हेर्दा कलाकारको जीवन जति सुन्दर देखिन्छ, वास्तविकता त्यो भन्दा निकै अलग हुन्छ । फिल्म क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ हामीले कतिपय अवस्थामा राम्रो काम गर्दा पनि प्रशंसा पाइरहेका हुदैँनन् । केही गल्ती नगर्दा पनि गाली खाइरहेका हुन्छौ ।
सम्भवत फिल्म क्षेत्रमा यस्ता कोहीपनि कलाकार छैनन् होला जसले दर्शकको माया मात्र पाएका छन् । यो क्षेत्र नै यस्तै छ यहाँ दर्शकको गाली र ताली दुवै पाइन्छ र एउटा कलाकारले दुवै पक्षलाई स्वीकार्ने हिम्मत पनि राख्नुपर्छ ।
धेरै पर पुग्नै पर्दैन, यहि लकडाउनको कुरा गरौँ न । गएको ५ महिनाभित्र फिल्म क्षेत्रमा जति गसिप चले त्यति अन्य बर्षहरुमा १ बर्षभित्र पनि चल्दैनथे होला । सबैजना फुर्सदमा भएका कारण पनि होला, धेरै कलाकार विवादमा आए भने केहीले प्रशंसा पनि बटुले ।
आफूले बोल्ने बेला ध्यान नदिएका कारण धेरै कलाकार ट्रोल हुने गरेका छन् । अनि पछि फेरि दर्शकले नराम्रो कमेन्ट गरे भन्दै नाक खुम्च्याउने पनि गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिका आँचल शर्मालाई एक फ्यानले प्रश्न गरे, तपाईले आउने गरेका नकरात्मक प्रतिक्रियालाई कसरी लिने गर्नुभएको छ ?
आँचलले जवाफमा भनिन्, हरेक मानिसको सोच्ने शैली फरक फरक हुन्छ । सबैलाई एउटै कुरा मनपर्छ भन्ने छैन, मलाई मन परेको कुरा अरुलाई मन नपर्न पनि सक्छ । सबैलाई खुसी बनाउन, सबैको चित्त बुझाउन त कसैले पनि सक्दैन । हुन पनि आँचलको कुरा ठिकै हो । एउटा कुरालाई हरेक मान्छेले आफ्नो नजरले हेर्छ, कसैले त्यो कुरालाई सहि देख्छ त कसैले खराब ।