२० साउन २०७७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेब गौतमलाई भेट्न पुगेका छन् । उपाध्यक्ष गौतमलाई भेट्न केहीबेर अघि दाहाल भैंसेपाटीस्थित गौतम निवास पुगेका हुन् ।
पार्टीमा चर्किएको पछिल्लो विवादबारे लामो समयदेखि नेकपा अनिर्णयको बन्दी बनेको छ । पार्टी विवाद अन्त्य गर्न केही दिन अघि उपाध्यक्ष गौतमले ६ बुँदे लिखित प्रस्ताव नै पेश गरेका थिए । उपाध्यक्ष गौतम निवासमा छलफल चलिरहेको प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।
समसामयिक राजनीतिक बिषयमा छलफल हुनसक्ने उनले जनाए। ‘आज बेलुका प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालबीच छलफल हुदैछ । त्यही बिषयमा केन्द्रीत भएर छलफल गर्न आउनुभएको हुन पनि सक्छ’ उनले भने । उनले ६ बुँदे प्रस्ताव अघि सार्दै ओली पक्षमा उभिएको जस्तो देखिएपनि प्रचण्ड निकट नेताहरुलाई बोलाएर यसअघि नै प्रचण्डलाई उनले आफू ओलीतिर नलागेको स्पष्ट पारेका थिए ।