“को-भिडमा एक्लो म”



लक्ष्मी पौडेल

बिहान उठ्ने, नुहाउने, घर सफा गर्ने अनि घर को मन्दिर मा पुजा गर्ने सधै को त्यहि नियमित काम, त्यो दिन पनि म तेस्तै गर्दै थिए । छिमेकि auntie को घर मा ठुलो बनाएर बजाइएको FM अनि त्यो ले भनेको corona को गुनगान सुनेर पनि दिक्क लाग्न थालिसकेको थियो ।

बिहानै देखि corona ले एती जना लाई येसो भयो, यो ठाउमा एति जना संक्रमित भए, एति मरे, येसो गरौ जस्ता कुरा उठे देखि नसुतुन्जेल सधै कति सुन्नु । सुन्न थालेको पनि ६ महिना पुरा भैसक्यो । बिहान बिहान त बरु भजन सुन्न पाइयोस नत्र बरु गीत नै किन नहोस मन त अलि रमाइलो हुन्छ।

६ महिना देखिको यो corona अनि ५ महिना भन्दा बढी भयो यो lockdown अनि येसको असर आम जनमानसमा सुनेर नै मन नरमाइलो लाग्न थालिसक्यो। यो lockdown चाही किन भनेको होला, मानिसको lockdown हुने भएर भनेको होला है, मन मनै लग्यो । बैनी ए बैनी, कसैले बोलाउनु भयो मलाई । त्यहि ठुलो FM बजाउने auntie ले बोलाउनु भएको रहेछ ।

वहाले मैले हजुर भन्नु भन्दा अगाडी नै थाहा पाउनु भयो, त्यो कमला दिदि को छोरा बुहारी दुवैलाई corona देखिएछ ” आतिदै भन्नु भयो । ए होर ! रिपोर्ट नै आइसक्यो रे त मैले पनि जान्न खोजे। आखिर एउटै टोलमा बस्ने मलाई पनि चासो लाग्नु  स्वभाभिक नै थियो । अः रे, पक्का हो रे। अब पुरै टोल लाई नै पो असर पर्ने भयो नि ।

कहाँ बाट सरेर आए रोग अब हामीलाई पनि पो डर भयो, कस्ता कस्ता छिमेकिहरु छन्। एस्तो बेलामा त सतर्क हुनुपर्छ नि । हेर्नु त अब तिनीहरुको गल्ती ले हामीलाई पनि रोग लाग्ला भन्ने भयो । police लाई खबर गरेको छ रे आउदै होला । वहाले अलिअलि रिसाउँदै अनि अलिअलि डराउँदै एकै सास मा भन्नु भयो। मैले कुनै प्रतिक्रिया दिनु अगाडी नै वहा आफ्नो काम मा भित्र गैसक्नु भयको थियो।

मलाई भने वहाको कुरा ले एकातिर डर पनि लागेको थियो भने अर्को तिर अनेकौ प्रस्नहरु आइरहेका थिए । अरु रोग लाग्दा त एम्बुलेन्स लिएर स्वास्थ्यकर्मी आउने तर यो corona रोग लाग्दा चाही किन police बोलाउने होला, के corona रोग लाग्नु भनेको चाही गल्ती हो कि अपराध, के कमला दिदि को छोरा बुहारी ले जानी जानी त्यो रोग लगाएका हुन् त ।

तेस्तै धेरै प्रस्नहरु मनमा लिदै मन्दिरमा सबैको रक्षाको लागि पुजा गरिसकेर निस्के। तर पनि मन कति शान्त थिएन आज किनकि मेरो प्रस्न को जवाफ दिने कोहि थिएनन्। मन्दिर भित्रको भगवान बोल्ने भए त वहाले दिनु हुन्थ्यो होला तर ……….. बिहानै थियो

बच्चाहरु सुतिरहेका थिए, गएर तरकारी किनेर लिएर आइहाल्छु भनेर निस्किन लागेको फेरी mask नै लगाएनछु । अब त झन् घर नजिकै रोग आइसक्यो भनेर मास्क लगाएर तल झरे । भाउजु ! कमला दिदि को घर मा त police आएको छ रे छोरा बुहारी लाई corona लागेछ नि त अनि,  तल्लो तलामा बस्ने अर्को दिदिले भन्न लाग्नु भयो फेरी।

ए अहिले त उपचार doctor ले होइन police ले गर्न थालेछ है मैले ठट्टा गर्दै भने । उता बाट केहि प्रतिक्रिया नै आएन, सायद बुझ्नुभएंन छ कि वहाले । तरकारी पसल घर बाट त्यहि ५ मिनेट को दुरीमा होला तर आज त्यहाँ अगाडी चोकमा मानिसहरुको निकै नै ठुलो भिड थियो तरकारी पसल पनि कता हो कता जस्तो देखिन्थ्यो। सायद टोल भरिकै मान्छेहरु जम्मा भएका थिए होलान। “आज corona को जात्रा लागेको रहेछ हाम्रो टोल मा”, मन मनै सोचे।

२ वटा police को गाडी अनि त्यो गाडीमा केहि बम निस्क्रिय पार्नको लागि आएजस्तो ड्रेस लगाएर आएका police हरु अनी अनुहारमा एउटा छुट्टै भाव भएका टोल भरिका मान्छेहरु त्यो चोक नै अर्कै जस्तो लाग्यो मलाई त। मान्छे हरु आपसमा कुरा गरिरहेका थिए। कोहि रिसाउँदै थिए त कोहि डराउँदै अनि कोहि चाही ठिक्क पर्यो पनि भन्दै थिए।

“कस्ता मान्छे हरु रैछन् “, टोलमा अब सबैलाई खतरा भएन त, “कहाँ गएका थिए रे नि रोग लिन”, “तीजमा खुब देखाउनु परेको थियो मान्छेहरु बोलाएर नाच्दै थिए कसले पो सारेर गयो नि अब ” , “होइन रे अस्ति बुहारी चाही को आफन्त कोमा गाको रे के दर खान त्यहीबाट सारेर आको होला नि “, “ए एस्तो बेलामा किन गको होला है “, “अब हामी कसरी जोगिने होला “, “बिसेक नै हुन्न रे नि बाई यो रोग त “, “फोक्सो damage नै हुन्छ रे “, “छिटो लगिहाले हुन्थ्यो यहाँ बाट यिनीहरुलाई “, “पल्लो गाउमा त एस्तो corona लागेको लाई एक महिना गाउमा आउन नदेको रे “, “बिचार हरु अब क गर्छन होला है “,”के हुन्छ रे त अब “……….. येस्तै येस्तै धेरै कुराहरु सुन्निन्थ्यो त्यो भिडमा।

एक्कासी अलि ठुलो आवाज आयो, ” ल ल अब घर सिल गर्नु पर्छ येसो छरछिमेकी हरुले सहयोग गरिदिनु अब २ जनालाई चाही isolation मा लग्नु पर्छ, अनि आमा चाही यहि home quarentine मा बस्नु होला “। त्यहिको एउटा police ले भनेको कुरा राम्ररी पनि टुन्गीएको थिएन होला, अर्को आवाज संगै आयो, ” अः अनि हामीलाई पनि लागोस त्यो corona , के को छिमेकी ले गर्नु भन्नु हुन्छ, बरु सरकारले गर्नुस जे जे गर्नु पर्ने हो, अब छोरा बुहारीलाई लागेको भएपछि पक्कै आमालाई पनि होला, संगै लागे हुन्छ।

“को रहेछ एस्तो ठुलो स्वर अनि रिसमा कराउने मान्छे भनेर येसो अलि अगाडी गएर हेरेको त अरु को हुनु, कमला auntie को घर संगै जोडिएको घर हुने सिता auntie पो हुनुहुदो रहेछ । सधै प्रायेजसो संगै नै हिड्नु हुने सिता auntie ले तेसो भन्नु होला भनेर मैले त सोचेको थिइन् , बिचरा त्यो कमला auntie लाई कस्तो भयो होला त्यो बोलिले।

हुन त सिता auntie पनि जता घाम त्यतै न्यानो ताप्दै हिड्ने मान्छे हो रे भनेर त सुनेको थिए हो रहेछ जस्तो लाग्यो, नत्र भदौनै नलागी तीजको दर भन्दै यहि कमला auntie को मा खाएर facebook मा फोटो हाल्नुभाको कति नै भएको छ र । मलाई त रिस उठेर तपाइलाई पनि isolation मा कमला auntie संगै लग्नु पर्छ भनम जस्तो भाको थियो त्यतिकैमा अर्को छिमेकी कृष्ण uncle ले तेसो त भन्नु हुन्न अब टोलमा संगै बस्नु हुने छिमेकी लाई परेको बेलामा त गर्नु परिहल्छा नि, आफु सतर्कता अपनाउनु पर्छ, तर सहयोग त गर्नु परिहाल्छ नि ।

मन मनै लाग्यो बरु कृष्ण uncle खरो स्वभाव को भए पनि वहाले कुरा चाही मेरो मन मा लागेको गर्नु भयो । सिता auntie बोल्न त केहि बोल्नु भएन त्यसपछि तर वहाको अनुहार हेरेर भन्न सकिन्थ्यो कि वहा न कृष्ण uncle को कुरामा सहमत हुनुहुन्थ्यो, न त वहालाई आफुले गलत बोले भन्ने भाव नै थियो । वहाले त मुख खोलेर भन्नु भयो, तर येसो भिड मा हेर्ने हो भने, वहाको जस्तै सोच भएका मानिसहरु त्यो भिड मा आधा भन्दा बढी थिए होलान ।

भिडको चर्को आवाज संगै मसिनो आवाज पनि सुन्दै थिए म, अलि अगाडी जना मन लाग्यो तर फेरी डर त त्यहि हो, कमला auntie केहि भन्दै हुनुहुन्थ्यो, वहाले आफ्नो घरम २ वटा अलग अलग flat अनि छुट्टै टोइलेट-बाथरूम रहेकोले त्यहि घरमा बस्छौ भन्दै हुनुहुदो रैछ । म भन्दा अलि अगाडी हुने रमा दिदीले भन्नुभयो मलाई त ।

मलाई पनि लाग्यो यो अन्त जानु भन्दा त आफ्नो घरमा भए त सजिलो पनि हुन्थ्यो होला अनि कता कता home
isolation मा बसेको रे भनेको सुनेको पनि थिए, “मिल्छ होला नि त्यो त आफ्नै घरमा है “, मैले त्यहि रमा दिदि संगै भने ।

वहाको उत्तर त के हुन्थ्यो कुन्नि, तर भिडबाटै फेरी आवाज आयो, “हुदैन हुदैन, हावा बाट सर्ने रोग हो यो त यहाँ वरिपरि त बस्नु हुदैन “, शेखर uncle ले भन्न लाग्नु भयो, हुन त वहा टोलको अगुवा नै हुनुहुन्थ्यो, सबैकोमा मर्दा पर्दा साथ सहयोग गर्नु पर्छ, भन्नुहुन्थ्यो, तर यो corona को बिषयमा चाही वहाको पनि खासै बेग्लै धारणा रहेनछ। अब बाकी अरुले त झन् मान्ने कुरा नै भएन।

कस्तो समय अनि कस्तो रोग रहेछ यो त, आफ्नो घरमा बस्नलाई पनि सामाजिक बिरोध हुने । छिमेकिको चर्को बिरोधमा police ले पनि के गरोस, ” ल ल तेसो भए छिटो गरेर आउनुस, अब जाऊ ” भन्दै gloves र mask लगाउन दिएर police ले कमला auntie को छोरा बुहारीलाई police को गाडीको पछाडी हाल्यो । त्यो gloves एउटा अपराधीलाई लगाएको हत्कडी, अनि mask चाही अपराध गरेको कारणले लाज भएर मुख लुकाउनलाई लगाएको जस्तो देखिन्थ्यो ।

कमला auntie बिचरा रुन लाग्नु भयो, वहालाई पनि ल ल भित्र जानु भनेर भित्र पठाएर बाहिर ढोकामा त ढोकामा ताल्चापो लगाइदिए । अनि घरको भित्तामा चाही एउटा स्टिकर टाँसिदिए । हेर्दा हेर्दै त्यो police को गाडी ले कुनै
लक्षण पनि नदेखिएको corona को बिरामीलाई कुनै ठुलो अपराध गर्ने अपराधीलाई जसरी लिएर गयो ……… त्यो चोकमा भिड चाही एउटा बिहेमा हुने जति थियो तर त्यो कमला बगलतष्भ लाई न-आतिनुस हामी छौ भन्ने एउटा आवाज पनि थिएन। म पनि थिइन ।

त्यो बन्द घर भित्र एक्लै कसरि बस्नु हुन्छ होला त्यो कमला auntie , फेरी सुगर रोग पनि छ क्यारे त्यो auntie लाई त, औषधि थियो कि थिएन होला, घरमा खानेकुरा सकिए अथवा केहि समस्या परे के गर्नु हुन्छ होला, एकपटक त भनम कि जस्तो पनि लाग्यो । “येसो फोन नम्बर दिनु पर्छ कि कमला auntie लाई, केहि परे फोन गर्नु है भनेर, रमा दिदिसंग भने ।

वहाले “बढी जान्नी नबन्नु है बैनी फेरी तपाइलाई पनि सरला त्यो रोग अनि ” भन्दै जानु भयो । एकमनले त सोचे ” आ: रोग लगेर ठिक पनि त भाका छन्, कति डराएको होला corona  भनेर एकपटक सोध्छु” , फेरी सोचे “अहिले जस्तो कमला auntie लाई गरे तेस्तै मलाई रोग लाग्यो भने, फेरी मेरो घर अगाडी police को गाडी, त्यहि भिड, अनि त्यहि सब आवाजहरु, अनि हत्कडी जसरी gloves अनि मुख लुकाउन mask लगाएर police को गाडी को पछाडी अपराधी जसरी बसेर कहाँ हो कहाँ isolation मा जाने, ओहो ! सम्झेर नै डर लाग्दो, होस् भनेर तितर बितर भएको भिड संगै म
पनि घर फर्के ।

तरकारी लिन गएको तेसै पो फर्किएछु । आज अब होस् भनेर तामाको तरकारी पकाए । सधै त तामा निक्कै मिठो लाग्थ्यो, आज त किन किन मिठो भएन । आज जो संग भेटे पनि त्यहि बिहान को घटना, अनि कमला auntie को कुरा, भाको नभाको, १० वर्ष अगाडी देखिका सबै नराम्रा कुरा, त्यो त एस्तो थियो रे नि त, पाप लागेको रे, के के हो के के, आज भन्दा अगाडी कहिले पनि नसुनेका कुरा हरु, मात्र कमला auntie को बारेमा सुन्निन्थ्यो ।

बाटोमा हिड्ने मान्छेहरु पनि त्यो घर लाई चाही येसरी हेर्थे कि मानौ त्यहाँ एउटा परमाणु बम लुकाएर राखिएको छ जुन जति बेला पनि पढ़कन सक्छ, कोहि भने अलि टाढा बाट corona लागेको मान्छे कस्तो हुदो रहेछ अनि घर कस्तो हुदो रहेछ भनेर हेर्न पनि आए । खोइ सिङ्ग जुरो पलाएको देखे कि कुन्नि के हेर्न आएको थिए । यहाँ सबैको मुख मा कमला auntie झुन्डिएको छ, बिचरा त्यहाँ कमल auntie के गर्दै हुनुहुन्छ होला मेरो मनमा त्यहि लागिरह्यो ।

एउटा मान्छेलाई आफ्नै घरमा थुनेर राखिएको थियो, त्यो पनि बिना कारण, कस्तो असहज भैरहेको थियो चित्त कत्ति बुझिरहेको थिएन । कम्तिमा एकपटक फोन गरेर सोध्न पाए पनि हुन्थ्यो, कस्तो छ, के खानु भयो भनेर, हुनत आफन्त हरुले त सोधे होलान नि जस्तो पनि लाग्यो । दिन त तेसै बित्यो अनि रति पनि राम्रो निदाउन सकिन ।

बिहान भयो, सधैजसो म आफ्नै नियमित काममा लागे, त्यहि नुहाई धुवाई , त्यहि सरसफाई, त्यहि मन्दिरको पुजापाठ, अनि त्यहि छिमेकिको घर को ठुलो बजाइएको FM, त्यहि corona , उस्तै दैनिकी । “कमला दिदि त
जानु भएछ नि बैनी थाहा पाउनुभयो “, त्यहि छिमेकि auntie को स्वर । ” ए छोरा बुहारी संगै isolation मा ?” मैले सोधे ।

” कस्तो नबुझेको होला बित्नु भयेछ के, बेलुका देखि फोन नउठेपछि राती police आएर ढोका खोलेर हेर्दा त बेहोस भेटेछ, अनि अस्पताल लगेको रे सुगर लो भएर गए रे, corona चाही टेस्ट गरेको छ रे रिपोर्ट खोइ कहिले आउछ ” auntie ले फर्काउनु भयो । म निशब्द भए । लाग्यो त्यो मैले नै मारे कमला auntie लाई, एकपटक समाजसंग नडराएर, मलाई रोग लाग्दा समाजले त्यहि व्यवहार गर्ला भनेर नसोचिकन फोन नम्बर लिएको अथवा दिएको भए, मैले एकपटक auntie केहि पर्यो भने फोन गर्नु है भनेको भए, auntie हामी छौ है नातिनुस भन्न सकेको भए, आज सायद तेसो हुन्न थियो होला ।

अब corona टेस्ट positive आउला अनि फेरी corona को कारण मर्ने को संख्या एती पुग्यो भन्दै त्यहि FM ले भन्ने होला । हिजो दिनभरी कमला auntie को १० वर्ष भन्दा अगाडी देखिको भएका नभएका नराम्रा कुराहरु भनेर नथाकेको समाजले पनि अब कमला auntie को गुनगान गाउन थाल्ने होला, “साह्रै राम्रो मान्छे हुनुहुन्थ्यो, के गर्नु राम्रो मान्छेलाई भगवान ले पनि छिट्टै लैजादो रहेछन “, तेस्तै तेस्तै । “साबुन पानीले नियेमित हात धुवाऊ, सामाजिक दुरी कायम गरम “, त्यहि FM करायो । मैले सोचे, “अब कति सामाजिक दुरी, अब त एक्लै भैसके सबैजना “।।

प्रतिक्रिया दिनुहोस्