वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका ११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए । गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएछ, घरटहरा समेत भत्काउन शुरु गरेपछि जिल्लाबाट थप टोली गयौं ।
६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप रोकिएन, १३ राउण्ड हवाई फायर गरेपछि बल्ल स्थित नियन्त्रणमा आयो उनले भने ।