नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड-१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताएका हुन् ।
“कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ”, उनले भने । काँग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्नेमा उनले जोड दिए । महामन्त्री कोइरालाले वीपी कोइरालाले देखेको जनप्रतिनिधिद्वारा निर्माण गरिने संविधानको सपना स्व.सुशील कोइराला नेतृत्वको सरकारले पूरा गरेको बताउँदै नैतिकताको राजनीतिमा विश्वास गर्ने सुशील कोइरालामा सादा जिवन, उच्च विचार रहेको बताए ।
फाउण्डेशनका अध्यक्षसमेत रहेका महामन्त्री कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गर्नुभएको बताए । कार्यक्रममा प्राडा जयराज आचार्यले मूल्य, मान्यता र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने स्व.कोइराला सरल र सादगी नेता भएको उल्लेख गर्दै वीपी कोइरालाले देखाएको बाटोलाई सधै पछ्याउने स्व कोइरालाले संविधान निर्माण गरेर वीपीको सपनालाई पूरा गरेको बताए ।
पछिल्लो समय काँग्रेसभित्र मूल्य मान्यता र सिद्धान्त हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीभित्र सिद्धान्तभन्दा पनि पैसा भएका व्यक्ति हावी हुँदै गएको धारणा व्यक्त गरे । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले फाउण्डेशनले आगामी दिनमा ‘अन्वेषण यात्रा’लाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिए ।