राखेपमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो ।

आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै थिए ।

इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनेका छन् । कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिववलयमा थिए । उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो ।

त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनी पनि सोही शाखामा थिइन् । सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि पद खाली थियो । केसी २०४५ साल तथा बाँकी २०५३ सालमा परिषद् सेवामा प्रवेश गरेका थिए ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार पत्र हस्तान्तरण गर्दै पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

बक्सिङ प्रशिक्षक रहिमुभको बिदाइ

नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे ।

रहिमुभ बिहीबारै स्वदेश (उज्वेकिस्तान) फर्कदै छन् । नेपालबाट उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ जाने छन् । त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर तास्केन्त जाने तालिका छ । रहिमुभको नेपालबाट बिहीबार राती १०ः३० बजेको उडान छ ।

रहिमुभ गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

रहिमुभको प्रशिक्षणमा नेपालले बक्सिङको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको बक्सिङ संघले जनाएको छ । उनको प्रशिक्षणमा नेपालले नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो ।

१३ औं सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउट जितेका थिए ।

बिदाइका अवसरमा बक्सिङ संघका अध्यक्ष राम अवालेले रहिमुभको प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको बताउदै रहिमुभसहित उज्वेकिस्तान बक्सिङ संघ र आइबालाई धन्यवाद दिए । प्रशिक्षक रहिमुभले अझ राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीमा विगतको भन्दा राम्रो नतिजा दिने क्षमता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्