चार वर्षअघि विद्यालयमा गाईगोठ बनाएको भन्दै आलोचना खेपेको भेरी नगरपालिकाको शिवशङ्कर माध्यमिक विद्यालय कम्प्युटरको सहयोगमा शिक्षण गर्ने तयारीमा जुटेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नीरज आचार्यको पहलमा २० वटा कम्प्युटर पाएपछि विद्यालयमा प्राविधिको प्रयोग भएको हो ।
पाठ्यपुस्तकमा मात्र भएको तर कम्प्युटर नदेखेर पढिरहेको विद्यार्थी अहिले रमाइरमाई पढ्न थालेका छन् । यो विद्यालयसँगै भेरी नगरपालिकाकै दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शङ्करभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याब स्थापना गरिएपछि विद्यार्थी खुशी भएका छन् ।
विगत चार वर्षदेखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यामबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका इञ्जीनियर डा ओम दाहालको सहयोगमा ती विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको नेता आचार्यले बताए ।
प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतीपुर, भुर र कुदुमा २० वटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्याबले सहयोग पु¥याउने नेता आचार्यको भनाइ छ ।
कम्प्युटर ल्याब स्थापनामा पहल गर्ने नेता आचार्य र सहयोगकर्ता डा दाहाललाई विद्यालयले धन्यवाद दिएको छ । कम्प्युटर ल्याब स्थापनापछि विद्यालयमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन शैक्षिक गतिविधिलाई सूचना प्रविधिमा जोड्ने मद्दत पुग्ने शिवशङ्कर मावि जगतीपुरका अध्यक्ष कालु हमालले बताए ।
यो भन्दा अगाडि सरकारले उपलब्ध गराएको कम्प्युटर विद्युत्को अभावमा थन्किँदै आएका थिए । आचार्यले आफूले बाल्यकालमा पढेको विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि स्थानीयवासी खुशी भएका छन् ।
जिल्लाका सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन जोड्ने क्रम जारी रहेका कारण अब जिल्लाका विद्यालयमा कम्प्युटरको पढाइ प्रभावकारी हुने अपेक्षा गरिएको छ । सबै माविमा नेपाल दूर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा यो भन्दा अघि नै पु¥याएको छ ।
कम्प्युटरबिनाका विद्यालयमा पुगेको इन्टनेटले मोबाइलमा फेसबुक चलाउनेबाहेक अन्य काम नभएको गुनासो आइरहेको बेला आचार्यको यो पहलबाट राम्रो प्रभाव परेको छ ।