यसभन्दा अघिल्लो भागमा अलङ्कारको परिचय दिँदै अनुप्रास शब्दालङ्कार अन्तर्गतको आद्यानुप्रास, मध्यानुप्रास तथा अन्त्यानुप्रासको बारेमा बताइसकिएको छ । यस भागमा शब्दालङ्कार अन्तर्गतका अन्य अनुप्रासहरु र थप अलङ्कारहरुको विषयमा संक्षिप्त जानकारी सहित शब्दालङ्कारले शोभायमान ठाडी भाकाको उदाहरणहरु प्रस्तुत गरिनेछ ।
छेकानुप्रासः
साहित्यसिद्धान्तअनुसार पद वा पदावलीअन्तर्गत समान ध्वनि भएका एक वा अनेक व्यञ्जनवर्णको बारम्बार आवृत्ति हुँदा हुन जाने शब्दालङ्कारलाई छेकानुप्रास भनिन्छ । छेकानुप्रासमा एउटा सजातीय स्वर वा व्यञ्जन दुई वा दुईभन्दा बढी चोटी दोहोरिने गर्दछ ।
बाछीले धान खान लाईयो लेला बाछी लेला
जिउ गया जतिकै लाग्छ जोवन जाने वेला । (बलबहादुर केसी)
उल्लिखित ठाडी भाकाको गेरोको ठेलो हेरौँ । यसमा ‘ल’ वर्ण बारम्बार दोहोरिएको छ । यसै गरी टुप्पोमा ‘ज’ वर्ण बारम्बार दोहोरिएको छ ।
माथि भन्चन् उत्तरगङ्ङा तल भन्चन् भेरी
भंगालो फाटेइको नदी भेट होला र फेरि ? (गणेश खडका)
उल्लिखित ठाडी भाकाको गेरोको ठेलो र टुप्पोमा हेरौँ । यसमा ‘प’ वर्ण समूहको ‘फ’ र ‘भ’ बारम्बार दोहोरिएको छ । यसका अरु उदाहरणहरु हेरौँः
उँद बग्ने कर्णालीय उम बग्ने भेरी
साइलाई सित्ती स्वाउने थेन सुनै लाउँदा खेरी । (छविलाल खडका)
कति पानी छर्किन्चौए ओइलायैको सागलाई
केइ सुन्दैन घोचे पनि अघायैको बाघलाई । (दिपकसंगम थापा)
वर्खा नदी सरोवर हिउँद नदी सुइजा
जीउ नजा जोवन नजा यस्तै मलाई पुइजा ।
लेकै फुल्यो लाली गुराँस औलि फुल्यो कांश
एउटै मुलको पानी खाउला होइजाउँ जोली हांस ।
वृत्यानुप्रासः
साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एकपल्ट उही क्रमले र एक वा अनेकपल्ट स्वरूप साम्य हुने शब्दालङ्कार हो । यस अलंकारमा सजातीय स्वर तथा व्यञ्जन अनियमित रुपमा धेरै चोटि दोहोरिन्छन् । जस्तैः
बेल बुर्नेति तारा बुरे बेल काँती बुर्ने हुन् ?
लाई पीमाको झल्को आउँच दिन कैल जुर्ने हुन् ? (डा कुशुमाकर शर्मा)
उल्लिखित ठाडी भाकाको गेरोको ठेलो हेरौँ । यसमा ‘ब’ वर्ण चारचोटि दोहोरिएको छ । ‘त’ वर्ण तीनचोटि दोहोरिएको छ भने ‘र’ वर्ण पनि तीन चोटि दोहोरिएको छ । यसै गरी टुप्पोमा ‘ल’ वर्ण तीनचोटि दोहोरिएको छ ।
अरु उदाहरणहरु हेरौँ
खोलीको तुसारे घाँस के मैना पलाउँच
सुन्न दे बयाली मलाइ मायाले बोलाउँच । (ओपेन्द्र शर्मा)
माथिको गेरोमा ‘ल’ वर्ण र ‘ए'(य) स्वर छपटक दोहोरिएको छ । ‘स’ र ‘म’ वर्ण तीनतीनचोटि र ‘ब’ वर्ण दुईचोटि दोहोरिएको छ ।
काफल डाली भरेलिया चोर्था डाली लैलै
कोरोनाको माहामारी मरिन्च कि कैलै ! (सिर्जना शर्मा)
जुमला बाबैका मीत औलि मेरा हित
जोबनले बयालै खेल्छ किला दाउँलासित । (चिताराम खडका)
राजैका दरुबार सिँगारेईको बेउलो
मान्छेमध्ये म बैरागी चरीमध्ये न्याउलो । (देवबहादुर केसी)
एक्ला लेख कैलाशैमा तिरी सल्लो तिरी
उइ दिन आउँछ उइ बार आउँछ जोपन आन्न फिरि । (कमप्रसाद देवकोटा)
राजैको शिकारी कुकुर सार्की डेरा भुक्च
मलाई देखी मालपरेवा फूलवारीमा लुक्च । (मोहन ओली)
तल्लो घट्ट गुरगुर्याइलो उपल्लो पाल पाइनँ,
साइका मनमा त्यत्रो माया त्यो मैले चाल पाइनँ । (मनलाल ओली)
गार हर्नेमा गार हर्दैछ बगरैमा रेती
साइलाई देखे भोक लाग्दैन म गर्दैन खेती । (अर्जुनप्रसाद रिजाल)
नाउ मात्र नौधारीए तिरे तिरे धारी
म माया मारोइनँ भन्थ्याँ साइले माया मारी । (चिताराम खडका)
सिकारी अल्मलै पर्यो लेक काट्यो चौकाले,
तिमी काँको हामी काँको भेट भइयौं मौकाले ।
श्रुत्यनुप्रासः
प्रत्येक विश्रामस्थलमा नियमित रुपले पदजोडीको आवृत्ति हुन्छ भने श्रुत्यनुप्रास कहलाउँछ । यो एउटा स्थानबाट उच्चारण हुने वर्णको विश्रामपिच्छे बारम्बार प्रयोग हुँदा पर्ने एक शब्दालङ्कार हो ।
जुम्लाबाट बग्दै आयो जुमलैको लछु
कि खरानी चुलैभरी कि खरानी म छु । (गणेश खडका)
उल्लिखित ठाडी भाकाको गेरोको ठेलो हेरौँ । ‘ज’ वर्णबाट शुरु भएको आठ अक्षरको विश्रामपछि पनि ‘ज’ वर्णबाट नै शुरु भएको छ । यसरी नै टुप्पोमा ‘कि खरानी’ एउटै वर्ण र स्वरबाट शुरु भएर दोस्रो विश्रामपछि उही वर्ण र स्वरबाट नै शुरु भएको छ ।
बजाउने मुरली मेरो गउँका जउँका नल्को
नखाने इन्द्रेणी फल नला मलाई झल्को ।
उल्लिखित ठाडी भाकाको टुप्पोमा पहिलो विश्राम ‘न’ वर्णबाट शुरु भई दोस्रो विश्राम पनि ‘न’ वर्णबाट नै शुरु भएको छ ।
खोर्सलेका हर्र्या घोगा खोलागाउँको तोरी
अइल म अनारी छु आइसेल दिउँला जोरी । (विवेक शर्मा गौतम)
ठाडी भाकाको संरचना चौथो र आठौँ अक्षरमा विश्राम हुने नियमलाई हृदयङ्गम गर्दै माथिको गेराको ठेलो र टुप्पो हेरौँ । ठेलोमा दुई विश्रामको शुरु अक्षर ‘ख’ बाट र टुप्पोमा तीनवटै विश्रामको शुरु अक्षर ‘अ’ बाट शुरु भएको देखिन्छ ।
लाटानुप्रासः
समानार्थक शब्दको आवृत्ति हुने तर शब्दको अन्वय गर्दा भेद प्रतीत हुने एक शब्दालङ्कार हो लाटानुप्रास । भारतको लाट प्रदेशको साहित्यिक प्रचलनको अनुप्रास अलङ्कारको भएको हुँदा यसलाई लाटानुप्रास भनिएको हो ।
यो घरै हो त्यो घरै हो, घर पनि घरै हो
घरबारेसितैको माया डर पनि डरै हो । (गीता ओली पुन)
माथिको गेरोमा ‘घर’ शब्द पाँचपटक दोहोरिएको छ । शुरुको घर शब्दले बसोबास गरिने संरचनालाई बुझाएजस्तो देखिन्छ, तर ‘घर पनि घरै’ हो भन्नुको तात्पर्य संरचना मात्र होइन भन्नेमा जोड दिइएको छ । जुनकुरा टुप्पोमा खुल्दछ । माथिको ‘घर’ भनेको ‘घरबार’ हो अर्थात् ‘दाम्पत्य जीवन’ हो भन्ने कुरा दोस्रो पङ्तिमा थाहा हुन जान्छ । ‘डर पनि डरै हो !’ मा शुरुको ‘डर’ ले त्रासको अर्थ मात्र दिन्छ भने ‘डरै’ ले भने निकै जोखिमको सम्भावनातिर इङ्गित गरिदिन्छ ।
धान बालो चिउरेनी भैयो पिपलु छायाले,
मौरी ‘घुम्च’ रसु खान म ‘घुम्चु’ मायाले ।
मौरी र युवक घुम्नुको उद्देश्यहरुबीचको भिन्नता प्रष्ट छ । यहाँ घुम्ने शब्दले लाटानुप्रास पारेको देखिन्छ ।
वर्की नाच्यो फर्की नाच्यो पिपलुको पात,
माया भन्दा मरी जाग्ने बैरागीको जात । (हर्कसिँ केसी)
यहाँ नाच्यो शब्द दोहोरिएर आएको छ । पिपलुको पात विभिन्न परिस्थितिमा फरक फरक गरी नाच्ने कुरा गहिरिएर हेरेपछि मात्र पत्ता लाग्दछ । ‘नाच्यो’ यहाँ लाटानुप्रास हुन गएको छ ।
यमकः
यमकको अर्थ हुन्छ जुम्ल्याहा । उही स्वर तथा वर्णबाट बनेका उस्तै लाग्ने तर फरक शब्दहरुको धेरैचोटि प्रयोग हुँदा यमक अलङ्कार हुन पुग्दछ । उदाहरणको लागिः
डाँरा सिमल गैरा भिमल मल हाल्न कटाउँला
कि आउँला मङसिरका मैना कि चिठी पठाउँला । (भरतकुमार शर्मा)
काँ फलेका काँ फाल्ल्यायौ काफलका फल
देख्नु भै पैरनु भैनै जल्जलाका जल ।
माथिको पहिलो गेरोमा सिमल/भिमल/मल जुम्ल्याहा शब्दहरुको प्रयोग भएको छ भने दोस्रो गेरोमा फल/काफल, जल/जलजला जुम्ल्याहा शब्दहरुको प्रयोग गरेर प्रस्तुतिलाई अलङ्कृत गरिएको छ ।
वक्रोक्तिः
वक्ताले एक अर्थमा भनेको शब्दलाई स्रोताले अर्कै अर्थमा बुझेर उत्तर दिन्छ भने वक्रोक्ति अलंकार कहलाउँछ ।
युवतीः हजुरसँग जोवन साट्ने सोचिसकेँ अब
हजुर मलाई प्यारी भन्नू मै भनुँला ‘बाबा’ । (सरला खडका)
युवकः क्या चरीले खोरै लायो माटो कोरीकोरी
तिम्ले ‘बाबा’ भन्ने भए साइनो पर्यो छोरी !! (तुल देवकोटा)
यहाँ युवतीले युवकसँग ‘जोवन साट्ने’ अर्थात् दाम्पत्य जीवनमा बाँधिने निर्णय गरिसकेकोले अब आफूलाई ‘प्यारी’ भनेर सम्बोधन गर्नू, म हजुरलाई प्यारले ‘बाबा’ भनुँला भन्दै फकाउँछिन् । तर युवकले भने ‘बाबा’ भनेको ‘बाबु’ अर्थ लगाउँदै युवतीसँग छोरी साइनो पर्ने भएकोले सम्बन्ध जोड्न अप्ठ्यारो परेको जवाफ फर्काउँछन् ।
श्लेषः
श्लेषको अर्थ हुन्छ अँगालो, टाँसिएको, जोडिएको, मिलेको । दुई वा धेरै चमत्कारपूर्ण अर्थ दिने गरी कुनै ठाउँमा एउटै शब्द प्रयुक्त भयो भने श्लेष कहलाउँछ । एउटै शब्दले दुई किसिमको अर्थ दिने अलंकारको प्रयोग गरियो भने श्लेष अलंकार बन्दछ । तलका उदाहरणहरु हेरौँ ।
धनभरि दिउँला साई लाई म नमरी ज्यूँला,
धन भरिदिउँला साईलाई मन मरी ज्यूँला । (पूर्ण ओली)
(अर्थः धन जति सबै दिउँला र नमरुन्जेल सँगै बाचौँला भन्दै साई (पाटो) लगाएको थिएँ । आफ्नै प्यारी (साई) भैसकेपछि धन धन मात्र भन्यौ साईले चाहेजति धन त भरिदिँदै छु तर मरेको मन लिएर बाँच्न बाध्य छु ।)
‘आ !’ नभनी नआउने बैरी अनिकाल
‘आ न !’ भनी नआउने बैरी अनि काल । (पूर्ण ओली)
(अर्थः चरम अनिकाल आ नभनी आउँदैन। अर्थात् दश नङ्ग्रा खियाउन अल्छी नगर्ने हो भने कहिल्यै भोकै परिँदैन । आफैले आइज भनेर बोलाए मात्र अनिकाल आउने हो । तर शत्रु र काल भने आइज भन्दा आउँदैनन् तर अकस्मात जुनसुकै बेला पनि आइलाग्न सक्छन् ।)
माथिका दुईवटा गेराका प्रत्येक ठेलामा जुन शब्दहरु छन् हुबहु त्यही शब्दहरु नै टुप्पामा प्रयोग गरिएका छन् । तर ती शब्दसमूहले व्यक्त गर्न खोजेको भावमा भने धेरै अन्तर देखिन्छ ।
ठाडी भाकाहरुमा शब्द शब्दमा अलङ्कारको प्रयोग गरिएको पाइन्छ । यी त एकदमै सीमित उदाहरणहरु मात्र हुन् । उल्लिखित उदाहरणहरुबाट ठाडी भाकामा पनि विविध प्रकारका सुन्दर शब्दालङ्कारहरु प्रयोग गरी प्रस्तुतीलाई शोभायमान तुल्याइएका हुन्छन् भन्ने कुरा आँकलन गर्न सकिन्छ । पुराना ठाडीभाकाहरुको गहिरो खोज अनुसन्धान गरिने हो भने ठाडी भाकामा प्रयोग गरिएका शब्दालङ्कारहरु कुनै पनि उत्कृष्ट साहित्यभन्दा कम लाग्ने छैनन् ।
क्रमशः