नाजिर र स्वस्तिमाको मित्रताको ५ बर्ष पुरा



फिल्म क्षेत्रमा देखावटी मित्रता धेरै र मनदेखि गरिएको मित्रता कमै हो भन्ने गरिन्छ । यो कुरा धेरै हदसम्म सहि पनि हो । किनकी एकअर्काको घनिष्ट साथी बताउने कलाकारले नै पछि एकअर्कालाई आरोप लगाइरहेका हुन्छन् ।

तर फिल्म क्षेत्रमा केही यस्ता कलाकारहरु पनि छन्, जसको मित्रता वास्तवमै तारिफयोग्य रहेको छ । यसको उदाहरणको लागि अहिलेका चल्तीका कलाकार नाजिर हुसेन र स्वस्तिम खड्कालाई लिन सकिन्छ । यी दुवैले ५ बर्षअघि चलचित्र होस्टल रिटन्र्स मार्फत चलचित्रमा डेब्यु गरेका थिए ।

दुवैले निभाएको भूमिकाले चर्चा पाएको थियो । होस्टेल रिटन्र्स पछि फेरि यी दुईले सँगै सहकार्य गर्ने मौका पाएका छैनन् । तर यी दुई एकअर्काको साथमा भने ५ बर्षदेखि निरन्तर छन् । उनीहरु एकअर्कासँग यति नजिक छन् कि बोलाउँदा पनि तँ भनेर बोलाउने गर्छन् ।

होस्टल रिटन्र्स को ५ बर्ष पुरा भएको र नाजिरसँगको मित्रताको पनि ५ बर्ष पुरा भएको अवसरमा स्वस्तिमाले इन्ष्टाग्रामले नाजिर र उनको तस्बिर सेयर गरेकी थिइन् । उनले नाजिरलाई बाँदरको रुपमा सम्बोधन गर्दै लेखेकी छन्, ‘यो बाँदरसँग ५ वर्षको मित्रता छ ।’ उनको यो पोस्टमा नाजिरले ‘चेयर्स’ भनेर लेखेका छन् । कलाकारबीच सुमधुर सम्बन्ध स्थापित नहुन नसकेको अवस्थामा स्वस्तिमा र नाजिरको मित्रता साँच्चै उदाहरणीय छ ।

प्रतिक्रिया दिनुहोस्