१९ साउन २०७७, काठमाडौं । पार्टीभित्र उत्पन्न संकट समाधान गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन नसकेको हो ।
‘सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन’ ओली प्रचण्डसँगको वार्तामा सहभागी एक नेताले भने, ‘वार्ताको निरन्तरता मात्रै भयो । अरु केही प्रगति भएन ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।
वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए ।
‘स्थगित स्थायी समिति बैठक सुरु गरौँ र त्यहाँबाट विवादको छिनोफानो गरौँ । साथीहरुको भावना पनि त्यही छ । लामो समय स्थायी कमिटी स्थगित गर्दा कार्यकर्तामा सन्देश राम्रो जाँदैन’, ओलीसँगको वार्तामा प्रचण्डको प्रस्ताव थियो । तर, प्रचण्डको कुरा सुनेपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए ।