्