मन्त्री यादवमा कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रीको ‘क्लोज कन्ट्याक्ट’मा प्रधानमन्त्री ओली !



काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक्ट’को सूचीमा परेका छन् ।

प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनी काठमाडोैं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओेली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव, प्रहरी महानिरीक्षकलगायतका सहभागी थिए । समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

मन्त्री यादवले यो बीचमा प्रदेशका अन्य कुनै मन्त्रीसँग भने आफ्नो भेट नभएको जनाएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सर्तक रहन र परीक्षण गर्न आग्रह गरेका छन् । उनले भने, ‘उहाँहरूले मलाई संक्रमण भएको थाहा पाइसक्नु भयो होला तर मैले पनि जानकारी गराउने प्रयास गरिरहेको छु’।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा.वासुदेव पाण्डेका अनुसार कोही मानिस समूहमा बैठकमा बस्छ र उसलाई स्रक्रमण पुष्टि हुन्छ भने त्यो बैठकमा सहभागी सबै ‘क्लोज कन्टयाक्ट’ अन्तर्गत पर्दछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको सचिवालयमा रहेकाहरुको गत शनिबार परीक्षण गरिएको बताएका छन् । बालुवाटारमा भएका सुरक्षाकर्मी र प्रधानमन्त्रीको सल्लाहकारको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्