करिब २ दशक अघिदेखि गीतसंगीतमा होमिएका गायक हुन्, भीम कुसारी । सांगितीक क्षेत्र बाहेक उनी राजनीति तर्फ पनि रुचि राख्ने व्यक्ति हुन् । उनले यो अवधिमा धेरै गीतमा आवाज दिए । साथमा शब्द, सिर्जना पनि गर्ने गर्छन् । तर उनले सोचेजस्तो सफलता भने पाएका छैनन् ।
उनी आफू यो क्षेत्रमा लागे पश्चात नै अन्य धेरै कलाकारलाई साथ, सपोर्ट दिएर स्थापित गराए । उनले मनोरञ्जनका गीतसँगै देशभक्ति अझ भनौँ समसामयिक विषयलाई समेटेर पनि गीतहरु बनाउने गर्छन् ।
आफ्ना अनुभवहरु सुनाउँदै हामीलाई उनले भने, जब यो क्षेत्रमा लाग्दै थिए त्यसबेला मलाई धेरैले यो क्षेत्रमा तैले गर्न सक्दैनस्, रहर मेटाइदे जस्ता कुराहरु धेरै सुने । जबकि उनलाई त्यसबेला साथ, सपोर्टको खाचो थियो । उनले धेरैजना गायक गायिकासँग संगत पनि गरे । उनीभन्दा पछि आएका धेरैजना कलाकारहरु आज उनीभन्दा धेरै माथि छन् ।
धेरैजसो समसामयिक गीत गाउँदा पनि उनी चर्चित हुन नसक्दा हामीले सोधेका थियौँ, तपाईलाई पनि अरुले जस्तैगरी अहिलेको माग अनुसारको गीत गाएर चर्चित हुम् भन्ने लाग्दैन ? जवाफमा उनले भने, मेरो त्यस्तो सोच थियो भने म जमानामै चर्चित हुन्थे होला, अझ भनुम १–२ महिनाको लागि भाइरल भएर मैले पनि नाम र दाम कमाउन सक्थे । तर म आफ्नो शैली नछोडी विकृति आउने खालका गीतसंगीतमा नराख्ने व्यक्ति भएको कारणले गर्दा पछि परेको हुँ कि जस्तो लाग्छ । आफूले स्थापित गराएका कलाकार त्यो स्थानमा पुग्दा तपाईलाई नरमाइलो लाग्दैन ? भन्दा उनी हाँस्दै भन्छन्, यो त मेरो भाग्य हो कि मैले साथ सपोर्ट दिएका कलाकारहरु आज त्यो स्थानमा पुगेका छन् । मलाई गर्व लाग्छ । सम्झिनेले अझै पनि जुन स्थानमा पुगेतापनि तपाईले गर्नुभएको साथ सपोर्टको लागि सधैँ आभारी छु भन्छन् । तर सुख पाएर दुख बिर्सनेहरुले हो बेवास्ता गर्ने ।
उनी भन्छन्, अहिले पछिल्लो समय गीतसंगीतम आएका विकृति, छाडापनका बिषयमा उनले भाइरल हुने बहानामा संस्कृति लोप हुने खालका, मौलिकता नभएका गीतहरु बजारमा निकाल्दा धेरैपटक सोचेर मात्र अघि बढौँ । अन्त्यमा उनले लोकदोहोरी क्षेत्र भनेको पहिलेदेखि नै हाम्रो संस्कृति झल्काउने विषय हो । आधुनिकताको नाममा तडकभडक गर्दै विकृति नल्याउन अनुरोध गरे ।