गुल्मीका विस्थापितहरुका लागि नमुना बस्ती बनाइन्छ : गोकर्ण बिष्ट



१५ साउन, २०७७ काठमाडौं । केहीदिन अघि गुल्मीमा बाढी पहिरोले घर बगाउँदा विस्थापित भएकाहरुलाई पूर्व मन्त्री एवं गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज बिष्टले नमुना बस्ती बनाईदिने उद्घोष गरेका छन् । गत असार १८ गते राति ईस्मा गाउँपालिका–१ को तरिखर्क, मल्दी ढाँडाफाँट जुकेपानी, वडा नम्वर ४ को ढाँडा न्वाँला लगायतका स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु हुनका साथै ५ जना घाईते भएका थिए ।

पहिरो गएको क्षेत्र आसपासका दर्जनौं घर जोखिममा परेका छन् भने कयौं परिवार विस्थापित भएका छन् । ‘अहिले विद्यालय र अस्थायी टहरामा बस्नु भएका ईस्माका पहिरो पीडितले निकै कष्ट पाउनु भएको छ, त्यसमा म दुःखी छु,’ सांसद बिष्टले भने, ‘वर्षायाम पछाडि स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट रकम विनियोजन गरि विस्थापितहरुलाई नमुना बस्ती बनाउने काममा मेरो भरपुर पहल रहने छ ।’

विस्थापितहरुले चाहेमा तम्घास सिमलटारी सडक छेउमा बजारीकरण गरेर बस्ती विस्तार गर्न सकिने उनले बताए । ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले हालसम्म १ सय ९५ घरधुरी विस्थापित भएको र त्यति नै घरधुरी उच्च जोखिमा रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्