राजा महेन्द्र, विश्वेश्वरप्रसाद कोइराला र ठग बहादुर मगर !



King Mahendra & BP Koirala

राजा महेन्द्र बारे अनलाइनखबर मा २०७२ पुष १ गते प्रकाशित राप्रउ पोखरेलज्यूको लेखका केही अंशहरु, त्यसैगरी वीपीका आवाजहरुमा, राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान – डा. नारायण चालिसे र लोकपाटीले प्रकाशित गरेको बिपी स्मृति दिवसको लेखलाई संयुक्तरुपमा, सारांशमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । यो प्रसङ्गमा गोरखा जिल्ला साबीक दर्बुङ गाबिस वडा नं ५ अवस्थित अलकेटार डुणे, हाल गण्डकी गाउँपालिका वडा नं ५ निवासी, तत्कालीन समयका सिपाही ठग बाहादुर मगरको केहि रोचक प्रसंगलाई यहाँ सन्दर्भ मिलाई, जोड्ने प्रयत्न गरेको छु । जसको कारण तात्कालीन समाजको शासन शैली र जनचाहनाको एउटा वास्तविक कथा । जुन कथा मेरा बाबा हरुले/अग्रज हरुले मलाई जे सुनाउनुभयो यसैलाई, यहाँ जस्ताकोतस्तै कोरेको छु र अन्तमा मैले मेरो निष्कर्ष पनि लेखमा राख्नेछु । यो प्रसङ्गमा कसैलाई केही होच्याउने/उचाल्ने मेरो प्रयत्न रहने छैन, उहाँका नातागोताहरु, पार्टीका कार्यकर्ताहरु, राजाका मान्छेहरुले हेर्नु देख्नु हुँदा सोहीअनुसार बुझी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

लेखकका अनुसार राजा महेन्द्र:
महेन्द्र उच्च कोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए । आजको विन्दूबाट हामीले इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दुरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्छौ । महेन्द्र राजाको पालामा सरकारको जानकारी बेगर कुनै विदेशी कुटनीतिज्ञलाई भेटेको खण्डमा देशद्रोहको मुद्दासम्म लगाइन्थ्यो । जब कि महेन्द्र आउनुअघि २००७ सालदेखि ११ सालसम्मको अवधिमा नेपालमा भारतले नै परोक्षरुपमा शासन गरेको थियो भन्दा पनि हुन्छ । संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउनेदेखि लिएर नेपाललाई शान्तिक्षेत्रका रुपमा स्थापित गराउने सोच महेन्द्रकै हो । शान्ति क्षेत्रको प्रस्ताव भने सफल हुन सकेन । चेकपोष्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि ०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो । तर, त्यो बेलाको नाकाबन्दीले नेपालाई अहिलेजसरी हल्लाउन सकेन । महेन्द्रका हरेक काम व्यवस्थित, योजनावद्ध र दुरदर्शिताले भरिएका हुन्थे । ०१७ सालको कदम ज्ञानेन्द्रले गरेको कु जस्तो आलोकाँचो र हचुवा थिएन ।

उनले केके उल्लेख्य काम गरे?
अर्थतन्त्रकोकायापलट: २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनलेे नेपाललाई स्वाबलम्बी अर्थतन्त्र उन्मुख गराए । उनले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना भएका हुन् । पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । भारतले नमानेपछि रुसको सहयोग लिएका हुन् । ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकषिर्त भएको थियो । ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौडा नारायणघाट खण्ड एशियाली विकास बैंक, नारायणघाट-बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतले बनाइदिएको थियो ।

राष्ट्रियताको सम्वर्द्धन: राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्रको भूमिका अविस्मरणीय रहेको छ । उनले त्यतिबेला लागू गरेको एउटै भाषा एउटै भेषको नीति कति दूरदर्शी थियो भन्ने आज आएर सान्दर्भिक भएको छ । अहिले नेपाललाई जातको आधारमा, भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरु भइरहेका छन् ।

राष्ट्र बैंक को स्थापना गरेर राजा महेन्द्रले नेपाली मुद्रालाई अधिराज्यभरि अनिवार्य गरिदिए । जबकि त्यतिबेला नेपालमा ९० प्रतिशत भारतीय मुद्राको चलनचल्ती थियो । ०१७ साल अगाडि नेपालको भूमि खरिद-विक्री गर्न भारतीयहरु स्वतन्त्र थिए । महेन्द्रले कुनै पनि विदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइदिए । पञ्चशीलको सिद्धान्तलाई अंगीकार गर्दै उनले छिमेकी देशहरुसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखे ।

सामाजिकसुधार: ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे । त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गरे भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरु विस्थापित गरिदिए ।

भारतीयसेनाफिर्ता: महेन्द्रले भारतविरुद्ध चालेको सबैभन्दा साहसिक कदमका रुपमा लिन्छु, ०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरु हटाउने कार्य । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा भारतभक्तका रुपमा खुल्दै गएपछि उनले ०२६ सालमा थापालाई अपदस्थ गरेर कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाएका थिए । नेपाल एउटा स्वाधीन राष्ट्र भएकाले विदेशी सैनिकको उपस्थिति हाम्रो र हाम्रा छिमेकीको हित अनुकलमा छैन भन्दै उनले पत्र लेखे । त्यसपछि कीर्तिनिधिले भाषण गरे कि १९५० को सन्धीको कुनै वैधानिकता छैन भनेर । नेपालले आफैं ती चेकपोष्टहरु हटाउने तयारी गरेपछि तत्कालीन भारतीय परराष्ट्रमन्त्री विनयसिंह नेपाल आए ।

तर, सरकार आफ्नो अडानबाट पछि नहटेपछि यो विषय अन्तर्राष्ट्रियकरण हुने डरले भारतले ती चेकपोष्टहरु फिर्ता लग्यो । नेपाल सरकारले भारतलाई झुकाएको दुर्लभ घटनाका रुपमा यसलाई लिन सकिन्छ । चेकपोष्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि ०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो । तर, त्यो बेलाको नाकाबन्दीले नेपालाई अहिलेजसरी हल्लाउन सकेन । पेट्रोलियम बाहेकमा भारतीय निर्भरता खासै थिएन । पेट्रोलियमको खपत पनि अहिलेको जस्तो व्यापक थिएन । त्यसैले भारतीय नाकाबन्दीले ठूलो असर सिर्जना गर्न नसकेपछि भारत पछि हट्न बाध्य बन्यो । राजा महेन्द्रले भारतीय प्रभावलाई पहिलेको तुलनामा ४० प्रतिशतभन्दा तल झारेका थिए । जसको फलस्वरुप भारतले उनलाई नरुचाउनु स्वभाविक नै हो ।

०१७ सालको कदम: महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरुमाथि प्रतिवन्ध लगाएर एकतन्त्रीय शासन चलाए । हो, महेन्द्र एक महत्वाकांक्षी राजा थिए । आफैंले प्रत्यक्ष शासन चालाउने मोह उनमा थियो नै । ०१७ सालको ‘कु’मा यसबाहेकका कारणहरुसमेत छन् । मूल कारण भनेको नेपाललाई भारतीय हस्तक्षेप र प्रभावबाट जोगाउनु थियो ।

वीपी कोइराला आधारभूत रुपमा भारत परस्त नै हुन् । कांग्रेस पार्टी नै भारतले जन्माएको र हुर्काएको पार्टी हो । त्यसैले अहिले हेर्दा त्यो कांग्रेस र विपी कोइरालालाई प्रयोग गरेर भारतले नेपालमा आफ्नो स्वार्थसिद्द गर्नबाट जोगाउन महेन्द्रले उठाएको वाध्यकारी कदम थियो भन्ने मलाई लाग्छ । विपी ले एकपटक होइन, दुईपटक बोलेका छन्, नेपाल भारतको अभिन्न अंग हो भनेर । पछि अलिकति सच्याएर उनले भने, नेपाल भारतमा आश्रति स्वतन्त्र मुलुक हो ।

को हुन् बिपी कोइराला?
बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो, भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो। जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए। उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए। २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए। बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ। बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ। नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन्। वर्तमान अवस्थामा काँग्रेसले बीपीको नीतिलाई अंगालेको पाइँदैन। गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा बीपीको नीति सान्दर्भिक भए पनि अहिले काँग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको गुनासो आउँछ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री: उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, वि.सं. २०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे। आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई सन् १९८७ मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्‍यो। यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो। विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजीक थिए। सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो। त्यहाँबाट छुटेपछि उनले वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो।

वि.सं. २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे। उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो। बि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे। त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखियो। वि.सं. २०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो। वि.सं. २०३३ सालमा उनी नेपाल फर्के। तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राखियो। अन्तर्राष्ट्रिय दबाबका कारण १९३५ मा उनका विरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो। वि.सं. २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो। उनको मृत्यु वि.सं. २०३९ सालमा काठमाडौंमा भयो।

धुरन्धर साहित्यकार: बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन्। उनी नेपाली, हिन्दी भाषाका साहित्यकार थिए। राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए। उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन्। प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा मात्र नभएर सम्पूर्ण राजनीतिक आन्दोलनमा बिपीलाई राजनेता मानिन्छ। (यहाँसम्मका प्रसंगहरु लेखहरुकै शब्दहरू हुन्।)

ठग बहादुर मगर:
बीपीको सक्रियतामा नेपाली कांग्रेस चुनावमा जाँदै थियो, राजा महेन्द्रले चुनाव गराउँदै थिए, तर राजा भित्र बाट खुसी थिएनन् । चुनाब ३/४ चरण गराइने व्यवस्था मिलाइएको थियो । सोही क्रममा २०१५ साल फागुन महिनामा माथि उल्लेख गरिएका चतुर राजा महेन्द्र देश दौडाहाको भ्रमण क्रममा धादिङको ज्याम्रुङ भन्ने स्थानमा बेलुका बास बसेका थिए । त्यहाँ बाट बिष्णु प्रताप शाह (सञ्चार सचिव ) हरू लगायतको बसोबास भएको धादिङकै मैदी गाविसमा पनि रहेका थिए, उनका खलकहरु रहेको स्थानलाई बाटो पारेर, गोरखा जिल्ला दर्बुङ गाविस वडा नम्बर ६ स्थित दर्बुङफाँट, घाट लगाउने भन्ने ठाउँमा बेलुकाको बास बसे ।

राजा आखिर राजा नै हुन्, सबैलाई हेर्ने देख्ने इच्छा कति भएको हो कति! आफ्नो माग, दुःख, सुख, बिन्ती भाउ बिसाउने इच्छा, राजाको बोली कानुन हुनेबेला, राजालाई आफ्नो कुराहरु राख्न भनेर, मानिसहरु झन्डै दुई हप्ता अगाडिदेखि विभिन्न छाप्रा, आसनहरु बनाई ओड्ने ओछ्याउने सहित बास बसेका थिए अरे । गाउँका ठुलाबडा हरु पनि आफ्नै खालका तयारीमा थिए । अल्ली अग्रज पंक्तिहरूको पनि फुलमाला, अबिर जात्रा, लावालस्कर गरेर ती स्थानमा राजालाई स्वागत गर्ने र बिन्ती बिसाउँदै, आफ्ना कुराहरु राख्ने र केही विकास निर्माणका कामहरु पनि गर्ने भन्ने योजना पनि रहेछ ।

राजाहरूको टिममा झण्डै ३०/४० वटा घोडाहरू, भारी बोक्ने भरियाहरू, अगाडि पछाडि गर्दा सेनाहरु, सयौंको संख्यामा आएकाहरुको मध्ये कुन राजा हो भनेर ठम्याउन पनि कठिन थियो । राजाका सुरक्षाकालागि केही टोलीहरु बसेको ठाउँ राजासँग सँगै आउने र अघिल्लो हप्तादेखि ठाउँको व्यवस्था र सुरक्षा मिलाउन आउने टोलीकोहरुको आफै भिड-भाड थियो । केही हप्ता अगाडिदेखि नै खुल्ला ठाउँमा त्रिपालहरु टाँगेर राजाको त्रिपालमै बास व्यवस्था मिलाइएको थियो । त्यसलाई व्यवस्थित बनाउनका लागि, जनमानस हेर्न र देख्नलाई भनेर रातमा पनि हज्जारौं मान्छेहरु थीए, बास बस्न घर फर्किएकाहरु पनि हजारौं थिए । हजारऔँ हजार मान्छेहरुको उद्देश्य राजालाई देख्ने थियो, देवतालाई देख्ने थियो । जीवनमा एकपटक राजाको दर्शन गर्न पाए, मर्नेबेलामा सासपनि राम्रोसँग जान्थ्यो भन्नेहरु पनि थिए ।

चुनाव हुने समय आउँदै थियो, बीपी त्यो बेलाका उदीयमान नेता थिए, राजाको भ्रमणको उद्देश्य जनभावना बुझ्ने भनिएको थियो । अहिले आएर एकखालको मूल्यांकन गर्दा सायद चुनावलाई केही प्रभाव पार्ने उद्देश्यले पो भ्रमण गरेका हुनुपर्छ भन्ने मलाई लाग्छ । किनकी विपी र राजा महेन्द्र दुवै चतुर खेलाडी हरुको राजनीतिमा उदाहरणीय नेता हुन् । बीपीलाई राजा महेन्द्र प्रति शंका थिएन, तर महेन्द्र राजा भने देश काल परिस्थिति बुझेर उनी एकल शासन चलाउने मनस्थितिमा रहेछन् भन्ने कुरो अहिले र त्यो बेलाको पनि घटनाले पुष्टि गर्छ । तसर्थ बीपीको व्यापकतामा महेन्द्र खुसी थिएनन् ।

६२/६३ वर्ष पहिलाको राजा, राजकिय सोचाईअहिलेको राजा र सोचाई सँग मिल्दै मिल्दैन अर्को कुरा अरु राजा र महेन्द्रको तुलना पनि मिल्दैन । राजतन्त्रको लागि महेन्द्र जतिको राजा नेपालमा जन्मिएन । वीरेन्द्र साधु राजा भएर अरुले मरेपछि मन पराएका हुन् । महेन्द्र त्यस्ता अहिले सोचेजस्तो सामान्य राजा नभइ उनी सर्बसाधारण को बुझाइमा भगवान नै हुन् । उनलाई भगवान हुने इच्छा थियो,  महत्वकाङ्क्षी थिए । उनी लाई अहिले सारा परिवेश हेर्दा, त्यो महत्वकांक्षा मैले मेरो कलमबाट कुनै अनौठो भने ठानेको छैन । यो स्तरको राजालाई नजिकबाट नियाल्नु, केही बोल्न पाउनु अथवा एउटा फूल माला  दीन पाउनु, हरेक मानिसको लागि ठूलो अहोभाग्य को कुरो हो । जो आफ्नै घरआँगनमा सवारी हुँदैछ, तर कतिखेर आउँछन् काहा आइपुगे न कुनै छ न टेलिफोन छ, न कुनै संवाद, केही अत्तोपत्तो जानकारी छैन ।

दर्बुङ फाँटमा खुल्ला ठूलो विशाल बस्तीहरु छन्, हजारौं मान्छेहरु छन्, त्यहाँ राजाका लागि राजकीय व्यवस्था भए पनि, सर्वसाधारण एकैठाउँका होइन टाडा देखि आएका छन्, आज पनि आउँछन्, बस्छन् फेरि जान्छन्, बिहान उठेर आउँछन्, मान्छेहरूको आउने र जाने क्रम एकखालको जात्रा जलिरहेको छ, स्पष्ट ठेगान छैन राजालाई कसरी देख्ने? धेरैलाई मान्छे र राजामा के फरक छ भन्नेकुरामा दोधार छ । सम्म ठाउँ हुनाले त्यहाँ नजिकै जंगल छैन, झण्डै केही किलोमिटर हिँडेपछि मात्रै जंगल भेटिन्छ । मान्छेहरु आगमनको खुलमखुल्ला देखिन्छ धादिङ र गोरखाको सिमानामा बुढीगण्डकी नदी बगेको छ र त्यो बेला काठेपुल,अहिले झोलुङ्गे पुल रहेकोछ । मान्छेहरूको भीडभाड बढ्दो बढ्दो अवस्थामा छ राजाको सवारी हुने समय भने ठ्याक्कै थाहा नहुँदो रहेछ ।

प्रसङ्ग ठग बहादुर मगरको हो, हजारौं को भिडमा एकजना गाउँकै सिपाही हुन् । सायद उनी छुट्टीमा घर आएका थिए । राजा आफ्नो ठाउँमा आउनु हुने, अरु जागिर नखाएका मान्छेहरूको बीचमा, मगर गाउँमा जन्मिएको, जल्दोबल्दो एउटा सिपाही, सारा गाउँलेलाई राजाले मलाई चिनेका छन्, म यस्तो यस्तो भन्छु, उस्तो भन्छु, मेरो कुरा सुन्दछन्, अरूको सुन्दैनन्, भनेर गफ लगाएको रहेछ । गाउँको जल्दोबल्दो र नाम कमाएको त्यो ठग बहादुर मगर लाई बोलीचालीको भाषामा ठगे-ठगे भन्दथे ।

ठगेलाई अत्यन्तै खप्नै नसक्ने गरी दिसाले त्यतिखेर च्याप्यो । उसले विचार गर्‍यो कि, राजा जाने बेला भएको छैन अब म जंगल गएर दिशा बसेर आउछु, अनि राजाको सवारी हेरेर, आफ्नो मनका कुरा राख्नेछु । समय हुनै लागिसकेको रहेछ । जब ठगे जंगलतिर लाग्यो, तब महेन्द्र राजाको सवारी मनकामना मन्दिर को लागिअघि बढ्यो । सुरक्षाको कारणले हो कि के हो निश्चित व्यक्ति हरुलाई थाहा हुने, अरु सर्वसाधारणले स्पष्ट थाहा नहुने रहेछ । ठगे जंगलबाट फर्किएर आउँदा हज्जारौंको भीडभाड कोहीपनि मान्छे छैन । सबै गाउँ तिर लाइनमा लागिसकेका थिए, आफ्ना कुराहरु राखिसकेका थिए, फुलको माला हरु चढाई सकेका थिए । ठगे आउँदा महेन्द्र राजा बिदा भइसकेका थिए , जयजयकार र करतल ध्वनीको आवाज चर्को आइरहेको थियो । उनले टाढैबाट मात्रै सुन्न पाए । यस ठाउँमा अन्तिम अवस्थामा कुनै बन्न लागेको काम बिग्रियो भने ठगेको हगे भन्ने उखानै छ, आजसम्म पनि ।

प्रतिक्रिया दिनुहोस्