पार्टी नेता र विज्ञसँग प्रधानमन्त्री ओली असन्तुष्ट



KP Sharma oli

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीको संकटमा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेता तथा विज्ञहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह र जनताप्रति उदाशीन हुँदै स्वार्थका पछाडि कुदेको टिप्पणी गरेका छन् ।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् । उनले भने, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ तर मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो के गर्ने हो त्यस्तो सोच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापक रुपमा देखिन्छ ।’

उनले संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताए । उनले भने, ‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यम बनाए, जता पल्टाए पनि विरोध,  यता पल्टाएपनि उता पल्टाएपनि विरोध मात्रै गर्ने । कहिले क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो  भन्ने, मान्छे उचाल्ने र भड्काउने ।’

विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रण देखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे । उनले भने, ‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन संक्रमित मान्छेहरुसँग उनीहरुले डिल गर्नुपरेको छ । अनेक कामहरुमा उनीहरु छन् । त्यस्ता कामहरुबाट उनीहरु संक्रमितहरु भइराखेका छन् । ड्युटीको क्रममा संक्रमित भइराखेका छन् । रेस्कयु गर्न जाँदा संक्रमित भएर आएका छन् । अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ । सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउने वित्तीकै जोखिमका साथ रेस्कयु टिम सरकारको तर्फबाट गएको छ । अरुले पनि सहयोग गरेका छन् । तर वौद्धिक जगतको टिप्पणीहरु सुन्छु कहाँ छ सरकार, काठमाडौँमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने  त्यो रेस्कयु गएको ठाउँमा हेर्नुपर्‍यो सरकार छ कि छैन । त्यहाँका जनतालाई सोध्नुपर्‍यो सरकार छ कि छैन । सरकारले जहिलेपनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेहरु त्यहाँ खटेका छन् रेस्कयु गरेको छ । रिलिफ पुर्‍याएको छ । ’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए । उनले खुला सिमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।

बैठकपछि नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारलार्ई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताए ।

क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको उनले बताए । शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरिएको बताए । उनले राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्