१७ साउन २०७७, काठमाडौं
लकडाउन र त्यसपछि निरन्तरको सतर्कतामा यति लामो समयसम्म घर भित्र तथा वरपरमात्र सीमित भएका विश्वभरका मानिसहरूले यो बिचमा बिगतलाई धेरै सम्झने मौका पाएका छन् ।
आफूले आफूलाई चिन्न तथा बिगतलाई समिक्षा गर्न फुर्सद पाईएको यो लामो समय कत्तिका लागि इतिहासः सम्झनामा रोमाञ्चकारी बन्न पुगे होलान् त कत्तिका लागि पीडादायी पनि । आखिर जे जस्तो भएपनि बिश्वका धेरै मानिसहरू भने यो संकटको अभिजात्य त्रासको मनोवैज्ञानिक अवस्थाबाट कयौं महिनादेखि गुज्रिरहेको तितो यथार्थ हो ।
आज मानिसहरू एउटा ठूलो डर र संसयमा हरेक दिनहरू काटिरहेका छन् । तर मान्छे बहुआयामिक हुदो रहेछ । सायद, त्यसैले त उसले यो पीडाको समयमा सान्त्वना लिनको लागि इतिहासहरूलाई पनि स्मरण गर्ने एउटा कोशिष गरिरहेको छ । आफ्नै बिगतहरू पनि पटक–पटक सम्झेर दुःखबाट टाढिने प्रयाश गरिरहेको छ ।
फेरि, इतिहास आफ्नो जस्तो र आफ्नोमा मात्र कहा सिमित छ र ? कुनै चिनिएको ब्यक्ति, देश, घटना तथा परिवर्तनका इतिहासहरु पछिल्ला पुस्ताहरूको लागि थप रोमान्चित बन्ने गर्दछन् । यस्ता इतिहासहरूले मानिस तथा समाजलाई बर्तमान र भबिष्यको लागि गतिलो पाठ पनि सिकाएर गएका हुन्छन् । भनिन्छ नि इतिहासको निर्मम समिक्षा गर्नेहरू नै सफलताको शिखर चुम्ने गर्दछन् । सायद, अहिलेका मानिसहरूले यो संकटको घडीमा यस्तै महिमा गान नै सहि अरूका इतिहासहरू पनि पढ्ने कोशिष गरेका छन् पटक–पटक ।
हामी सबै सोचमग्न हुन्छौं, फ्रान्सको राज्य क्रान्ति, बेलायतको गौरवमय क्रान्ति, नेपोलियन बोनापार्टको उदय, हिटलरको क्रुरता, जापानले चीनमाथि गरेको हमला, मोनालिसाको चित्रकारिताको इतिहास, राईट दाजुभाईले त्यसबेला गरेको दुस्साहस आज फेरि पढ्दा वा सम्झना गर्दा एक किसिमको कौतुहलता र उत्तेजना मनमा पैदा हुने गर्दो रहेछ । त्यस्तै, स्वास्थ्य महामारीकै रूपमा पनि देखा परेका स्पेनिस फ्लू, बिफर, क्षयरोग तथा एड्स जस्ता रोगहरुले मानव समुदायलाई धेरै प्रभावित गरेको र जनजीवनमा युगान्तकारी परिवर्तनहरू लिएर आएको इतिहास पनि अत्यन्त पठनीय देखिन्छ । यद्धपी यस्ता इतिहासका रोमाञ्चित र दारूणीक पक्षहरू आ–आफ्नै प्रकारका छन् ।
त्यस्तै, हामीले हाम्रो देशको इतिहास पनि पढ्ने गरेका छौं । धेरै पछाडि देखिको मात्र लिपिवद्ध इतिहास भएको हाम्रो देशको दुई–तीन सय बर्ष अगाडिको इतिहास नै पनि कम रोमाञ्चकारी छैनन् । यिनीहरूले हामीलाई विगतको हाम्रो समग्र अवस्थाको सचित चित्रणहरू प्रस्तुत गर्ने गर्दछन् यद्धपी लिखित रूपमा आईपुग्दा यी इतिहासहरू कत्ति परिवर्तन भए होलान् र पनि ! बिशेष गरि राजा–महाराजाका इतिहासको साँघुरो घेरामा इतिहास बुझेका हामीहरू तिनीहरूकै इतिहासहरूमा पनि बढो कौतुहलता र रोमाञ्चकारिता अनुभव गर्दछौं ।
अहिले आएर बल्ल इतिहास बुझ्न थालेको जस्तो भएका छौं हामी नेपालीहरू । नजाने यो कोरोना महामारीका विविध पक्षहरूलाई कसरी टिपोट गरेर भावी पुस्ताको लागि छाडिदिने हौं यसै भन्न सक्ने अवस्था भने छैन । कुनै ठूलो पाठ सिक्छौं वा सिक्दैनौं ? त्यो पनि आकार लिईनसकेको अवस्थामा छ । तर पनि हामीले यो माहामारीमा इतिहास लेखनका आ–आफ्नै प्रयाश भने जारी राखेकै छौं कहि कतैबाट भएपनि ।
कोभिड–१९ त आजको तथ्य तथा विज्ञान भै नि हाल्यो । केहि महिना देखि संसार नै यसको पछाडी दौडिरहेको छ । हामी पनि यसकै पछाडी सकि नसकि हिड्ने प्रयाश गर्दै रहेका छौं । तर यसका केहि तथ्यांकहरू पनि आज इतिहास भैसकेका छन् । मानिसहरूमा भोगाईकै त्यो स्मरण ताजा रहेकोले र पाठक पनि उही हुँदा यो अहिले नजर अन्दाजमा छ । जब हाम्रा नाती–नातीनीहरू यस धर्तीमा जन्मने छन् र यहाँका विष्मयकारी परिवर्तनहरूको कारणहरू खोज्न थाल्नेछन् तब यो बर्तमान–केहि समय पछि इतिहास हुँदै–उनीहरूको लागि एउटा ठूलो कौतुहलताको इतिहास बन्नेछ ।
स्वास्थ्य विज्ञानमा कोभिड–१९ को समस्या निश्चय नै एक्काइसौँ शताब्दीको यो युगमा एउटा ठूलो चुनौती बनेको छ । बिज्ञान अहिले हायल–कायल छ । मानिसहरू समाधान प्रति संसय गरिरहेका छन् । यदि विज्ञानले यसको उपयुक्त समाधान दिन सकेन भने आम मानिसहरूका मूल्य तथा विश्वासका सिद्धान्तहरू परिवर्तन हुन सक्दछन् । मानिसहरूका सोचहरू बदलिन सक्दछन् ।
हो ! हामीहरूलाई आज सम्भाब्य यस्तै–यस्तै इतिहास भोगाईका वास्तविक पात्रहरू बन्ने अवसर मिलेको छ । एकातिर बिस्तारै पिडा र समस्याले हामीहरूलाई गाँज्दै आईरहेको देखिन्छ भने अर्कोतिर भावी सन्ततिको लागि सुनौलो भविष्य पनि मुस्कुराउँदै गरेको आभास पर क्षितिजमा यदाकदा देखिएजस्तो पनि लाग्छ ।
यो कोभिडले अझै बिश्वभरिमा कत्तिलाई निल्ने हो पत्तो त छैन तर जब कोभिडले हार्नेछ तब मानिसको नयाँ युगको प्रारम्भ भने निश्चयनै हुनेछ, यद्धपी हाम्रो समिपमा यो आईपुग्न लामो समय लागे पनि ।
हामी रहे पनि नरहे पनि मानिसहरू भने त्यसबेला साँच्चिकै प्रफुल्ल हुनेछन् मानिसहरूकै अर्को नौलो, सुगम्य, शौरभ र बलशाली परिभाषा पढेर ।
चन्द्रदीप लामिछाने
उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालय