धनगढी – डोटीका नेकपाका नेताले कार्यालयमै ईन्जिनियरलाई कुटेका छन् । नेकपा जिल्ला कार्यसमिति सदस्य देव बहादुर खड्काले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियर शंकरराज खनाललाई कार्यालयमै कुटपिट गरेका हुन् ।
बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा दोषी उपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरिएको छ ।
सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको विषयलाई लिएर हातपात भएको हो । उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको इन्जिनियर शंकरराज खनालले बताए । खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेश्की लिएर काम सुरु गरेका थिए।
प्राविधिकले टिप्पणी उठाउँदा त्रुटि हुन गई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिइएको थियो । ‘प्राविधिक त्रृटिका कारण १२ लाख भुक्तानी भएको छ तर काम ६ लाख ७२ हजारको मात्रै भएको छ’ – इन्जिनियर खनालले भने – ‘उपभोक्ता समितिले श्रमदानको ८८ हजार घटाएर ५ लाख ८४ हजार जती भुक्तानी हुनुपर्ने हो त्यसमा ५ लाख ७० हजार पेस्की लिइसकेका कारण २० हजारको आसपासमा मात्रै भुक्तानी पाउनुपर्ने हो, बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि म माथि हातपात गरियो ।’
खड्का सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका छन्। कार्यालयमै हातपात गरेपछि गाउँपालिकाले विज्ञप्ति निकालेको छ।
योजनाका अध्यक्षले भुक्तानी भएको सबै रकम आफूले पाउनुपर्ने र फिर्ता नगर्ने भन्दै गालीगलोजसहित एक्कासी कार्यालयभित्र आक्रमण गरेको इन्जिनियर खनालले बताए ।