सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव



१९ साउन २०७७, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन  सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । ‘पछिल्लो बैठकमा छलफल पनि भएको हो’ एक उच्च अधिकारीले भने, ‘तर यसबारे निर्णय भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।

तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ, भने उपत्यकामा पनि जोखिम थपिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरविजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्