छैटौं सन्तान पनि छोरी हो कि भन्ने शंकामा गर्भवती श्रीमतीको पेटमा हँसिया प्रहार



भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको पेटमा धारिलो हतियारले प्रहार गरेका छन् । स्रोतका अनुसार उनले हमला गर्नुको कारण उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे ।

घाइते महिलाको गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ ।

बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मुद्दा दर्ता गरेर अभियुक्तलाई गिरफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँसियाले काटिदिएको आरोप छ ।

अनिताको परिवारको अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झगडा भइरहन्थ्यो । उनले अनितामाथि कुटपिट पनि गर्ने गर्दथ्यो । शनिबार पनि उनले अनितालाई निर्घात कुटे र हँसियाले हमला गरे ।’

पन्नालालले गरे अस्विकारः

यद्यपि, हिरासतमा लिएपछि पन्नालालले मिडियासँगको कुराकानीमा अनितासँग उनको झगडा भएको र रिसमा उनले हँसियाले उनलाई हमला गरेको कुरा स्विकार गरे तर जस्तो आरोप लगाइँदै छ, त्यो उद्देश्यले भने श्रीमतीमाथि हमला नगरेको स्पष्टिकरण दिए ।

पन्नालालको भनाई थियो, ‘मेरा पाँच छोरी छन् । मेरा एक छोराको मृत्यु भइसकेको छ । मलाई थाहा छ कि बच्चा भगवानको देन हो, जे होला देखा जाएगा । मेरी श्रीमती सधैं मसँग झगडा गर्छिन् । शनिबार पनि झगडा भयो र रिसमा मैले हँसियाले उनलाई हानेँ । यसले उनी यति गम्भीर रुपमा घाइते होलिन् भनेर कल्पना गरेको थिइनँ ।’

यस्तै, पन्नालालका एक छिमेकीले नाम नबताउने शर्तमा यसको पछाडिको अर्को कहानीबारे जानकारी दिए । छिमेकी भन्छन्, ‘कुनै पण्डितले बदायूं जिल्लामा कुनै व्यक्तिको लगातार छैटौं छोरी जन्मने भविष्यवाणी गरेका थिए । डराएका पन्नालालले श्रीमतीलाई गर्भपतन गराउन भने । श्रीमतीले अस्विकार गर्दा उनीहरुबीच झगडा भयो र त्यसपछि पन्नालालले उनलाई घाइते बनाइदिए ।’

यद्यपि, पन्नालालकी छोरी र उनको परिवारका अनुसार मिडियामा जस्ता कुरा आइरहेका छन्, त्यो कारणले पन्नालालले श्रीमतीमाथि हमला गरेका होइनन् ।

एसएसपी संकल्प शर्मा भन्छन्, ‘प्रहरीले छिमेकीसँग पनि कुराकानी गरिरहेको छ र अभियुक्तका परिवारसँग पनि सोधपुछ गरिरहेको छ । अभियुक्तका छोरीहरु ठूला छन्, उनीहरुसँग पनि सोधपुछ भइरहेको छ । यी दुईको धेरैजसो झगडा भइरहने कुरा त आएको छ तर शनिबार सायद त्यस्तो केही नभएको पनि हुनसक्छ । अनुसन्धान चलिरहेको छ र चाँडै नै वास्तविकता सार्वजनिक हुनेछ । ’

प्रतिक्रिया दिनुहोस्