करिश्मा मानन्धर सामाजिक सञ्जालमा आफूलाई महिला भनेर हेपिएको भन्दै गुनासो पोखेकी छिन् । वास्तवमा करिश्मालाई अहिले पनि उनका विगतको प्रेमको कुरालाई लिएर या भनुम नभएको प्रेमको कुरालाई लिएर प्रश्न गर्ने गरिन्छ ।
उनी विवाहित महिला हुन् । कलाकारितालाई छोडेर उनको आफ्नो निजी जीवन पनि त छ । उनले परिवारको जिम्मेवारी सम्हालिरहेकी छिन् । यस्तो खालको प्रश्नले उनले आफूलाई तनाव हुने गरेको बताएकी छिन् । जुन स्वभाविक नै हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘एउटा महिला कलाकार भएको नाताले मैले घरीघरी भोग्नु परेको एउटा विषय के हो भने तपाई फलानोसंग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे !! म जुन क्षेत्रमा काम गर्छु त्यहाँ विभिन्न मानिसहरुसंग संगत हुन्छ कतिसंग नजिक पनि भइन्छ, यो उमेरसम्म आउपुग्दा पनि अन्तरवार्ताहरुमा त्यो एउटा प्रश्न जरुर आउँछ ! म एउटा विवाहित महिला हुँ परिवारमा बस्छु बिहे गर्ने उमेरको छोरी छ, अब यस्तो प्रश्नको के जवाफ दिऊ ? अनि त्यहि प्रश्न ती पुरुषहरु जो संग मेरो प्रेम सम्बन्ध भनिएको हुन्छ ती मानिसहरुलाई चाहिँ त्यो प्रश्न सोधिएको पाउदिन ! किन रहेछ ? उनीहरु पुरुष भनेर आट नगरेको होकी मलाई महिला भनेर हेपेको’ ?