कोरोनाले सबैको दिनचर्या लथालिङ्ग भएको छ । अझ भनुम धेरै मानिस त बेरोजगार नै भएका छन् । सबैतिर लकडाउन भएकाले काम गर्ने अवस्था अहिले छैन । घर बस्दा बस्दा धेरैलाई दिक्क लाग्न थालिसकेको छ । केहीसमय अघि कोरोना केही हदसम्म कम भएकाले सरकारले लकडाउन केही खुकुलो बनाएको थियो । तर लकडाउन खुकुलो भएसँगै संक्रमित ह्वात ह्वाती बढ्न थालेपछि पुनः लकडाउन गरिएको छ ।
तर लकडाउन नै भएपनि नेपाली चलचित्र जगतका नायिकाहरु बेरोजगार भने बस्नु परेको छैन । धेरैले घर बसेर काम गरिरहे त लकडाउन खुकुलो भएसँगै केही अभिनेत्रीहरु पुनः सुटिङमा फर्किए । केही नायिकाहरु लकडाउनमा फुर्सदमा आफू नबसेको बताउँछन् ।
स्वस्तिमा खड्का
स्वस्तिमा निकै नै व्यस्त र चर्चित नायिका हुन् । सुरुमा सरकारले लकडाउनको घोषणा गर्दा उनी केही समय घरमै बसिन् । तर घरमै बस्दा पनि केही प्रोजेक्टमा काम गरिरहेकी थिइन् । लकडाउन खुकुलो भएसँगै उनले ४ वटा म्यूजिक भिडियो र २ वटा विज्ञापनमा काम गर्न भ्याइन् । यसरी हेर्दा स्वस्तिमाको लकडाउनको समय फुर्सदमा भने बसेन ।
केकी अधिकारी
केकी अधिकारी आफूलाई नायिका मात्र नभएर निर्माताको रुपमा चिनाउन प्रयासरत छिन् । उनले कमेडी च्याम्पियन २ को तयारी गरिरहेकी छिन् । त्यसका साथै केकीले पनि लकडाउन खुकुलो हुदाँ केही म्यूजिक भिडियोमा काम गरिन् । उनलाई अहिले पनि फुर्सद नै छैन । उनी यस्तो अवस्थामा पनि फुर्सदमा नबस्दा आफूलाई खुसी लाग्ने बताउँछिन् ।
ऋचा शर्मा
‘भगवानको कृपाले यस्तो परिस्थितिमा पनि कामविहीन हुनुपरेको छैन,’ ऋचाले भनिन् ‘डकुमेन्ट्री लगायत विभिन्न प्रोजेक्टका अङ्ग्रेजी, नेपाली आदि भाषामा डबिङ गर्न भ्याइ नभ्याई छ मलाई ।’ फिल्म रिलिज गर्ने आफ्नै नयाँ एपको पनि काम भइरहेको उनले सुनाइन् ।
निता ढुङ्गाना
लकडाउन भएको केही समयसम्म नितालाई घर बस्दा बस्दा दिक्क लागिसकेको थियो । त्यसपछि भने उनले घर बसेरै आएका केही प्रोजेक्टहरुको काम गरिन् । त्यसका साथै उनले केहीदिन अघिमात्र भजन निकालिन् । अहिले केही नयाँ प्रोजेक्टका लागि घर बसेर होमवर्क गरिरहेकी छिन् ।
बर्षा राउत
बर्षाले भने लकडाउनको समयमा खासै कुनै नयाँ प्रोजेक्ट साइन गरिनन् । लकडाउन खुकुलो भएपछि उनले एउटा मात्र म्यूजिक भिडियोमा काम गरिन् । उनलाई अफर नै नआएका भने होइनन् । चलचित्र, म्यूजिक भिडियोको अफर आइरहेका थिए । तर कोरोनाको डरले नगरेको उनले बताइन् । घरमा बच्चाहरु, बुद्ध भएकाले आफूलाई काम गर्न मन नलागेको उनले बताइन् ।
यी बाहेक बेनिशा हमाल, सुरक्षा पन्त, नम्रता सापकोटा लगायतका नायिकाहरुले पनि लकडाउनको समयमा घर बसेरै भएपनि धेरै काम गर्न भ्याए । यो राम्रो कुरा हो । त्यसै बस्नुभन्दा आफूलाई कुनै कुरामा व्यस्त बनाउनु नै राम्रो हुन्छ ।