३३ वर्षको उमेरमा पार्टीको महासचिव सम्हाल्नेदेखि मदन भण्डारीसँग फरक मत राख्ने झलनाथ खनालको जीवनगाथा



१९ साउन २०७७, काठमाडौं

प्रकृतिको मनोरम सुन्दरता र नेपाली चिया उत्पादनमा प्रख्यात जिल्ला ईलाममा आमा मधुमाता खनाल र बुवा पुङ्गनाथ खनालका १३ सन्तानमध्ये सातौँ सन्तानको रुपमा झलनाथ खनालको जन्म २००६ चैत्र ६ गते भएको हो ।

३३ वर्षको युवाअवस्थामा तत्कालिन नेकपा (माले)को महासचिव बन्नुभएका खनालले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । युवा जोशमा पार्टी महासचिवको जिम्मेवारीमा रहँदा खनालले देशैभरि नेकपा मालेको सँगठन विस्तार गरी देशको शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन सफल भएपछि नेता खनालले २०४७ सालको अन्तरिम मन्त्रीमण्डलमा कृषि, वन, तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भयो।  २०४८ सालको संसदीय निर्वाचनदेखि निरन्तर ईलामबाट प्रतिनिधि सभामा निर्वाचित खनालले २०५३ सालमा सूचना तथा संचारमन्त्री र २०६७ माघ २० देखि नेपालको ३५ औँ प्रधानमन्त्रीको रुपमा देशको बागडोर सम्हाल्नुभयो। तत्कालिन नेकपा एमालेको अध्यक्ष हुँदै पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरिष्ठ नेता तथा सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभएका नेता खनालसँग परिवर्तन खबर र एशिया प्यासेफिक डेलीको संयुक्त प्रयासमा जीवनका विविध पाटाहरू समेटेर गरिएको कुराकानीको सारसंक्षेप जीवनगाथा :

बाल्यकाल र औपचारिक शिक्षा
२००६ चैत्र ६ गते ईलाम जिल्लाको साखेजुङ्ग–४ मा जन्मनु भएका खनाल बाल्यकालदेखि नै जिज्ञासु बालकको रुपमा चिनिनुहुन्थ्यो । आम ग्रामिण बालबालिका जस्तै ग्रामिण भू–भागमा हुर्किनुभएका खनाल विद्यालयको प्राथमिक तहदेखि नै अब्बल विद्यार्थी हुनुहुन्थ्यो। आफ्नो बाल्यकालको स्मरण गर्दै खनालले भन्नुभयो, “विद्यालय पढ्दा म सधैँ प्रथम हुन्थे । नेपालको दुई छिमेकी मुलुक चीन र भारत बारेमा जान्ने जिज्ञासा सानैदेखि थियो । माध्यमिक तहमा अध्ययन गर्दै गर्दा संखुवासभाको साथीले चीनबारे जान्न चीन सचित्र साप्ताहिक ग्राहक बन्ने प्रस्ताव गर्नु भयो । मैले कक्षा ८ मै पढ्दा सो पत्रिकाको ग्राहक बनी पढ्न थालेको हुँ । हिन्दी भाषामा छापिने पत्रिकामा प्राचीन चीन र नयाँ चीनका सबैजसो घटना, विभिन्न किसिमका नक्साहरु साथै त्यहाँको जीवनशैली र समाजवादी विकासबारे ठूला–ठूला तस्वीरहरु र आलेखहरु छापिने हुनाले पत्रिका पढ्न निकै आनन्द आउँथ्यो ।”

८ कक्षा पढ्दादेखि चीनबारे बुझ्न थाल्नुभएका खनाल बाल्यकालमै २०२० देखि कम्युनिष्ट चिन्तनप्रति आकर्षित हुनुभयो । २०२३ सालमा एसएलसी पास गरेर साइन्स पढ्न काठमाडौँ आउँदा त्रिचन्द्र र अमृत साइन्स कलेजमा सिट प्याक भएको कारण आफू लगायत सयौँ विद्यार्थीहरुले पढ्न नपाएपछि पढ्ने सीट बढाउन आन्दोलन गर्नुभएका खनाल भन्नुहुन्छ, “करिब १५ दिन आन्दोलन गरेपछि त्रिचन्द्र कलेजले करिब ३०० सिट थप्न बाध्य भयो । त्यसपछि म लगायत अरु ३०० जति साथीहरुले पढ्ने अवसर प्राप्त गर्‍यौं ।”

इन्जिनियर बन्ने सपना सहित साइन्स पढ्न काठमाडौँ आउनुभएका खनाल पूर्णकालीन राजनीतिमा कसरी लाग्नुभयो भन्ने प्रश्नमा, “म ईन्जिनियर पढ्न भनेर त्रिचन्द्र कलेजमा भर्ना भएको थिए । आईएस्सी पहिलो वर्षको परीक्षा एकदम राम्रो भएको थियो । दोश्रो वर्षको परीक्षा संचालन भएको तेश्रो दिन केही विद्यार्थीले कोर्ष बाहिरको प्रश्न सोधिएको भन्दै प्रश्न पत्र र उत्तर पुस्तिका च्याते हुँदाहुँदै त्यसले हड्तालको रुप लियो । दिईरहेको परीक्षाको एउटा विषयमा के गर्ने भन्ने टुंगो नलागेकोले बाँकी पेपरको समेत परीक्षा नदिई  हडताललाई जारी राख्न बाध्य हुनुपयर्‍यो । ३ दिन सम्म हड्ताल जारी रहेकोले  त्रिचन्द्र परीक्षा केन्द्रका सबै परीक्षा रद्द गरियो ।

त्यसले गर्दा हामीले विद्यार्थी आन्दोलन नै शुरु गर्न बाध्य हुनुपर्यो । १३ दिन सम्म हड्ताल जारी रहेपछि राजा महेन्द्रको हुकुमी आदेशले पुन: परीक्षा त भयो तर परीक्षामा सहभागी ४२९ परीक्षार्थी मध्ये अधिकांशलाई फेल गरियो । म लगायत ४/५ जनालाई मात्र अति कम नम्बर दिएर पास गराईयो । त्यसबेला हाम्रो योग्यतालाई रेटियो । लेखाई अनुसार प्रथम श्रेणी ल्याउनुपर्ने मलाई पास मात्र बनाएकोले  म भित्र तत्कालिन शिक्षा पद्धति र राजनीतिक व्यवस्था प्रति नै वितृष्णा जगायो । पढ्न आन्दोलन गर्नुपर्ने, परीक्षा दिन पाउँ भनेर आन्दोलन गर्नुपर्ने र लेखाई अनुसारको नम्बर पनि नपाउने स्थिति भएपछि यसरी जनताको सपनालाई रेट्ने व्यवस्था नसिध्याएसम्म विश्राम नलिने घोषणा आफैसँग गरेर राजनीतिक यात्रामा अगाडि बढेको–खनालले बताउनुभयो ।”

त्यो बेला नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न गुट उपगुटमा विभाजित थियो । कम्युनिष्ट आन्दोलनबारे बुझ्न विभिन्न नेताहरुसँग कुराकानि गर्ने शिलसिलामा तत्कालिन कुनै नेताहरुबाट पनि मूलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्ने देख्नु भएन । राजधानीमा कम्युनिष्ट आन्दोलनको अवस्था बुझेपछि काठमाडौँ छोडेर पश्चिम नेपाल जानुभएका खनाललाई अन्तर्राष्ट्रिय रुपमा घटिरहेका चिनियाँ साँस्कृतिक क्रान्ति र भारतीय नक्सलवादी आन्दोलनको प्रभाव पनि परेको थियो ।

साईन्स शिक्षकको रुपमा कम्युनिष्ट पार्टी विस्तारमा
२०२१ देखि विद्यार्थीको हक, हित र अधिकारको लागि आन्दोलनमा सक्रिय खनाल २०२३–२०२४मा मेची विद्यार्थी युनियनको अध्यक्षको रुपमा छानिनु भयो। २०२५ सालमा अनेरास्ववियुको तेश्रो राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रुपमा सहभागी हुनुभएका खनाल आईएस्सी पुरा गरेपछि २०२६ साल पछि पश्चिम नेपालमा कम्युनिष्ट आन्दोलनको स्थिति बुझ्ने सिलसिलामा बाग्लुङ जिल्लाको गल्कोट माध्यमिक विद्यालयमा विज्ञान पढाउन थाल्नुभयो । विद्यालय पढाउन थालेको केहि समयमै विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन गठन गर्नुभयो र शिक्षकहरुलाई पनि सँगठित गर्न थाल्नुभयो ।

शिक्षक र विद्यार्थीको पक्षमा काम गर्नुको साथसाथै उनीहरु समेत  कम्युनिष्ट पार्टीप्रति प्रेरित भएको बताउने खनालले ग्रामिण क्षेत्रका किसानहरुको समस्या समाधानमा भूमिका खेलेपछि स्थानीय जनताहरु समेत कम्युनिष्ट पार्टीप्रति आकर्षित भएको बताउनुभयो। कम्युनिष्ट पार्टी विस्तारमा योगदान पुर्‍याउनु भएका खनालले त्यस बेलासम्म पार्टी सदस्यता भने लिनुभएको थिएन। कम्युनिष्ट पार्टीनै विभिन्न गुट उपगुटमा विभाजित रहेकोले कुन गुटको सदस्यता लिने भन्ने समस्या थियो । तर केही समय पछि बाग्लुङ जिल्ला कमिटीका तत्कालिन सदस्य मथुरा प्रसाद श्रेष्ठले धेरै आग्रह गरेपछि गुप्त रुपले २०२६ सालमा एकिकृत कम्युनिष्ट पार्टीमा संलग्न हुने शर्तमा पार्टी नेताबाट मौखिक रुपमा ‘पार्टीको लागि जे पनि गर्ने’ सपथ खाई कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो।

पञ्चायती शासकका दमन र उत्पिडनका विरुद्धमा बोल्ने खनाललाई प्रशासनले कडा निगरानी राख्न थाल्यो र उहाँलाई पक्राउ गर्न बारम्बार प्रयत्न गर्न थाल्यो । त्यसबेलाको परिस्थिति बारे खनाल भन्नुहुन्छ, “जनताका सबै हक र अधिकार खोसिएको थियो बोल्ने र लेख्ने हक मात्र पनि थिएन । तर ति हकहरु प्राप्त गर्नका निम्ति हामी जो प्रयत्न गरिरहेका थियौं उनीहरुलाई पक्राउ गर्न, विभिन्न ढंगले झोस पोल गर्न गाउँका सामन्त र जालि फटाहाहरु हाम्रा विरुद्ध क्रियासिल थिए । प्रशासन तिनै तत्वहरुका कुरा सुनेर दमन चक्रमा उत्रिएको थियो ।”

२०२६ सालमा म र चित्र बहादुर केसीलाई पक्राउ गर्नेकुरा थाहापाएछि हामी दुबै भूमिगत भयौ । गलकोटका विभिन्न गाउँमा किसानका बीचमा जनजागरण ल्याउदै हामीले तीन महिना पार गर्यौ । त्यसै बिचमा राष्ट्रिय राजनीति बुझ्न र सिनियर नेतासँग सल्लाह गर्नका निम्ति चित्रबहादुरलाई काठमाडौं पठाईयो । उहाँले तत्काल भुमिगत  नहुने बरु खुला भएर काम गर्ने सुझाव लिएर आएपछि मैले खुला भएर निस्कने र पक्राउ परेको खण्डमा जेलमा जाने निर्णय गरे । जेलको अनुभब लिनु पनि जरुरी थियो । त्यहि निर्णय अनूरुप म खुला भएर आफ्नो डेरामा राति सुते र भोलीपल्ट बिहान उठ्दा शसस्त्र प्रहरीले घर घेरा हालेको रहेछ ।”

जेल जीवनको पहिलो यात्रा
तत्कालिन अवस्था बारे नेता खनाल भन्नुहुन्छ, “तत्कालिन अञ्चलाधिशको आदेशले पुलिस मलाई पक्राउ गर्न आएको थियो । त्यो बेला पुलिस भनेपछि मान्छेहरु आतंकित हुन्थे । मैले गाउँलेका अगाडि पुलिस इन्स्पेक्टरलाई तार्किक प्रतिवाद गरेँ । झिसमिसेमा आएका पुलिसलाई विभिन्न बहानामा म भुल्याई रहेको हुन्थेँ । मेरो चाहना विद्यालयमा गएर शिक्षक, विद्यार्थीका अगाडि मैले राम्रो गर्दा गर्दै पञ्चायती शाषकले पक्रेर लग्यो भन्ने सन्देश दिनु थियो ।

म पूर्ण रुपमा योजनावद्ध थिएँ । मैले इन्स्पेक्टर सँग कुरा गर्दा गदै वरिपरिबाट धेरै गाउँले जनता भेला भएका थिए । उनीहरुका बिचमा छलफल गरेपछि १० बज्न लागेको थियो । अब विद्यालय खुल्यो भन्ने बुझेपछि मेरो स्कूलको बाटो हुँदै जाने शर्तमा म जेल जान तयार भएँ। पुलिस कसैले नदेख्ने गरी जंगलको बाटो लाने तयारीमा थियो ।त्यहि योजना अनुरुप पुलिसले मलाई जबरजस्ती जंगलको बाटो हिडायो । त्यहि बाटो अलि माथि पुगेपछि चिया पसल थियो । मैले त्यहाँ चिया पिएर जान अनुरोध गरे पुलिसहरु पनि सहमत भए । हामीले चिया पिउँदै गर्दा करिब ५०० भन्दा बढी गाउँले र विद्यार्थीहरुले चारैतिर घेरा हालेर जम्मा भैहाले ।

मेरो योजना अनुरुप आएका गाउँले र विद्यार्थीको भिड देखेपछि पुलिस डरायो । अनि मैले पुलिसलाई स्कूलको बाटो जाउँ म विद्यार्थी र साथीहरुसँग विदा मागेर तपाईसँगै जान्छु भनेपछि पुलिस बाध्य भएर निकै हिडिसकेको बाटो फर्किएर मैले पढाउने विद्यालयको बाटो जान बाध्य भयो । स्कूलमा मेरा पक्षमा शिक्षक र विद्यार्थीहरु थिए । त्यहाँ एक किसिमको  ठुलो सभा नै भयो । विद्यार्थी र वरीपरिका अभिभावक किसानहरुले चर्को नाराबाजी गरे । शिक्षकहरुले समेत दवाब दिए।

मेरो उद्देश्य गाउँले, शिक्षक र विद्यार्थीमा राजनीतिक जागरण ल्याउनु थियो । मैले त्यहाँ सार्वजनिक रुपमा पञ्चायतको विरुद्धमा भाषण गरे । भाषण र छलफलपछि म विद्यार्थी र शिक्षकलाई सम्झाएर पुलिसको साथ लागेरै जेल गएँ । मलाई बाग्लुङको जेलमा ८ महिना राखेपछि अञ्चलाधिशले बाग्लुङ जिल्ला फर्कन नपाउने सर्तमा रिहा गर्‍यो ।”

जेलजीवन पछि आफ्नै गृह जिल्लाको पार्टी काममा
राष्ट्रिय रुपमा पञ्चायती व्यवस्थाले ब्यापक धरपकड गरेको र  तत्कालिन अन्तर्राष्ट्रिय घटनाक्रमले गर्दा  पनि मुलुक आन्दोलनको अवस्थामा पुगेको थियो । खनाल थप्नुहुन्छ, “मलाई कम्युनिष्ट पार्टी सँगठन गरेको आरोपमा मुद्दा लगाईएको थियो । जेलबाट छुटेपछि बाग्लुङको शिक्षण पेशाबाट निष्कासन गर्दै जिल्ला छोड्ने र आफ्नै जिल्लामा गएर प्रशासनमा हाजिर हुँने उर्दी जारी गरेको थियो । ईलाम पुग्ने वित्तिकै प्रगतिशिल साथीहरुको पंक्ति निर्माण गर्ने कुरामा लागि हाले । त्यो पंक्तिका ५ जना अगुवा कमरेडलाई लिएर मैले २०२७ सालको अन्त्यमा ईलाम जिल्ला कमिटि गठन गरे । त्यसपछि जिल्लामा पार्टी सँगठन विस्तार गर्ने र श्रमिकहरुको, युवा विद्यार्थीहरुको, किसानहरु र महिलाको जनसङ्गठन निर्माण गर्न सक्रियतापूर्वक लागेँ । यही क्रममा झापा संघर्ष उठ्यो र त्यसले नराम्रो धक्का खायो । प्रतिक्रियावादी दमन तिब्र भयो त्यसले गर्दा २०२९ सालमा भानुभक्त माध्यमिक विद्यालय मंगलबारेमा पढाउदै भित्री रुपबाट कार्य गर्न थालेँ ।

यद्धपी मेरा गतिविधि तत्कालिन व्यवस्थाले सहन सक्ने खालका थिएनन् । मैले त्यो स्कूलमा पढाउन थालेपछि त्यहाँ पनि छोटो समयमा स्वतन्त्र विद्यार्थी युनियन बन्यो । विद्यार्थीमा नयाँ जागरण शुरु भयो । त्यहाको ग्रामिण जीवनमा पनि नवजागरण आउन शुरु गर्‍यो । त्यही शिलसिलामा त्यस स्कूलका विद्यार्थीहरुले आफ्ना मागहरु लिएर आम हड्ताल शुरु गरे । त्यो घटनाको लगत्तै मलाई जिल्ला प्रशासनले पक्राउ गरेर १४ महिना ईलाम जेलमा राख्यो । त्यसपछि जेलबाट मलाई रिहा त गरियो तर ईलाम सदरमुकाममा यरिया बन्दि गरेर बस्ने गरि छोड्यो । म यरिया बन्दीमा निकै समय बसेपछि त्यसबाट पनि मुक्त गरियो । त्यसपछि कोअडिनेशन केन्द्र निर्माण गर्नका निम्ती म अन्य जिल्लाका साथीहरुसँग सम्पर्क गर्दै थिए । तर त्यसैबेला २०३१ सालमा राजा विरेन्द्रको राज्यभिषेकको समय पारेर शान्ति सुरक्षा अन्तर्गत पक्रेर मलाई फेरी ६ महिना जेल हालियो । त्यसपछि जेलबाट छुटेकै दिनबाट म पुर्ण रुपमा भूमिगत भए । त्यसपछि २०३२ साल जेठ २५ गते देशभरिका सम्पुर्ण कम्युनिष्ठलाई एकताबद्ध बनाउन भएको राष्ट्रिय भेलाले विराटनगरमा अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको गठन गरियो । नवगठित को–अर्डिनेशन केन्द्र मालेको केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।

जेलमा हुँदा आफूले लेखेको कविता वाचन गर्दै नेता खनाल :

नयाँ को–अर्डिनेशन केन्द्रले सहि बैचारिक र राजनीतिक कार्यदिशाको निर्माण गर्ने, पार्टीलाई आधारभूत जनताका बीचमा लाने, भूमिगत पार्टी सँगठन विस्तार गर्ने, सबै कम्युनिष्ट क्रान्तिकारीहरुसँगको सम्बन्धलाई विस्तार गर्ने र एकिकृत पार्टी निर्माण गर्ने उदेश्य राखेको थियो ।

त्यतिबेला मोहन विक्रमको नेतृत्वमा रहेको नेकपा चौथो सबैभन्दा ठुलो कम्युनिष्ट सँगठन  थियो । तर हामीले नयाँ ढंगले बनाएको को–अर्डिनेशन केन्द्रले सबैलाई आकर्षित गर्‍यो ।

हाम्रो केन्द्र प्रति विभिन्न कम्युनिष्ट घटकका साथीहरु समेत आकर्षित हुन थालेपछि हामीलाई सँगठन विस्तारमा निकै सहज भयो । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी विभिन्न गुट उपगुटमा विभाजित थियो । हाम्रो अभियानले नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत हुन थाल्यो । स्थापना पछि तत्कालिन को–अर्डिनेशन केन्द्रका सचिव लगायतका साथीहरु गिरफ्तार भएपछि २०३३ सालमा म को–अर्डिनेशन केन्द्रको सचिव भएको थिए । तर त्यसको केही समयपछि मलाई २०३३ भदौ देखि गिरफ्तार गरी २०३६ सम्म राजद्रोह ऐन अन्तर्गत झापा जेलमा हालियो ।

को–अर्डिनेशन केन्द्रले देशभर सँगठन विस्तार गर्‍यो । हामी जेलभित्रका साथीहरु सँगपनि विभिन्न प्राविधिक तरिका मार्फत बाहिरका साथीहरुसँग जीवन्त सम्र्पकमा थियौं । सबैको सल्लाह बमोजिम को–अर्डिनेशन केन्द्रको राष्ट्रिय सम्मेलन गरी २०३५ सालमा हामी जेलमै भएको समयमा नेकपा (माले) गठन भयो ।

प्रजातन्त्रको लागि शुरु भएको जन–आन्दोलनले गर्दा राजा विरेन्द्रले २०३६ सालमा जनमत संग्रहको घोषणा गरे र राजबन्दीहरुलाई आममाफी दिने घोषणा गरे । त्यहि घोषणा अनुरुप बिना शर्त २०३७ बैशाख १ गते सरकार हामीलाई छोड्न बाध्य भयो । जेलबाट छुटेपछि २०३७ सालमै म पार्टीको केन्द्रीय कमिटीमा ल्याईएँ । त्यसपछि पार्टीले मलाई भारत प्रवासमा खटाएर प्रवासी नेपालीलाई सँगठित गर्ने कामको जिम्मा दियो ।” त्यही कालमा मैले अखिल भारत प्रबासी नेपालीसंघको निर्माण गरेँ । प्रवासी नेपाली स्वतन्त्र विद्यार्थी युनियनको निर्माण गरे । र भारतमा रहेका प्रवासी श्रमिक र विद्यार्थीलाई सँगठित गर्ने व्यापक अभियान चलाएँ ।”

प्रवासको २ वर्षे अनुभवपछि राष्ट्रिय नेतृत्वमा छलाङ
भारतमा बसी २ बर्ष पार्टी काम गरेर नेपाल फर्कनुभएका झलनाथ खनालले त्यसपछि काठमाडौँ उपत्यकाको पार्टी नेतृत्व गर्ने अवसर पाउनुभयो । त्यो बेलाको अनुभव सुनाउँदै खनाल भन्नुहुन्छ, “नेपाल फर्किएपछी काठमाडौँ उपत्यका पार्टी कमिटीका प्रमुख भएर मैले काम गरे । त्यतिबेला हाम्रो भूमिगत पार्टीको पार्टी हेटक्वाटर उपत्यकामै थियो । पार्टी महासचिव क. सिपी मैनालीसँग निकट रहेर मैले उपत्यकाको कामलाई तिब्रता दिए । त्यहि काल खण्डमा पार्टी भित्र विभिन्न बैचारीक राजनीतिक सवालहरुमा गम्भिर बहसहरु सुरु भएका थिए । नेपाली समाजको प्रधान अन्तर विरोधबारे,राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता भन्ने बारे, मुख्यशत्रुबारे, पार्टीका आम र ठोस कार्यक्रम बारे, पार्टीको आम कार्यदिसा बारे, जनआन्दोलन र जनसङ्गठनको भूमिका बारे, पार्टीको मार्गदर्शक सिद्धान्त बारे, अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन बारे, समाजवादी मूलुकलाई हेर्ने दृष्टिकोण बारे, विश्वको प्रधान अन्तरविरोध बारे र चीनमा क. देङ शियाओ पिङ आएपछि प्रतिक्रान्ति भयो भन्ने बारे, गम्भिर बहसहरु थिए ।

उपयुक्त बहसहरुलाई सहिढंगले संचलन गर्ने र निश्कर्श निकाल्ने कुराहरुमा तत्कालिन महासचिव सिपी मैनालीले पार्टीलाई नेतृत्व गर्न सकिरहनुभएको थिएन । त्यसले गर्दा महासचिव परिवर्तनको कुरा जवरजस्त रुपमा केन्दीय कमिटिमा उठ्यो । २०३९ सालको भदौमा सबै साथीहरुले मलाई प्रस्ताव गरेपछि सिराहामा गरिएको केन्दीय कमिटिको ७ औँ बैठकले मलाई पार्टी महासचिवको जिम्मेवारी सुम्पियो ।”

२५३ रुपैयाँमा जनवादी विवाह
पार्टी महासचिव भएकै वर्ष २०३९ सालमा विवाह गर्नुभएका खनालले आफैंले प्रस्ताव गरेर तत्कालीन काठमाण्डौ जिल्ला कमिटी सदस्य रबि लक्ष्मी चित्रकारसँग जनवादी विवाह गर्नुभयो । विवाहको बारेमा सोधिएको प्रश्नमा खनाल भन्नुहुन्छ, “त्यस कालखण्डमा भूमिगत भएका महिलाहरुको ठूलो समुह थियो । उहाँहरुको राम्रोसँग व्यवस्थापन गराइदिने कुरा थियो । त्यहिबेला अविवाहित नेताले पनि विवाह गर्ने कुरा भयो । त्यहिबेला मैले रबि लक्ष्मीजीसँग भेटे र उहाँको काम देखेर प्रभावित भए । विवाहको प्रस्ताव मैले नै राखेको थिए । केहीदिन पछि उहाँले प्रस्ताव स्वीकार्नु भयो । त्यसपछि २५३ रुपैयाँमा भूमीगत रुपले मेरो विवाह सम्पन्न भएको थियो ।

मैले जनवादी विवाह गरेको थिए । सिन्दुर पोते भने गरिएको थिएन । मैले माला मात्र लगाइदिएको थिए । हामीले विवाह गर्दा भूमिगत रहेका महिलालाई पनि निकै सहज भएको थियो । २०४२ सालमा छोरा निर्भिक चित्रकार खनालको जन्म भयो ।”

३३ वर्षको युवा अवस्थामा देशकै शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा मालेको महासचिव हुनुभएका खनालले पार्टीमा रहेका अनेकौं बैचारिक र शैदान्तिक अन्तरविरोधहरु आफ्नै नेतृत्वमा समाधान गर्नुभयो । युवा अवस्थाको पार्टी नीतिबारे खनाल भन्नुहुन्छ, “पञ्चायती चुनावलाई उपयोग गर्न कार्यनिती पनि मैले तयार पारेको थिए । त्यसको प्रतिफल स्वरुप राष्ट्रिय पञ्चायतमा ८ जना साथीहरुलाई जिताएर पठाउन सफल भयौँ र स्थानीय तहमा १२ हजार जनपक्षिय प्रतिनिधिहरु जिताएर पठाउन सफल भयौ । भूमिगत पार्टीको समर्थनमा निर्वाचित जनपक्षीय सांसदहरुले राष्ट्रिय पञ्चायतमा र अन्य प्रतिनिधिले स्थानीय तहमा जनताको आवाज उठाएर तत्कालीन व्यवस्थालाई ठूलो धक्का दिने भूमिका निर्वाह गरेका थिए ।”

२०३२ सालदेखि पार्टीको केन्द्रिय नेतृत्वमा रहनुभएका खनाल २०३९ देखि २०४६ सालसम्म पार्टी महासचिवको जिम्मेवारीमा रहनुभयो । कठोर भूमिगत राजनीतिक जीवन निर्वाह गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लाग्नुभएका खनालले देशको ७४ जिल्लामा नेकपा मालेको सँगठन विस्तार गर्न सफल भई नेपालको कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्‍याउँदै नेतृत्व गर्नुभयो।

भूमिगत पार्टी कामबारे सोधिएको प्रश्नमा नेता खनाल भन्नुहुन्छ, “२०४६ सालमा हामीले चौथों महाधिवेशन गर्ने निर्णय गरेका थियौँ । त्यसबेला हाम्रो पार्टी निकै सुदृढ हुदैँ गएको थियो । चौथों महाधिवेशनमा हामीले मदन भण्डारीलाई महासचिव बनाउने फैसला गरेका थियौँ । मदन महासचिव भएपनि म पार्टी नेतृत्वमा रहेर निरन्तर काम गरिरहेको थिए । २०४६ सालमा जनआन्दोलन शुरु गर्दा पार्टीबाट म, मदन भण्डारी र माधव नेपाल हाई कमाण्डमा थियौँ । मैले नै त्यतिबेलाका बामपन्थी समुहहरुसँग बार्ता गरे र बामपन्थी संयुक्त मोर्चा निर्माण  गरे । त्यसपछि नेपाली काँग्रेसका मुख्य नेताहरु गणेशमान शिह र कृष्णप्रसाद भट्टराईसँग बार्ता गरी संयुक्त आन्दोलनको आधार तयार पार्ने काम गरेँ । त्यसपछि २०४६ सालको फागुन ७ बाट सुरु गरिएको जन–आन्दोलनले ५३ दिनपछि देशमा नयाँ परिवर्तन आयो । हाम्रो माग पञ्चायती व्यवस्था पूर्ण रुपमा विघटन गरेर बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नु पर्छ भन्ने थियो । तर राजाले निर्दलियतालाई मात्र अन्त्य गर्ने काम गरेपछि हामीले आन्दोलनलाई जारी राख्यौं र ४७ बैसाश ३ गते राजाका प्रतिनिधिसँग केन्द्रीय स्तरमा बार्ता भएपछि पञ्चायति व्यवस्थालाई पूर्ण रुपमा विघटन गर्ने र आन्दोलनकारी सक्तिलाई लिएर अन्तरिम सरकार गठन गर्ने निर्णय गरियो । उक्त सरकारमा म २०४७ सालको अन्तरिम मन्त्रीमण्डलमा कृषि, वन तथा वातावरण र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरे । उक्त सरकारले एक वर्ष भित्रमा नयाँ संविधान निर्माण गर्ने र आम निर्वाचन गराउने दुवै कामलाई सफतापूर्वक सम्पन्न गर्‍यो” । नेता खनाल २०४८ सालको संसदीय निर्वाचनमा ईलाम जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभयो ।

मदन भण्डारीको प्रतिशोधले स्थायी कमिटीको जिम्मेवारी गुमाएको क्षण
विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउन को–अर्डिनेशन केन्द्र हुँदै नेकपा माले बनेको थियो। समकालीन नेताहरुमा मदन भण्डारी योग्यता प्राप्त नेता भएकोले उहाँलाई महासचिव बनाउन खनालले समेत भूमिका निर्वाह गर्नुभएको थियो। नेकपा माले एकीकरण भई एमाले बनेको प्रसङ्ग सुनाउँदै खनाल भन्नुहुन्छ, “२०४८ सालमा हामीले नेकपा (माले) र नेकपा (एकीकृत) मिलाएर नेकपा एमालेको गठन गर्‍यौं । नेकपा एमालेकोे पाचौँ महाधिवेशन २०४९ मा भयो । महाधिवेशनले ‘नयाँ जनवाद’ को झण्डालाई छोडेर मदन भण्डारीले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’लाई पार्टीको कार्यक्रम बनाउने निर्णय गर्‍यो । उक्त महाधिवेशनमा मेरा तीनवटा कुरामा मत भिन्नता थिए ।

पहिलो, ४२ वर्ष भन्दा बढि समयदेखि पार्टिको कार्यक्रम र झण्डाको रुपमा स्थापित नयाँ जनवादको कार्यक्रमलाई छोड्नु हुँदैन । जनवाद बहुदलीय नै हुन्छ तर पार्टि कार्यक्रम चाहि नयाँ जनावादनै हुनुपर्छ ।

दोश्रो, पार्टीले अघिसार्ने कृषि क्रान्तिको कार्यक्रम सुधारवादी हैन क्रान्तिकारी कार्यक्रम हुनुपर्छ । खुङखार जमिनदारको जमिन खोसेर भुमिहिन किसानलाई वितरण गर्ने कार्यक्रमलाई छोड्नु हुदैन ।

तेश्रो, बहुदलीय जनवादका चौध विशेषता भनिएपनि तिनिहरु मुलत: संसदीय व्यवस्थाकै तत्वहरु हुन् । किनभने बहुमतको सरकार र  अल्पमतको प्रतिपक्ष भन्ने कुरा पूँजीवादी संसदीय व्यवस्थामा मात्र हुन्छ ।”

नेता खनालका अनुसार उहाँले उठाउनु भएको कृषि क्रान्तिको कुरालाई मदन भण्डारीले आफ्नो कार्यक्रममा सच्याउनुभयो । महाधिवेशनको फरक मतबारे खनाल भन्नुहुन्छ, “महाधिवेशनले सर्वसम्मतिले केन्द्रीय कमिटीको निर्वाचन गर्‍यो । तर उक्त निर्वाचनमा प्रतिशोध स्वरुप मलाई स्थायी समितिमा राख्नुभएन । केन्द्रीय कमिटीका बहुमत साथीहरु त्यो कुरामा सहमत हुनुहुन्नथ्यो तर मदन भण्डारीको अगाडि कसैले केही भन्न सक्नुभएन । त्यो बेला कमरेड मदनबाट म माथि अन्याय भएको थियो । त्यसबेला मैले मदन भण्डारीलाई यो निम्न पूँजीवादी प्रतिशोधलाई चिरेर पार्टीमा त्यो भन्दा महत्वपूर्ण योगदान गर्ने क्षमता म सँग छ भनेर चुनौति गरेको थिए ।

पाँचौ महाधिवेशन भएको केही अवधिमै क. मदन भण्डारीको रहस्यमय ढंगले हत्या भयो । उक्त हत्या भएको वेलामा म नव निर्वाचित सांसदहरुको एउटा टोलीको अगुवाई गर्दै अमेरीका भ्रमणमा थिए । उहाँको हत्या हाम्रो पार्टीको निम्ति एउटा ठुलो क्षती थियो । म भ्रमण छोट्याएर उहाँको सदगति समारोहमा उपस्थित हुन आईपुगेको थिए । दासढुगां घटना घटाएर मदन भण्डारी मारिनु नै भएको हो । त्यो दुर्घटना नभएर देशी विदेशीको योजनामा गरिएको हत्या थियो । होइन भने गाडी चलाउने मान्छे चाहि नमर्ने गाडीमा बस्ने मान्छे मर्ने हुँदैन थियो ।”

खुला राजनीतिमा पनि नेतृत्वदायी भूमिकामा नेता खनाल
२०४७ सालको अन्तरिम मन्त्रीमण्डलमा कृषि, वन, तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका नेता खनाल २०४८ सालको संसदीय निर्वाचनमा  ईलाम जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभयो। २०५० देखि २०६५ सम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख हुनुभएका खनालले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

२०५१ को मध्यावधि निर्वाचनमा पनि ईलाम–१ बाट निर्वाचित खनाल २०५३ सालको संयुक्त सरकारमा सूचना तथा संचारमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभयो । २०५६ देखि २०६३ सम्म नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा गठित पुष्पलाल प्रतिष्ठानको अध्यक्ष हुनुभयो ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले कू गरी शासन सत्ता हातमा लिँदा सबै पार्टीहरु प्रतिबन्धित गरिए । अधिंकास नेताहरु गिरफ्तार भए । त्यस्तो जटिल अवस्थामा २१ माघ २०६१ देखि नेकपा एमालेको कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै ज्ञानेन्द्रको निरंकुश राजतन्त्र विरुद्ध ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुभयो ।

कार्यवाहक महासचिवको रुपमा रहँदा निरंकुश राजतन्त्रको विरुद्ध सात पार्टीको गठबन्धन बनाउन मुख्य योजनाकारको रुपमा नेतृत्व गर्नुभयो । त्यतिबेला एकातिर नेपाली काङ्ग्रेस विभाजित अवस्थामा थियो, माओवादीहरु ससस्त्र संघर्ष चलाईरहेका थिए र स्वयम नेकपा एमाले पनि सरकारबाट बर्खास्त गरिएको अबस्थामा थियो । एउटा जटिल परिस्थिति मूलुकका सामू थियो । त्यस्तो अवस्थामा पार्टीहरुलाई एकतावद्ध गर्ने र निरङ्कुस राजतन्त्रका विरुद्ध संयुक्त आन्दोलनको प्रवाह सिर्जना गर्ने साहसिक र असाधारण कामको नेतृत्व गर्नुभएको थियो । त्यसले गर्दा छोटो समयमा जनआन्दोलनले राष्ट्रव्यापी रुप लियो र राजा ज्ञानेन्द्रले थुनिएका नेताहरुलाई छोड्न बाध्य भए । त्यसपछि महासचिवलाई कामको जिम्मा दिएर नेता खानालले उक्त जन आन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। त्यसै सिलसिलामा २००५ मा उहाँले चीनको भ्रमण समेत गर्नु भयो । र चिनिया नेतृत्वलाई नेपालको बस्तु स्थितिबारे जानकारी गराउनु भएको थियो ।

यसरी राष्ट्रिय र अन्तराष्ट्रिय समर्थन समेत व्यापक हुँदै गएपछि राजतन्त्रका विरुद्धको आन्दोलनले अझ उचाई प्राप्त गर्दै गयो । त्यसमाथि तत्कालिन लोकतान्त्रिक सक्तिहरुको गठबन्धन र माओवादीका बीच १२ बुँदे सहमति भएपछि उक्त जनआन्दोलनले राष्ट्रव्यापी जनक्रान्तिको स्वरुप ग्रहण गर्‍यो र मूलुकमा ०६२/६३ को (२००६)को ऐतिहाँसिक परिवर्तन सम्भव भयो । उक्त परिवर्तनको क्रममा पनि नेता खनालले महत्वपूर्ण भूमिका खेल्नुभयो ।

उक्त परिवर्तन पछि राजनीतिक पार्टीहरुले बनाएको अन्तरीम संविधान बमोजिम संविधान सभाको पहिलो निर्वाचन २०६४ सालमा सम्पन्न भयो । संविधान सभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल काठमाडौं र रौतहटबाट पराजित हुनुका साथै नेकपा एमालेले अकल्पनीय पराजय बेहोरेपछि नैतिकताको आधारमा राजिनामा दिनुभयो। पार्टी महासचिवले राजिनामा दिएपछि ईलामबाटै निर्वाचित खनाललाई पार्टीले पुन: सर्वसम्मतिद्वारा महासचिवको जिम्मेवारी सुम्पियो ।

संसदीय निर्वाचनमा समेत अपराजित नेता खनाल २०६५ देखि २०७० सम्म नेकपा एमाले संसदीय दलको नेता पनि बन्नुभयो । उहाँ पार्टी महासचिव रहेकै बेलामा २०६५ सालमा नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनले नेता खनालद्वारा प्रस्तुत प्रतिवेदनलाई पारित गर्‍यो । महाधिवेशनमा  आफ्ना प्रत्यासी केपी शर्मा ओलीलाई फराकिलो मतले पराजित गरी पार्टी अध्यक्षको रुपमा चुनिनु भयो । खनालद्वारा प्रस्तुत प्रतिवेदनमा प्रतिविम्वित कार्यदिशा,नीति र सिद्धान्तले नेकपा एमालेलाई राष्ट्रव्यापी रुपमा माथि उठायो ।

पार्टी अध्यक्षको जिम्मेवारीमै रहँदै नेता खनालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ३५ औँ प्रधानमन्त्रीको रुपमा २०६७ माघ २० देखि २०६८ भदौ सम्म देशको बागडोर सम्हाल्नु भयो। प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा संविधान निर्माण र शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका खनालले २०७० मंसिर ४ मा भएको दोश्रो संविधान सभा निर्वाचनमा पार्टीको छवी अझ माथि उठाउन सफल हुनुभयो । नेकपा एमालेलाई तेश्रो अबस्थाबाट दोश्रो ठूलो पार्टी बनाउन वँहाले अतुलनीय योगदान पुर्‍याउनुभयो। दोश्रो संविधान सभा निर्वाचनमा ईलाम–१ बाटै निर्वाचित नेता खनालले नयाँ संविधान निर्माणमा विशेष योगदान पुर्‍याउनु भएको छ ।

२०७१ देखि २०७५ सम्म नेकपा एमाले पार्टी स्थायी कमिटी सदस्य र वरिष्ठ नेता बन्नुभएका खनाल एशियाली राजनीतिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को स्थायी कमिटी सदस्यको रुपमा  पनि रहनुभएको छ । २०७४ सालको संघीय निर्वाचनमा भारी मतले  फेरि ईलाम–१ बाट पुन: निर्वाचित हुनुभयो । अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरिष्ठ नेता, सचिवालय सदस्य र नीति, अनुसन्धान प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

०४६ साल पछि मात्र बिदेश भ्रमण
०४६ साल सम्म नेकपा पूर्णरुपले प्रतिवन्दित या भूमिगत अवस्थामा नै थियो । त्यस्तो पार्टीको नेताका हैसियतमा वहाँले त्यसबेलासम्म भारत बाहेक कुनै देशको भ्रमण गर्नुभएको थिएन । ०४६ सालपछि अन्तरिम सरकारमा रहँदा वहाँले मन्त्रीको हैसियतमा फिनल्याण्ड, थाइल्यान्ड, जापान र अष्ट्रेलियाको भ्रमण गर्नुभयो । त्यसपछि अमेरिकाको भ्रमण गर्नुभयो । बेलायत,जर्मनी,फ्रान्स र रुस लगायत युरोपका अधिकांश देशको भ्रमण गर्नुभयो । त्यसका साथसाथै पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अनेक पटक समाजवादी चीनको भ्रमण गर्नुभएको छ । त्यसक्रममा चीनका वर्तमान उपराष्ट्रपति लगायतका नेताहरुसँग भेटघाट गर्नुभएको छ । चीनका वर्तमान राष्ट्रपति सँग भने वहाँको नेपाल भ्रमण ताका भेट गर्नु भएको छ । त्यो भेटका सम्बन्धमा वहाँले भन्नुभयो । “राष्ट्रपति सी चिनफिङसँग भेट भएर धेरै  खुसी लाग्यो । वहाँ चीनका सम्मानित र योग्य नेता हुनुहुन्छ । वहाँको नेतृत्वमा चीनले समाजबाद निर्माणको बाटोमा असाधारण प्रगति गरिरहेको छ । चीनले सबै क्षेत्रमा समाजवादी आधुनिकरणमा आधारित सफलता हासिल गरेको छ । चीन तीव्र गतिले विकास गर्दै विश्वको  एक नम्बर आर्थिक शक्ति बन्ने दिशामा अघि बढिरहेको छ ।उसका अन्तर्राष्ट्रिय सम्बन्ध, सम्पर्क,सहयोग र प्रभावहरु पनि तीव्र रूपले विकास गरिरहेका छन् ।अब चीनको प्रगतिलाई विश्वको कुनै शक्तिले अवरोध गर्न सक्दैन । त्यस्तो देश  हाम्रो उत्तरी छिमेकमा रहनु हाम्रा निम्ति गौरवको कुरा हो ।  हामीले नेपालमा पनि नयाँ जनवादी क्रान्ति सम्पन्न गरेका छौं । ०६२/०६३ को जन क्रान्ति त्यो क्रान्तिको अन्तिम चरण हो । अब हामी पनि समाजवादी क्रान्ति र निर्माणको नँया युगमा प्रवेश गरेका छौ । यो ऐतिहासिक क्षणमा हामीले हाम्रा सहयोगहरुलाई चौतर्फी ढंगले अघि बढाउन आवश्यक भएको छ ।”

कमरेड खनालले अहिलेसम्म विश्वका ४० भन्दा बढी देशहरूको भ्रमण गरिसक्नुभएको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गरि सक्नुभएको छ ।

साहित्यकारको रुपमा खनाल
माध्यमिक विद्यालयमा पढ्दादेखिनै साहित्यमा रुची राख्ने खनालले परिवर्तनका स्वरहरु भाग–१ र २ गीति संग्रह बजारमा ल्याउनु भएको छ भने दर्जन भन्दा बढी पुस्तकहरु लेखन तथा प्रकाशन गर्नुभएको छ । साहित्यमा खनालका रुचीबारे सोधिएको प्रश्नमा भन्नुहुन्छ, “साहित्यमा सानैदेखि मेरो रुची थियो । त्यसैले माध्यमिक तह र आईएस्सी पढ्दा देखि नै उपन्यासहरु र बिभिन्न साहित्यिक रचनाहरु पढ्थे । जसका कारण मेरो भाषा र साहित्य निकै सुध्रिएको थियो ।”

राजनीतिक, सामाजिक, सैद्धान्तिक विषयका विभिन्न विधामा १५ भन्दा वढि कृतिहरु प्रकाशित गर्नुभएका खनालले छलफल, प्रकाश, चित्रण दृष्टि, नेकपा मालेको मुखपत्र वर्ग संघर्ष र नेकपा एमालेको मुखपत्र नवयुगमा नेपाली र अंग्रेजी भाषामा सयौँ सैद्धान्तिक लेखहरु लेख्नुभएको छ । कवितामा कलम चलाउन रुचाउने खनालको ‘शताब्दीको पहिलो बिहानी’ नामक कविता संग्रह निकै चर्चित छ ।

(यो आलेख परिवर्तन खबर र एसिया प्यासिफिक डेलीको सहकार्यमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस्