नेपाली सांगितीक बजारमा यस्ता धेरै गीतहरु छन्, जसले गीत रिलिज हुने बित्तिकै चर्चा नकमाए पनि बिस्तारै स्लो पिकअप लिएका छन् । आजभोली टिकटक मा १५ सेकेण्ड भिडियो बनाएका आधारमा कुनैपनि गीतलाई हिट मानिन्छ ।
जसको कारणले राम्रा गीतहरु ओझेलमा पर्ने गरेका छन् । फेरि टिकटकमा धेरै जनाले टिकटक बनाए भन्दैमा गीत हिट भएको सम्झने गायक गायिकाको बानी छ । तर त्यस्ता गीतहरु केही समयको लागि मात्र हिट हुन्छन् पछि बिलाएर जान्छन् । यस्ता केही गीतहरु पनि छन् । जुन गीतले ढिला चर्चा पाएका छन्, तर ती गीत दर्शकको मन मस्तिष्कमा भने सधै नै बस्नेछन् ।
बदला बरिलै– प्रकाश सपूतको शब्द र संगीत रहेको बदला बरिलै रिलिज भएको केही दिनसम्म दर्शकको नजर यो गीतमा परेको थिएन । तर गीतले यसरी आफ्नो रफ्तार लियो कि रोकिने नाम गरेको छैन । देवि घर्तीको आवाज रहेको गीतलाई दर्शकले औधी रुचाए । विशेष गीतले उठान गरेको विषयले दर्शकको मन छोयो । गीतको भिडियो निकै उत्कृष्ट बनाइएको छ । भिडियोमा केकी अधिकारी फिचर्ड छिन् ।
तिनपाते– ३ हप्ता अगाडी रिलिज भएको तिनपाते, देखेर तिमीलाई बोलको गीतले रिलिज भएको केहीदिन सम्म राम्रो भ्यूज पाउन सकेको थिएन । तर विस्तारै यो गीतलाई सुन्ने दर्शक बढ्न थाले । गीतमा चलेका मोडल छैनन्, भिडियो पनि तडकभडक गरेर बनाइएको छैन । तर गीतमा यति राम्रो मिठास छ कि यो गीत मन नपराउने दर्शक सायदै छैनन् । यो गीतलाई सुजन चापागाई र विद्या तिवारीले गाएका छन् । गीतको भिडियो निकै साधारण बनाइएको छ । तर भिडियो नेपाली समाजसँग मेल खाने खालको भएकाले निकै उत्कृष्ट बनेको छ ।
के माया लाग्छ र– के माया लाग्छ र तिनपाते टिमको गीत हो । के माया लाग्छ र पछि नै तिनपाते रिलिज भएको हो । के माया लाग्छ र ले पनि रिलिज भएको केहीदिनसम्म राम्रो भ्यूज पाएको थिएन । तर विस्तारै दर्शकले यो गीतलाई मन पराउन थाले । यो गीतमा सर्वाधिक टिकटक पनि बने । यो गीतलाई सायद दर्शकले कहिल्यै बिर्सदैनन् होला ।
म हासेँ हास्छौँ र ?– प्रकाश सपूतका भाई देबेन्द्र बब्लुले करिब २ महिना अगाडी सार्वजनिक गरेको म हासेँ हास्छौँ र ? गीतले धेरै दिनसम्म दर्शक पाउन सकेन । पछि गीत टिकटकमा हिट भएपछि सबैले युट्युबमा गएर हेरे । गीतलाई दर्शकले मन पराए पनि । अहिले यो गीत बजारमा सर्वाधिक लोकप्रिय छ । सामान्य शब्दहरु प्रयोग गरिएको गीतको भिडियो सामान्य नै छ । देबेन्द्र बब्लु र मेलिना राईको आवाज रहेको गीतमा देबेन्द्र बब्लु र रोशनी थापा फिचर्ड छन् ।
ओई काजल– गायक चक्र बमको आवाजमा समावेश ‘ओई काजल’ गीत सार्वजनिक भएको १ महिना भयो । १ महिनामा यो गीतलाई १ करोड पटक हेरिएको छ । सुरुवाती दिनमा दर्शकको नजरमा नपरेको यो गीतले जब भ्यूजको दौड समात्यो, रोकिएन । गीतलाई दर्शकले अत्याधिक रुचाए । न चलेका महंगा मोडल, न फिल्मका कलाकार । तैपनि गीत उत्कृष्ट हुँदा दर्शकले यसलाई रुचाए । यो गीत पनि विस्तारै चल्यो तर गज्जबले चलिरहेको छ ।