सडकमा भोकले भौँतारिएकालाई स्वादिष्ट भोजन



विराटनगर । ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिनुुभयो । धन्य, यो गुन बिर्सन सकिन्न ।’

कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गरे । स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आएका थापा जस्तै भोकले छट्पटाएका दिलीप चौधरीले पनि भोक लागेको बेला भोजन पाउनु पनि भगवान् आए जस्तै भयो भने ।

बसपार्कमा भारी बोकेर त कहिले प्लास्टिक टिपेर पेट पाल्दै आएका चौधरी जस्तै सडकमा जीवन र रोजगारी खोज्नेलाई भोकमा राहत लिएर उपस्थित थिए, विराटनगरका केही जागरुक र उत्साही युवा । दैनिक ज्यालादारीबाट भएको आम्दानीले छाक टार्ने समुदाय कोरोना (कोभिड–१९) महामारीमा सबैभन्दा बढी पीडित बन्न पुगेका छन् ।

कोरोनाको कहर, बन्द सहर, रोजगार गुमेका मजदुर, दान लिएर ज्यान पाल्ने समुदाय यत्रतत्र भोकले सडकमा छट्पटाएको अवस्था देखेपछि विराटनगरका केही युवा सामाजिक सञ्जालमा जुटे, ‘निःशुल्क खाना खुवाउने टिम’ मार्फत ।

समूहका युवाले आफ्नै प्रयासमा खाना अभियान थालेका थिए । समूूहका संयोजक ओसिम आलमका अनुसार सुरुका दिनमा समूहका सदस्यले मिलेर दैनिक बिहान–बेलुका गरी करिब ४५० जनालाई निःशुल्क खाना खुवाउन थालिएको थियो । समूूहले सडकमा मात्र होइन टोलटोलमा पुगी भोका व्यक्तिको खोजी गरेको थियो । उद्देश्य थियो, ‘भोकै कोही नपरून्, भोकले कोही नमरून् ।’

विशेषगरी बजार क्षेत्रका पसल, सडक र मठमन्दिरमा बसेर दान लिने, प्लास्टिक र खाली सीसी सङ्कलक, अपाङ्गता भएका व्यक्ति, सार्वजनिक यातायात मजदुरलाई लक्षित गरी निःशुल्क खाना अभियान थालिएको संयोजक आलमले बताए । त्यसबाहेक विराटनगर क्षेत्रमा डेरा गरी बसेका १६४ विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र बन्दाबन्दीपछि घर फर्किन नपाएर अलपत्र परेका झन्डै ७० भारतीय मजदुरलाई समेत यस समूहले खाने, बस्ने व्यवस्थासहित खाना खुवाएको थियो ।

निःशुल्क खाना अभियानमा सामाजिक सञ्जालबाटै सहयोग जुट्न थाल्यो । मनकारी व्यक्ति सञ्जालमा जोडिँदै जाँदा अभियान निरन्तर चलाउन सजिलो भएको समूहका सदस्य पप्पु अन्सारी बताउँछन् ।

निःशुल्क खाना खुवाउने अभियानभरि मोरङ जिल्ला कटहरी गाउँपालिका–४ का किसान कोपिन्द्र सिंहले निःशुल्क तरकारी धानिदिएका थिए । त्यस्तै देशविदेशबाट पनि सहयोग जुटिरहेको थियो । संयोजक आलमका अनुसार सहयोग जुट्न थालेपछि अभियान पारदर्शी बनाउन फेसबुक पेजबाट दाताको नाम र सहयोग रकमसमेत सार्वजनिक गर्न थालियो ।

समूूहका सदस्य दीपा दर्नालका अनुसार समूूहले सरकारी तथा गैरसरकारी संस्थाबाट अहिलेसम्म सहयोग लिएन । केही दिन खाना खुवाउने काम गरौँ भनेर सुरु गरिएको अभियानले सामाजिक सञ्जालमा ‘ग्रेट जब’ भन्दै देश विदेशबाट सन्देश आउन थालेपछि र स्थानीय सञ्चार माध्यमले समेत सकारात्मक साथ दिएपछि अझ उत्साहित भएर अभियानमा लागिएको संयोजक आलमले बताए । उक्त समाचार अजाको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्