काठमाडौं । कोरोनाको महामारी जताततै छ । मानिसलाई घरबाट बाहिर निस्कन डरमर्दो भैसकेको छ । झन् राजधानीमा कोरोना संक्रमित दिनदिनै बढेकाले पनि मानिसहरुले आफूलाई असुरक्षित महशुस गर्न थालेका छन् ।
सरकारले पनि जताततै कोराना करह भएका कारण धेरै कुरामा प्रतिबन्ध लगाउँदै आएको छ । हिन्दु महिलाहरुको लागि तिज विशेष पर्व मानिन्छ । तर यसपटक अन्य बर्षहरु झैँ साथीसंगी भेला भएर, दर खाएर तिज मनाउने माहोल छैन ।
सरकारले पनि धेरैजना भेला भएर तिज मनाउन रोक लगाएको छ । यस्तोमा सेलिब्रेटीहरुले पनि यसपटक सामान्य तरिकाले घरमा नै तिज मनाउने योजना बनाएका छन् । हेरौँ यसपटकको तिज कसले कसरी मनाउने योजना बनाएका छन्…
सञ्चिता लुईटेल (नायिका)
सञ्चिता तिज आफूलाई निकै मनपर्ने पर्व भएको बताउँछिन् । हरेक बर्ष तिजमा विशेष सपिङ गर्ने, व्रत बस्ने गर्थिन् उनी । यसपटक भने उनी सपिङ पनि गरेकी छैनन् । साथै कसैसँग भेटघाट नगरी घरमै परिवारसँग तिज मनाउने योजना उनको छ । उनी हरेक बर्ष झैँ यस बर्ष पनि व्रत भने बस्ने बताउँछिन् ।
केकी अधिकारी (नायिका)
केकी अधिकारीले पनि यसपटकको तिज सामान्य तरिकाले नै मनाउने भएकी छिन् । यसपटक उनले तिजको लागि विशेष सपिङ पनि गरेकी छैनन् । तिजको दिन उनीपनि व्रत भने बस्नेछिन् तर घरबाट बाहिर निस्कने सोचमा उनीपनि छैनन् ।
मिलन अमात्य (गायिका)
चर्चित गायिका मिलन अमात्य साथीहरुसँग रमाइलो गरेर तिज मनाउने गर्थिन् । यसपटक भने उनी घरमा बसेर तिज मनाउनेछिन् । व्रत बस्ने चलन भने पहिलेदेखि नै उनको परिवारमा छैन । त्यसैले उनले तिजको व्रत भने नबस्ने बताएकी छिन् ।
दिपाश्री निरौला (निर्देशक, कलाकार)
चर्चित निर्देशक तथा कलाकार दिपाश्री निरौलालाई तिज मनपर्ने चाड हो । तिजमा साथीहरु भेला भएर नाच्न, राम्रो कपडा लगाउन, दर खान उनलाई मनपर्छ । तर कोरोनाभन्दा ठूलो तिज नभएको उनी बताउँछिन् । त्यसैले यसपटकको दिपाको तिज घरमा परिवारसँगै हुनेछ । साथै उनले अरुलाई पनि घरमै नाचेर तिज रमाइलोसँग मनाउन अनुरोध गरेकी छिन् ।
टिका प्रसाई (गायिका)
गायिका टिका प्रसाईले पनि कोरोनाका कारण यसपटक तिजमा खासै विशेष योजना बनाएकी छैनन् । अन्य बर्षहरुमा भने उनी विभिन्न कार्यक्रममा समेत व्यस्त हुने गर्थिन् । यसपटक चारैतिर सुनसान भएकाले उनले घरमै बसेर तिज मनाउने सोचेकी छिन् ।
यस्तै अन्य कलाकारहरुले पनि यसपटक तिज मात्र नभएर आउँदै गरेका हरेक चाडपर्वलाई घरमा परिवारसँग मिलेर मनाउन आग्रह गरेका छन् । अहिले जताततै कोरोनाको महामारी छ । यस्तो अवस्थामा कसैसँग भेटघाट गर्नु वास्तवमै उचित भने छैन ।