‘भालुवाङले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको प्रतिनिधित्व गर्छ’ : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् ।

अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी)को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उनले बताए ।

प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक (राप्ती र लुम्बिनी) मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’

प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने बताए ।

कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गरे ।

‘हामीले त्यो सोचाइ राख्यौं भने विमति हुनुपर्छ भन्ने लाग्दैन’ उनले भने । प्रदेशको सबैभन्दा ठूलो नदी सभ्यता भएको ठाउँमा प्रदेश राजधानी बन्न लागेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्