बलिउड अभिनेता सोनू सुद यतिबेला सबैको मनमा बस्न सफल भएका छन् । सोनूले कोरोनाको महामारीको समयमा धेरै प्रवासीहरुलाई सकुसल उनीहरुको घरसम्म पुर्याएका थिए । जसका कारण फ्यानका दिलमा उनको लागि इज्जत बढेर आएको थियो ।
अहिले धेरैले उनलाई आफ्नो भगवानको रुपमा हेरेका छन् । त्यसपछि पनि सोनूले निरन्तर समस्यामा परेकाहरुको सहयोग गरिरहेका छन् ।
हालैमात्र पनि सोनूले एक ट्युमर पिडितको उपचार गराएका छन् । बिहारमा रहने दिव्या ट्युमरबाट पीडित थिइन् । उनकी दिदी नेहाले सामाजिक सञ्जालमार्फत अभिनेतालाई ट्याग गरेर सहयोग मागेकी थिइन् ।
सोनूले दिव्याकी दिदीलाई उनकी बहिनीको उपचार आफू कुनैपनि हालतमा गराउने बताएका थिए । उनले बाचा गरे अनुसार नै ऋषिकेशको अस्पतालमा सोनूको पहलमा दिव्याको उपचार सम्पन्न भयो । सोनूको यो ठूलो सहयोगपछि यतिबेला सामाजिक सञ्जालमा उनको प्रशंसा गर्नेको ओइरो नै लागेको छ ।