नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २९ बाट सकिदैँछन् । यतिबेला कुलमानको ठाउँमा कसलाई राख्ने, कि कुलमानलाई राख्ने जस्ता बहस भैरहेका छन् ।
कुलमानले नै नेपालीलाई लोडसेडिङबाट मुक्त गराएका थिए । उनले छोटो समयमा नै लोडसेडिङ हटाएर नेपाललाई उज्यालो बनाएका थिए । त्यसैकारण पनि धेरैले पुनः कुलमान नै विद्युत प्राधिकरणको निर्देशक भएको हेर्ने चाहना व्यक्त गरिरहेका छन् ।
यसैबिच नेपाली चलचित्रका कलाकारले पनि खुलेर कुलमानको समर्थन गरिरहेका छन् । वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’ हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस कोरेका हुन् ।
यस्तै करिश्मा मानन्धरले पनि उनको सम्मान गर्दै पुनः उनलाई नै यो पदमा हेर्ने चाहना व्यक्त गरेकी छिन् । शिव परियारले लेखेका छन्, ‘म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु ।
अहिले देशलाई, अहिले मात्र हैन सधैभरि देशलाई उज्यालो चाहिएको छ । अब, नेपाल सरकारको निर्णय कुरेको छु हेरौं । आशा छ, उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ ।’
यस्तै नायिका बर्षा राउतले पनि हरिवंशको कुराको समर्थन गर्दै कुलमान घिसिङको तस्बिर अपलोड गरेकी छिन् ।