भाद्रकृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित पितृतीर्थ धामका नामले चिनिने गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने बाबुको मुख हेर्ने मेला यस वर्ष नहुने भएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन भदौ ३ गते बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । मन्दिर क्षेत्र प्रबन्ध समितिको बैठकले बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।
पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न चैत ११ गतेदेखि नै बन्द गरिएपछि साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।
बाबुको मुख हेर्ने दिन पिता दिवङ्गत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्र कृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गरेको थियो । यसैले भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।
अरुको घरमा डेरा गरी बसेका मानिस सोह्रश्राद्धमा गोकर्णेश्वर मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने भक्तजनको भीड लाग्छ । उत्तरगयासमेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्ययुगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ । जसलाई महत्वका साथ पुजिन्छ । शास्त्रीय एवं पौराणिकरुपमा महत्वको गया क्षेत्र भए पनि सरोकार भएका सरकारी निकायको बेवास्ताका कारण गोकर्णेश्वर क्षेत्र ओझेलमा पर्दै आएको छ ।
पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गरिने भएकाले पनि यहाँको धार्मिक एवं सांस्कृतिक महत्व रहेको यस विषयमा खोज गरिरहेका संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताए । गोकर्णेश्वर महादेव मन्दिरका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा मासिएपछि यहाँको पूजा विधिसमेत छोटो बनाइएको थियो ।
यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि रु ७५ लाखको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना शुरु भएको छ । कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ ।