बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि धेरै बलिउड सेलिब्रेटीहरु यसमा मुछिए । नेपोटिज्मबारे सर्वत्र चर्चा हुन थालेपछि दर्शकले धेरै स्टार किडलाई गालीगलौच र ट्रोल गरे । जसका कारण धेरैले सामाजिक सञ्जालबाट बाहिरिदैँ छन् ।
नायिका सोनाक्षी सिन्हाले ट्वीटर बन्द गरिन्, आलिया, अनन्या, सोनाक्षी लगायतका कलाकारले दर्शकले इन्ष्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाइदिए । यसैबिच अभिनेता सुरज पंचोलीले पनि इन्ष्टाग्रामबाट ब्रेक लिने बताएका छन् ।
किनकी सुशान्तको आत्महत्यापछि उनलाई पनि दर्शकले निकै ट्रोल गरे । नायक सुशान्त सिंह राजपुतको निधन भएपछि निरन्तर ट्रोलको शिकार भएका सुरजले इन्स्टाग्राममा रहँदा आफूलाई श्वास लिन गाह्रो भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘हामी फेरि मिल्नेछौ, इन्स्टाग्राम । आशा गर्दछु कि फेरि हाम्रो भेट हुँदा यो दुनियाँ सुन्दर हुनेछ । मलाई श्वास लिन जरुरी छ, किनकी मलाई अहिले समस्या भैरहेको छ ।’
सुरजले इन्स्टाग्रामबाट आफ्ना सम्पूर्ण तस्वीर हटाएका छन् । उनले मैनबत्ती बल्दै गरेको एक तस्वीर मात्र इन्स्टाग्राममा राखेका छन् ।