नेपाली फिल्मसम्बन्धी रुचि राख्नेहरुको लागि सुनौलो अवसर आएको छ । अब स्कुलदेखि नै विद्यार्थीहरुले फिल्म सम्बन्धी विषय पढ्न पाउने भएका छन् । नेपाली चलचित्र क्षेत्रमा निर्माता, निर्देशकदेखि कलाकारसम्म अध्ययन बिना नै आएर मनपरी गर्ने आरोप लाग्दै आएको छ ।
हुन पनि धेरै कलाकार, निर्माता र निर्देशक यो क्षेत्रमा त्यसै आएका छन् । अध्ययन गरेर आउनु र अध्ययन बिना आउनुमा फरक धेरै नै हुन्छ ।
नेपाल चलचित्र विकास बोर्डले पाठ्यक्रममा फिल्मबारे पढाइ गराउन कुरा अगाडी सारेको छ ।
चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षामन्त्रालय अन्तर्गतको पाठ्यक्रमविकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेका छन् ।
समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामीबर्षका लागि पाठ्यक्रम निर्माण गर्ने जानकारी दिएको छ ।पहिलो चरणमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेटिने पाठ्यक्रमविकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए ।