बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको ५५ औं कार्यपालिका बैठकले नगरपालिका क्षेत्र भित्र कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखि ५० बेडको आईशोलेसन तयार गर्ने निर्णय गरेको छ ।
सोमबार सम्पन्न कार्यपालिका बैठकले बुढानिलकण्ठ नगरपालीका वडा नं. १० स्थीत डिठ्ठा चौरमा निर्माणाधिन क्वारेन्टाइन भवनलाईनै आइशोलेशन बनाउन लागेको हो भने वडा नं २ स्थीत बीएमसीएमा पनि आइशोलेसन बनाउने निर्णय गरेको छ ।
आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि उपमेयर रमादेवी राईको नेतृत्वामा एक समिति समेत निर्माण गरिने भएको छ । हिजो बसेको कार्यपालिका बैठकले होम आइसोलेसनलाई व्यवस्थीत गर्न वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा रहने गरी ३ सदस्यीय एक संक्रमीत वरावर एक व्यवस्थापन समित निर्माण गर्न लागेको हो ।
उक्त समितिको अन्य २ सदस्यमा एक जना स्वास्थ्यकर्मी र एकजना संक्रमीतको सहयोगीको रुपमा स्थानीयलाई समेत राखिने भएको छ । होम आइसोलेसनमा रहने संक्रमीतलाई नगरपालिकाले पोषण सुरक्षा वापत रु. ४,००० उपलब्ध गराउने भएको छ । एक भन्दा बढी संक्रमीत रहेको परिवारलाई पोषण सुरक्षा वापत रु ६,००० एकमुष्ट प्रदान गरिने छ भने संक्रमीतको सहयोगीलाई प्रोत्साहन स्वरुप प्रति परिवार रु २,००० दिने निर्णय गरेको छ ।
बैठकले प्रत्येक वडामा यस अघि सञ्चालनमा आएको क्वारेन्टाइनलाई व्यवस्थीत रुपमा सञ्चालन गर्ने र क्वारेन्टाइन निर्माण नभएको वडामा क्वारेन्टाइन स्थल छनौट गरी तत्काल सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ ।
कोभिड – १९ को कारणले गर्नुपरेको वन्दावन्दी तथा निशेधाज्ञाको समयमा सुरक्षाकर्मीको भुमिकालाई मध्यनजर गरी बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र खटिने प्रहरीहरुलाई प्रति व्यक्ति रु १,००० प्रोत्साहन भत्ता उपलब्ध गराउने समेत निर्णय गरेको छ । साथै नगरपालीकाको स्वास्थ्य सुरक्षामा खटिने पहिलो घेराका स्वास्थ्यकर्मिलाई ७५ प्रतिशत तथा निशेधाज्ञाको समयमा कार्यलयको आवश्यक्ता अनुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने समेत निर्णय गरेको छ ।
हालसम्म बुढानिलकण्ठ नगरपालिका भित्र १००९ जनाको पिसिआर टेस्ट गरिएको छ भने जम्मा संक्रमीतको संख्या १३० छ । यस दौरान २८ जना कोभिड १९ बाट निको भई घर फर्किसकेका छन् । हाल १०२ जना कोरोना संक्रमीत अस्पताल तथा घरमा आइसोलेसनमा बसिरहेका छन् । आज मंगलबार बुढानिलकण्ठ नगरपालीकाको ४ स्थानबाट ४०० जनाको पिसीआर टेस्ट गर्ने समेत बैठकले निर्णय गरेको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन् ।