नेपाली राजनीतिका ओपन-सेक्रेट ‘प्रचण्ड’



Prachanda

१२ साउन २०७७, काठमाडौं

गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ । ४२ वर्षदेखि नेपालको सक्रिय राजनीतिमा रहेका प्रचण्डले राजनीतिमा आउनुपूर्व झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गर्नुभएको थियो ।

२०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा मार्क्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गर्नुभयो । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित हुनुभयो ।

२०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसंघको अध्यक्ष बन्नुभयो । युवक संघको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उहाँको यात्रा निकै तीब्र गतिमा अघि बढेको पाइन्छ ।

२०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बन्नुभयो । २०४२ मा पार्टी विभाजनपछि उहाँ मोहन वैद्य किरणतिर लाग्नुभयो । २०४८ सालमा नेकपा एकता केन्द्रको महासचिव भएका प्रचण्ड २०५१ मा नेकपा माओवादीको महासचिव र २०५७ मा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

त्यसयता उहाँ नेकपा माओवादी केन्द्रको अध्यक्ष हुनुहुन्छ । २०५२ सालमा सुरु भएको सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्ड राज्यसत्ता पल्टाउन गठन भएको सशस्त्र फौज (जनमुक्ति सेना नेपाल) को सर्वोच्च कमाण्डर पनि बन्नुभयो ।२०६३ साल असार २ गते २५ वर्षको भूमिगत जीवनबाट बालुवाटारमा सार्वजनिक भएका प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्नुभयो ।

यस्तै, प्रचण्ड २०७३ सालको साउनमा नेपाली काँग्रेसको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री हुनुभयो ।

‘जनताको भावना बुझ्ने एक मात्र नेता-प्रचण्ड’
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २००८ मा चीनका तत्कालीन राष्ट्रपति हँ जिन्ताओलाई वेइजिङमा भेट्दाको तस्वीर संचार माध्यमबाट सार्वजनिक भएपछि नेपाल स्थित केही देशका राजदूतहरु बीच चर्चा भएछ- ‘देश गरिव भएपनि नेपालले नेता भने साँच्चिकै धेरै उचाँइको पाएछ ।’ त्यसबेला धेरै राष्ट्रका राजदूतहरुले कमरेड प्रचण्डलाई दक्षिण एसियाकै ‘डाइनामिक’ नेताको रुपमा चित्रण गरेको कुरा कुटनीतिक बृत्तमा चर्चाको बिषय बनेको थियो ।

नेपालमा शान्ति प्रक्रिया सुरु भएपछिका पछिल्ला सात बर्ष र त्यसभन्दा पहिले झण्डै दुई दशक यता नेपालको राजनीति अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको छ । चाहे जनगणतन्त्र स्थापनाका लागि संचालन गरिएको महान् जनयुद्धका योजनाकार र सफल कमाण्डरका रुपमा होस्, चाहे गणतन्त्र स्थापनापछि नयाँ नेपाल निर्माण अभियानका प्रमुख नेताका रुपमा होस् अध्यक्ष प्रचण्डले नै सिंगो देशको नेतृत्व गर्दै आउनु भएको छ ।

देश जब गणतन्त्रमा जाँदै थियो तब यो राजनीतिक एजेन्डाका मुख्य हर्ताकर्ता थिए प्रचण्ड । सायद गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको सपना पनि देखेका थिएनन् होला, केपी शर्मा ओलीले देशमा गणतन्त्रको माग गर्नेहरुलाई ‘बयलगाडा चढेर अमेरिका पुगिदैन’ भनेकै हुन् ।

माधवकुमार नेपाल, झलनाथ खनालदेखि वामदेव गौतमसम्मले राजालाई भाषणमा चेतावनी दिन्थे तर गणतन्त्र चिताएका थिएनन् । यही अवस्थाबीच रणनीतिक चातुर्यताका साथ प्रचण्डले गणतन्त्रको एजेन्डालाई माओवादी ‘जनयुद्ध’ हुँदै राज्यको प्रणालीमै स्थापित गरे ।

देशको इतिहास बदल्ने खेलाडीका रुपमा प्रचण्ड रहे ।  फुटबाट ग्रसित नेपाली कम्युनिष्ट पार्टीको इतिहास बदल्ने चुनौती पनि सामुन्नेमा छ । झण्डै १५ हजार नागरिकको बलिदानी । त्यो भन्दा बढी घाइते र अङ्गभङ्ग भएकाको खबरदारी । यही बलिदानी र खबरदारीको परिचय बनेको माओवादी जनयुद्ध । यी सबै उथलपुथलपूर्ण माओवादी आन्दोलनको लेखाजोखा गर्दा हात लाग्ने उपलब्धी हुन्, संविधानसभा, गणतन्त्र र आजको संघीयता । जसको नेतृत्वकर्ता थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

परिवर्तनका लागि रगतको खोला बगाएपनि प्रचण्ड शान्ति वार्ता रोजेर संसदीय अभ्यासमा आउनुभयो । देशको राजनीतिक व्यवस्था फेर्न ठूलो जोखिम मोलेका प्रचण्डलाई समृद्धिको यात्रामा सँगसँगै हिडाउने तत्कालीन एमाले नेताहरुको चाहना अहिले पूरा भएको छ । तत्कालिन एमालेका नेता विष्णु पौडेल भन्ने गर्दथे ‘कतिपय मान्छे डोरीलाई सर्प ठानेर झुक्किन्छन् नि । त्यही हो प्रचण्डको गतिलाई बुझ्न नसक्नेले गर्ने टिप्पणी यस्तै हो’, ‘प्रचण्ड अस्थिर देखिएपनि त्यस्तो नेता हुनुहुन्न । प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ ।’

नेपालको इतिहासमै आजसम्म भएका परिवर्तन मध्ये गणतन्त्र, संघीयताको घोषणा सबैभन्दा ठूलो अभूतपूर्व परिवर्तन हो । यसैगरी अन्य राजनीतिक शक्ति, राज्य र गैरसरकारी संस्थाले खर्बौ डलर खर्चेर दशकौंसम्म ल्याउन नसकेको अभूतपूर्व सामाजिक चेतना पनि माओवादी जनयुद्धले एक दशकमै ल्याइदियो । राज्यद्वारा पछाडि पारिएका अल्पसंख्यक, दलित, मधेशी, मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायमा राजनीतिक चेतनाको उभार आयो, जुन आन्दोलनको नेतृत्व पनि अध्यक्ष प्रचण्डले गर्नुभयो ।

नेपालमा भएको राजनीतिक परिवर्तनलाई नरुचाउने यो तप्काका केही प्रतिनिधिहरुले यही कात्तिक ५ गते राजधानीमा आयोजित एक कार्यक्रममा एनआरएनको व्यानरमुनी बसेर प्रचण्डलाई १७ हजार नेपाली मारेको आरोप लगाए । त्यहाँ अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीले न्यायका लागि जनयुद्ध लडेको र त्यसक्रममा कुनै अपराध नगरिएको बताउँदै यदि कुनै अपराध भएको ठहर भए त्यसको नैतिक जिम्मा लिन र जस्तोसुकै सजाय भोग्न तयार रहेको भनी दिनुभएको जवाफले उहाँको उचाँईलाई अझै माथि पुर्‍याएको छ भने प्रतिक्रियावादीहरुको मुखुण्डो उतारिएको छ ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको आन्दोलनका बलमा नेपालमा जे जति राजनीतिक उपलब्धी भएको छ, त्यसलाई नयाँ संविधानमार्फत् संस्थागत गर्ने काम बाँकी नै छ ।

नेपालको सन्दर्भमा अध्यक्ष प्रचण्डले यो देशको नेतृत्व सम्हालेमा विगतमा राज्य सत्ताबाट हेपिएका, दबाइएका र शोषणको मारमा पारिएका समुदाय राज्यसत्ताको मालिक बन्नेछन् । यसले विगतदेखि राज्यसत्तामा राइ-दाई गर्ने वर्गको स्वार्थमा ठूलो धक्का लाग्नेछ । त्यसैले समानता र परिवर्तन विरोधीहरु परिवर्तनको यो प्रवाह रोक्नैका लागि अध्यक्ष प्रचण्डको व्यक्तित्व माथि निरन्तर प्रहार गरिरहेका छन, गोयवल्स शैलीमा प्रायोजित प्रचारवाजी गरेर । प्रचण्डको विरोध गर्नका लागि नेपाली मात्रै होइन विदेशी रुपै‌याँको खोलो नै बगाइएको छ, वुर्जुवा वर्गले चलाएका केही मिडियाहरु पित पत्रकारितामा उत्रिएका छन् ।

सशस्त्र द्वन्दकाल वा शान्ति प्रक्रिया जटिल अवस्थामा रहेको समय जुनबेला पहिलो निर्वाचन पनि भाडेर माओवादीलाई पुन युद्धमा फर्काउने षडयन्त्र रचिएका थिए, हो त्यसबेला पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा गरिएका भाषणका पुरानो सन्दर्भका भिडियो टेपका केही अंश अहिले सार्वजनिक गरेर एकीकृत माओवादीको राजनीतिक प्रतिवद्धता माथि भ्रम सृजना गर्ने प्रयत्न भइरहेको छ । यसले के देखाउँछ भने परिवर्तन विरोधी झुण्डको एउटा समूह अझै पनि एकीकृत माओवादी र यसको नेतृत्वलाई कमजोर बनाउने सपनामा छ ।

कतिपय सामन्ती र दलाल वर्गलाई प्रचण्डको नाम सुन्दा टाउको दुख्छ, जुन स्वभाविकै हो तर प्रचण्ड केबल एकीकृत माओवादीको मात्र नभई सिङ्गै देशको निर्विकल्प नेताका रुपमा स्थापित भइसक्नु भएको छ । यसमा विरोधीहरुको टाउको जतिसुकै दुखे पनि अब केही फरक पर्दैन । किनकी एमाओवादीसँग चुनावमा प्रतिस्पर्धा गरेका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेमा न त सही नीति छ, न दूरगामी सोच भएका, देशकै नेतृत्व गर्न सक्ने नेता नै छन् । यसकारण पनि अहिले अध्यक्ष प्रचण्ड देशकै निर्विकल्प नेताका रुपमा स्थापित हुनुभएको छ, जुन तथ्यलाई स्वयम् विरोधीहरुले समेत स्वीकार गरिसकेको अवस्था छ ।

कुशल नेतृत्व भन्ने कुरा सितिमिति पाइदैंन । यो आन्दोलनले जन्माउने हो । यो कसैको चाहनाले हुने कुरा पनि होइन । देशको आवश्यकता र आन्दोलनको विकासबाट अहिले नेपालले प्रचण्डलाई पाएको छ । झण्डै चार दशक लामो आन्दोलनबाट खारिएका प्रचण्ड जस्ता राजनेता पाउनु हामी सबै नेपालीका लागि गर्वको कुरा हो । अव कम्तिमा आगामी दुई दशकका लागि यो देशलाई प्रचण्डको नेतृत्व आवश्यक छ । अहिले हामी सबैले देखिरहेका छौं एमाओवादीका प्रतिस्पर्धी दलका शीर्ष नेतामा देशलाई अगाडी बढाउने कुनै नयाँ नीति, कार्यक्रम र दृटिकोण नै छैन ।

उनीहरु खाली एमाओवादी पार्टी र यसका प्रमुख नेता प्रचण्ड, वावुरामको आलोचना गरेर कुरा सुरु गर्छन् अनि आलोचना गरेरै कुरा टुंग्याउँछन । प्रतिस्पर्धी दलका शीर्ष नेताका काम एकीकृत माओवादीको इर्ष्या, डाहा र आलोचना मात्र भएको छ, अहिले त । उनीहरुसँग आफ्नो मौलिक कुरा भन्ने नै छैन । काँग्रेस–एमालेका शीर्ष नेताको निरीह र लाचारीका कारण उनीहरुको नुन खानेहरु प्रचण्डलाई गाली गरेर वा प्रचण्डको कद घटाएर आफ्ना फुच्चे नेतालाई अग्लो देखाउन कोशिष गरिरहेको देखिन्छ ।

तर कमिलाको सरापले हात्तीलाई कुनै फरक नपारे झैं प्रचण्ड विरोधीका गाली गलौज र आलोचनाको कुनै वास्ता नगरी नयाँ नेपाल निर्माणको अभियानमा लागिरहनु भएको छ । प्रचण्डसँग अन्यदल कति त्रसित छन भने, विघटित संविधान सभामा शासकीय स्वरुपको बहस हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा गइयो भने प्रचण्डसँग प्रतिस्पर्धा गर्नसक्ने व्यक्ति आफ्नो पार्टीमा नभएकाले त्यस्तो शासकीय स्वरुप स्वीकार्न नसकिने भनेर काँग्रेस एमालेका नेताले औपचारिक रुपमै बोलेका थिए । यसले पनि उनीहरुको वास्तविकता स्पष्ट हुन्छ ।

नेपाली राजनीतिको अहिलेको वास्तविकता भनेको अध्यक्ष प्रचण्डको अनिवार्यता हो । अखबारमा लेख लेख्ने बुद्धिजीवी, सेमिनारमा प्रवचन दिने पण्डित, देशको भविष्यको चिन्ता गर्ने युवा, दुखः सुखः जीवनयापन गरेका गाउँले किसान देखि बजारका चिया पसल र गाउँका चौतारीमा भेट भएका सबैले कुरा गर्ने व्यक्ति भनेको प्रचण्ड नै हो । तथ्य यो पनि हो कि उपयुक्त ठाउँमा केवल प्रशंसा मात्र हुँदैन प्रचण्डको आलोचना पनि हुने गरेको छ । देशमा बेथिति बढ्नुमा प्रचण्डको भूमिकाको बिषयमा समेत कतिपयले आरोप लगाउँछन, तर आलोचना गर्ने समूह नै विश्वस्त छ देश बनाउने सामर्थ्य पनि प्रचण्डसँग मात्र छ ।

प्रचण्डको चुनौती
प्रचण्डले पृथ्वीनारायण शाहले स्थापित गरेको एकीकृत राज्य प्रणालीसहितको राजतन्त्रात्मक प्रणालीको मुलुकमा अढाई सय वर्ष पुरानो राजनीतिक प्रणालीको जरो उखेलिदिएका छन् । त्यसैले राजनीतिक रुपमा उनको चुनौती अर्को राजनीतिक प्रणाली ल्याउन सक्ने नेता मात्र हुनसक्छ । व्यक्तिगत राजनीतिमा पनि प्रचण्डका लागि समकालिन नेताहरु कोही पनि छैनन् । केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता नेताहरु प्रधानमन्त्री बन्ने जाने क्रम चलिरहला तर उनीहरु राजनीतिको केन्द्रबिन्दुमा रहन असम्भव प्रायः छ । कि त उनीहरुले प्रचण्डले स्थापित गरेको राजनीतिक एजेन्डा बाहेकका एजेन्डालाई राज्य प्रणालीमा स्थापित गर्न सक्नुपर्छ । जुन तत्काल कठिन देखिन्छ । प्रचण्डका लागि प्रचण्ड आफैमात्र चुनौती हुन् जुन विगतमा उनले चालेका कदम र घटनाले देखाइसकेको छ ।

जोखिम मोल्ने नेता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड जोखिम मोल्ने र आश्चर्यजनक कदम चाल्ने नेताको परिचय बनाउन सफल छन् । माओवादी जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक मूलधार हुँदै नेकपा एमालेसँगको एकीकरणसँग आइपुग्दा उनले लिएको निर्णयले धेरैलाई चकित पार्ने खालको छ ।

यही स्वभावका कारण उनले राजनीतिक छलाङ र धक्का समेत पाउने गरेका छन् । तैपनि, प्रचण्ड एकपछि अर्को जोखिमपूर्ण निर्णय लिदै अगाडि बढिरहेका छन् । यसको पूर्णविरामको अनुमान लगाउँन सायदै कठिन होला ।

फुटबलर रोनाल्डो जस्तै-प्रचण्ड
अध्यक्ष प्रचण्डमा एक राजनेतामा आवश्यक सबै गुण छन् । उहाँ लचक हुने ठाउँमा लचक हुन पनि जान्नुभएको छ र कठोर हुनुपर्ने ठाउँमा कठोर । कहिलेकाँही त उहाँका समर्थकहरुले आवश्यकता भन्दा बढी लचक वा कठोर भएको टिप्पणी गर्छन् । खासमा एक राजनेतामा हुनुपर्ने यो गुण प्रचण्ड वाहेक अरुमा देखिन्न । आफ्ना विरोधी शक्तिलाई पनि आफ्नो प्रस्तावमा सहमत गराउने क्षमता समकालीन नेतामा प्रचण्ड बाहेक अर्को व्यक्तिमा देखिदैन, चुनाव गराउनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन त्यसैको एउटा नमुना हो ।

त्यसैले त पूर्वसभामुख सुवास नेम्वाङ भन्ने गर्दथे –‘नेपाली नेतामा प्रचण्ड फुटबलर रोनाल्डो जस्तै हो ।’ देशको विकासका लागि कठोर निर्णय लिन सक्ने भएकाले प्रचण्डलाई नेपालका ‘मोहथिर मोहम्मद’को रुपमा चित्रण गरेको पाइन्छ । अभावग्रस्त मलेसियालाई मोहथिरले सम्पन्न मलेसिया बनाए जस्तै । लामो समयदेखि अध्यक्ष प्रचण्डसँगै पार्टीमा रहेर राजनीतिक कार्यदिशा र कार्यनीति निर्माणमा सहकार्य गरिरहनु भएका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा‍.बाबुराम भट्टराईले प्रचण्डलाई लेनिनसँग तुलना गर्ने गर्नुभएको छ । लेनिनको जस्तै गुण र नेतृत्व क्षमता भएकै कारण प्रचण्डले एक्काइशौ शताब्दीको कम्युनिष्ट क्रान्तिलाई मौलिक ढंगले अघि बढाउन सक्नुभएको छ ।

यो कुनै प्रशंसा होइन, यथार्थ हो । पाठकहरु नै भन्नुहोस् चुम्बक जस्तो अरुलाई आकर्षण गर्ने गुण र क्षमता प्रचण्ड बाहेकको अन्य कुन नेतामा छ र ? चारदिन पहिले डडेल्धुरा जस्तो जिल्लामा प्रचण्डलाई हेर्न जनसागर नै उर्लियो, त्यति धेरै जनता यसअघि डडेलधुरामा कहिले पनि भेला भएको थिएन । प्रचण्ड डडेलधुरा र कैलाली पुग्दा प्रचण्डले अघि सारेको नीति पन पराएको भन्दै घागडान काँग्रेसी नेताहरु एमाओवादी प्रवेश गरे । अहिले हजारौं राजनीतिक व्यक्ति एमाओवादीमा समाहित भइरहेका छन् । प्रचण्ड नेपालमा एउटै लोकतान्त्रिक कम्युनिष्ट पार्टी बनाउने अभियानमा हुनुहुन्छ । देश भित्रका सच्चा लोकतन्त्रवादी र कम्युनिष्ट क्रान्तिकारीहरु एमाओवादीको झण्डामुनी गोलवन्द भइरहेका छन् ।

व्यक्तित्व क्षमतावारे चर्चित भारतीय प्रत्रकार अरबिन्द रोयले आफ्नो पुष्तकमा प्रचण्डको चर्चा गर्दै लेखेका छन्, राष्ट्रियताका सम्बन्धमा दरिलो अडान राख्न सक्ने समकालीन नेता प्रचण्ड मात्र हो, प्रतिस्पर्धी दलका नेता आफूलाई प्रधानमन्त्री बनाइ देउ भनेर विन्तीपत्र हाल्न गएको समयमा प्रचण्डले चीन, नेपाल र भारत बीच त्रिदेशीय साझेदारीको प्रस्ताव गरे । जुन कुरा अहिलेसम्म कुनैपनि नेताले उठाउने हिम्मत गरेका थिएनन् । प्रचण्ड आफ्नै मौलिक पहिचान भएका राष्ट्रवादी नेता हुन् । पृथ्वी नारायण शाह, विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारी जस्तै बेग्लै र मौलिक पहिचान बोकेको नेपालका नेता । कतिपय सामान्य कमी कमजोरीका बावजुद नेपाली राजनैतिक इतिहासमा चम्किला ताराका रुपमा अध्यक्ष प्रचण्डलाई सबैले स्विकारेको अवस्था छ ।

अबको राजनीतिमा प्रचण्डको निकास : २ विकल्प
यसअघिका बैठकहरु अध्यक्षद्वय बीचको छलफलमा सहमति जुट्न नसकेपछि स्थगित हुँदै आएको थियो । तर भोलिको बैठक स्थगित नहुने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको थियो । सोबारेमा प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा भोलिको बैठक स्थगित नगर्ने निष्कर्ष निस्किएको छ ।

दुई अध्यक्षबीच छलफल भएपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर अहिलेसम्म अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बसाउन इच्छा देखाएका छैनन् । शीर्ष नेताहरुले अन्तिम पटक प्रधानमन्त्री ओलीसँग कुरा गर्ने र बैठक सञ्चालनका लागि नमाने अगाडि बढ्ने सुझाव दिएको खुमलटार स्रोतले जनाएको छ ।

अब प्रचण्डको सामु दुई विकल्पहरु आइपरेको छ, एकल अध्यक्ष लिएर केपी ओलीलाई प्रधानमन्त्री स्वीकार गरि सरकारलाई अघि बढाउने , होइन भने माधव कुमार नेपाल , झलनाथ खनाल, बामदेव गौतम, हाल नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) लाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गरेर शिर्षार्थ नेताहरुसँग मिलेर पार्टीलाई नयाँ मोडमा लैजानुपर्ने । पार्टी/ सरकार र देशलाई नयाँ राजनीतिक निकास दिएर प्रचण्ड अगाडि बढ्नुपर्ने देखिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्