नेकपाको सचिवालय बैठक बस्दै, खतिवडा र रेग्मीको राजदूत नियुक्ति बदर हुने सम्भावना



काठमाडौं । दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएका छ ।

अध्यक्षद्धवय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।

बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा नियुक्तिको विषयमा प्रधानमन्त्रीको प्रस्तावमा सहमति जनाउने सम्भावना कम रहेको एक नेताले जानकारी दिए ।

गत बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले गत बुधबार दिएको राजिनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको थियो । र पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको थियो । रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको थियो ।

तीन जनाको एकेै चोटी नियुक्ति गरिएको समाचारले सामाजिक सञ्जालमा व्यापक विरोध चर्किएसँगै पूर्व एमालेका माधव नेपाल पक्ष र पूर्वमाओवादीहरुबाट विरोध हुन थालेपछि आज बस्ने सचिवालय बैठकले मुख्यसचिव शंकरदास बैरागीलाई निरन्तरता दिने, युवराज खतिवडा र लोकदर्शन रेग्मीको राजदुतका लागि गरिएको सिफारिस बदर हुन सक्ने सम्भावना रहेको नेकपाका एक नेताले परिवर्तन खवरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्