लामो समयसम्मको संघर्षपछि यसरी बनिन् टिका सानु चर्चित गायिका…



tika sanu

लोकदोहोरी क्षेत्रकै एकदमै अनुशासित, सरल, सबैसँग मिठो बोल्ने दोहोरी गायिका टिका सानुसँग हामीले अन्तवार्ता लिने अवसर पायौँ ।

बाहिरबाट हेर्दा जति सोझी र सरल देखिन्छिन्, वास्तविकता पनि त्यहि रहेछ । चाहिदो मात्र बोल्ने, अरुको विषयमा त्यति रुचि नराख्ने, आफ्नो संघर्षले अगाडी बढ्छु भन्ने भावना बोकेकी रहिछिन् । उनी लगभग १० बर्ष अगाडीदेखि यो क्षेत्रमा लागिरहेकी छिन् । उनको पूर्खौली घर दाङमा रहेछ । छोरी नै छोरी भएको परिवारमा धेरै संघर्ष गरेर जीवन बितिरहेको थियो । उनको आमा पनि गीतसंगीतमा रुचि राख्ने रहिछिन् । धेरै सन्तान भएको कारणले अनि उनका बुबाले राम्रोसँग कान नसुन्ने भएको कारणले गर्दा उनकी आमा बिदेशिनु पर्यो । जसोतसो गरी उनी आफ्नो गायिका बन्ने रहर मेट्न सहर पसिन् । तर यो सहर उनले सोचेजस्तो सजिलो भने पाइनन् ।

अझ उनी सोझी र सरल भएका कारणले गर्दा उनलाई यो समाजमा टिक्न एक समय हम्मेहम्मे नै पर्यो । सोचेजस्तो नभईदिदाँ उनी फेरि गाउँ नै फर्कन्छु र आफ्ना रहरलाई तिलाञ्जली दिन्छु भन्ने सोचमा पनि लागिन् । विस्तारै विस्तारै मान्छे चिन्दै गइन् । यो सहरमा घुलमिल भइन् अनि दोहोरीमा गीत गाउन सुरु गरिन् । धेरै बर्ष मेहेनत गरिन् अनि उनको सोझो पनको फाइदा उठाउन पनि धेरैजना लागि परे । तिमीलाई म तिमीले सोचेभन्दा माथि पुर्याइदिन्छु, तिमीले यसरी दिनरात दुख गर्नुपर्दैन, तिम्रो जीवनशैली नै परिवर्तन गरिदिन्छु भन्ने सम्मका कुराहरु उनले प्रत्यक्ष सुनिन् । तर उनी त्यसमध्ये परिनन् ।

२० औँ बर्ष लागेतापनि म आफ्नो मेहेनतले, आफ्नो कलाले नै अगाडी बढ्छु भन्ने सोच उनीमा थियो । धेरै ठाउँमा लाइभ दोहोरी गाउँदै जादाँ एकदिन उनले इन्द्रेणीमा जाने अवसर पाइन् । उनको मिठो बोली, सरल गीत गाउने शैली देखेर सबैको नजरमा उनी पर्न सफल भइन् । त्यसपछि इन्द्रेणीमै कलाकारको रुपमा आफूलाई स्थापित गरिन् । धेरैले प्रश्न गर्ने गर्छन् उनलाई, तपाई किन परिवर्तन नहुनु भएको ? धेरै सम्पत्ति कमाउनु भयो, दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाइसक्नु भयो अब त आफूलाई पनि बदल्नुस् न  । भन्नेहरुलाई उनी सरल भाषामा मलाई पहिले देखि नै यहि परिचयले चिनिरहनु भएको छ, मलाई यस्तै नै दर्शकले रुचाउनु भएको छ भने म किन परिवर्तन हुनु भन्छिन् । यसकारण पनि उनी पछिल्लो समय सबैको प्रिय भइन् ।

उनीसँगको थप कुराकानी हेर्नको लागि तलको अन्तवार्ता हेर्नुहोला ।

https://youtu.be/sf-5EMbGdUM

प्रतिक्रिया दिनुहोस्