कोरोना रोक्न लगाइएका प्रतिबन्धले व्यक्तिगत अधिकार हनन भएको भन्दै जर्मनीमा प्रदर्शन



१८ साउन २०७७, एजेन्सी । जर्मनीमा कोरोनाभाइरसको महामारीसँग जुध्न लगाइएका प्रतिबन्धको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन्। अनिवार्य मास्क लगाउनु पर्नेलगायतका प्रतिबन्धले व्यक्तिगत स्वतन्त्रता र अधिकारको हनन भएको भन्दै शनिबार राजधानी बर्लिनमा विरोध प्रदर्शन भएको हो।

आयोजकहरूले त्यस प्रदर्शनमा करिब ५० हजार सामेल हुने बताएका थिए। प्रहरीका अनुसार प्रदर्शन गर्नेहरू करिब १७ हजार मानिस सहभागी थिए। उनीहरूले कालो, सेतो र रातो झन्डा बोकेका थिए।

शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा सहभागी धेरैले मास्क लगाएका थिएनन् बरू मास्क लगाएको तस्बिरमा क्रस कोरेर प्लेकार्ड बनाएका थिए। कोरोनाभाइरसका कारण खोसिएको प्रजातन्त्र फिर्ता ल्याउनु पर्ने उनीहरूको माग थियो।

प्रहरीले आयोजकहरूविरूद्ध स्वच्छता नियमको सम्मान नगरेको भन्दै मुद्दा चलाउने तयारीसमेत गरेको छ। जर्मनीमा कोरोनाभाइरस दोस्रो लहर आउने डर भइरहेको बेला उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले ‘हामी आफैं दोस्रो वेभ हौ ” भन्दै नारा लगाएका थिए।

शनिबारसम्म जर्मनीमा ९ हजार २ सय २६ जनाले ज्यान गुमाइसकेका छन्, भने दुई लाख १० हजार बढीमा संक्रमण देखिसकेको छ। जर्मनी अन्य युरोपेली देशको तुलनामा कोरोनाबाट कम प्रभावित मुलुक हो। तर पछिल्लो समय त्यहाँ दैनिक संक्रमण बढिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्